साप्ताहिक संवाददाता
अभिनेता सविन श्रेष्ठले ‘एक्सन हिरो’ को छवि बनाएका छन् । छायांकनबाहेकको अधिकांश समय जिमखानामा बिताउने यी अभिनेताको ज्यान खाइलाग्दो छ । बडी बिल्डिङमा विशेष रुचि राख्ने सबिनले आफ्नो ज्यानअनुसारकै चलचित्र पाइरहेका छन् ।
यद्यपि अहिले उनले नयाँ चलचित्रमा अभिनय गरिरहेका छैनन् । यसबीच सविनले केही समयअघि अभिनय गरेको एउटा चलचित्र प्रदर्शनको तयारीमा छ । मदन घिमिरेद्वारा निर्देशित ‘काउसो’ मा सविन प्रमुख भूमिकामा छन् । रमाइलो कुरा के छ भने सविनका चलचित्र हेर्ने दर्शकले उनबाट एक्सनकै अपेक्षा गरेका हुन्छन् ।
निर्देशक घिमिरेले के दावी गरेका छन् भने ‘काउसो’ मा एक्सनका एउटा पनि दृश्य छैनन् । ‘एक्सनको नाममा कसैले एक झापडसमेत हानेका छैनन्, अभिनेता श्रेष्ठले निर्देशकको कुरामा सही थप्दै भनेका छन्— ‘यो कमेडी चलचित्रमा मैले दर्शकहरूलाई हँसाउने प्रयास गरेको छु ।’ लामो समयदेखि एक्सन दृश्यमा जम्दै आएका सविनले दर्शकलाई हँसाउने हुन् कि निर्माताहरूलाई रुवाउने हुन्, केही समयमै छर्लङ्ग हुनेछ ।