साप्ताहिक संवाददाता
जस बटलर, इंग्ल्यान्ड
सेतो बलमा खेलिने क्रिकेटमा सबैभन्दा आक्रामक ब्याट्सम्यान हुन्– इंग्ल्यान्डका जस बटलर । उनको स्ट्राइक रेट १ सय २० को हाराहारीमा हुन्छ । उनको स्ट्राइक रेट मात्र पनि राम्रो होइन, उनी औसत एक इनिङ्समा ४० को औसतले रन बनाउँछन् । बटलरले १ सय ८ इनिङ्स खेल्दा १ सय १७ छक्का प्रहार गरिरसकेका छन् । नयाँ फुस्ताका यी क्रिकेटरकै कारण इंग्ल्यान्ड वान डे त्रिकेटमा सबैभन्दा सफल टिम सावित भएको छ ।
जसप्रित बुमराह, भारत
जुन टिमले भारतको सामना गर्नेछ र त्यसका लागि ब्याटिङ गर्दा सबैभन्दा ठूलो समस्या हुनेछन्, जसप्रित बुमराह । यी फास्ट बलर आफ्नो अनौठो बलिङ शैलीका लागि प्रसिद्ध छन् र उनको मुख्य अस्त्र हो– योर्कर । आईपीएलबाट विश्व क्रिकेटमा कहलिएका २५ वर्षीय बुमराह भारतका पुराना प्रशिक्षक जोन राइटकी खोजी हुन् । उनको सटिक बलिङ आक्रमणका अगाडि विपक्षी ब्याट्सम्यानलाई रन बनाउन मात्र होइन, विकेट जोगाउन पनि गाह्रो हुन्छ ।
रसिद खान, अफगानिस्तान
अफगानिस्तानले विश्व क्रिकेटमा पाएको अविश्वसनीय सफलताका पछाडि कसैको सबैभन्दा ठूलो हात छ भने त्यो लेग स्पिनर रसिद खानकै छ । एसोसियट देशबाट उक्लिएर माथि पुगेको टिमका लागि उनी विश्वस्तरीय खेलाडी सावित भएका छन् । ट्वान्टी–२० क्रिकेटमा नम्बर एक बलर भैसकेको पृष्ठभूमिले पनि उनी कति राम्रा खेलाडी हुन् भन्ने कुरा प्रष्ट हुन्छ । आईपीएलका यी स्टार खेलाडी वान डे क्रिकेटमा पनि उत्तिकै प्रभावशाली छन् र उनले अफगानिस्तानका लागि यसपटकको विश्वकपमा गतिलो योगदान दिन सक्छन् ।
केन विलियम्स, न्युजिल्यान्ड
केन विलियम्सलाई न्युजिल्यान्ड क्रिकेटले पाएको सबैभन्दा प्रतिभाशाली ब्याट्सम्यानका रूपमा लिइन्छ । उनी आक्रामक त छन् नै, उनको ब्याटिङ पनि उत्तिकै सटिक र जिम्मेवारीपूर्ण हुन्छ । केनलाई मार्टिन क्रो भन्दा पनि राम्रा ब्याट्सम्यानका रूपमा लिइन्छ । टेस्ट क्रिकेटमा पनि उनी भारतका विराट कोहली भन्दा ठीक पछाडि मात्र छन्, बढी रन बनाउनेमा । वान डे क्रिकेटमा पनि उनी उत्तिकै उपयोगी ब्याट्सम्यान हुन् ।
कगिसो रबादा, दक्षिण अफ्रिका
कसिगो रबादा दक्षिण अफ्रिकाले पाएको अहिलेसम्मकै सर्वाधिक उत्कृष्ट फास्ट बलरमध्ये एक हुन् । दक्षिण अफ्रिकाले यसपटकको विश्वकपमा राम्रा गर्नु छ भने रबादाले नै सबैभन्दा पहिले राम्रो गर्नु पर्नेछ । सन् २०१५ मा डेब्यु गरेयता उनी दक्षिण अफ्रिकाका लागि नियमित खेलिरहेका छन् । रवादाले आईपीएलमा पनि उत्तिकै राम्रो प्रदर्शन गरे । अघिल्लो विश्वकपदेखि अहिलेको विश्वकपबीचमा सबैभन्दा बढी वान डे विकेट लिने खेलाडी रबादा नै हुन् ।
डेविड वार्नर, अस्ट्रेलिया
एक वर्षको प्रतिबन्धपछि डेविड वार्नर फेरि अस्ट्रेलियाली टिममा फर्किएका छन्, स्टिभ स्मिथसँगै । यो एक वर्षमा अस्ट्रेलियाको खराव प्रदर्शन वार्नर जस्ता खेलाडीकै अनुपस्थितिकै कारण हो । सुरुदेखि नै आक्रामक खेल्ने यी खेलाडीमै भर पर्नेछ, अस्ट्रेलियाको यसपटकको विश्वकप यात्रा । आईपीएलमा पनि उनले उक्तिकै आत्रामक ब्याटिङ गरे । सम्भवतः यी ३२ वर्षीय प्रारम्भिक ब्याट्सम्यान आफ्नो अन्तिम विश्वकप खेलिरहेका छन् र यसमा उनी आफ्नो विशेष छाप छोड्न चाहन्छन् ।