साप्ताहिक संवाददाता
बजेट भाषणमा सांसदलाई ६ करोड दिएको, खेलकुदमा बजेट घटाएको अनि सुर्तीजन्य र मदिराजन्यबाहेक अरू खानेकुरामा मूल्य बढाएको चित्त बुझेन । अरू समग्रमा राम्रो छ ।
प्रदीप भारद्वाज, लेखक
कार्यान्वयन गर्न सके बजेट चित्तबुझ्दो छ ।
बद्री पंगेनी, गायक
कर्मचारीको २० प्रतिशत तलब बढेको चित्त बुझेन । किनभने यसले अनपेक्षित रूपमा मूल्य वृद्धि हुन्छ, जसले गर्दा जनतालाई मार पर्छ । अरू क्षेत्रमा कर बढाउनुभन्दा सवारी साधनमा कर बढेको भए कम्तीमा सडकको मर्मत–सम्भार त हुन्थ्यो होला ।
मन्जिल बस्नेत, मोडल
सुटिङमा हुनाले विस्तारमा हेर्न पाएको छैन । बजेट सत्तापक्षले प्रशंसा गर्ने र प्रतिपक्षले आलोचना गर्ने खालको होला भन्ने अनुमान गरेको छु । आधुनिक सुटिङ स्टुडियो बनाउने कुरा पनि सुनेको छु । यदि त्यसो हो भने राम्रो हो ।
केदार घिमिरे, अभिनेता
मह खाने नेता, हात चाट्ने जनता— त्यही नै हो । हामी जनतालाई पनि ललिपपमा भुल्ने बानी परिसकेको छ ।
प्रमोद अग्रहरी, अभिनेता
ठीकै लाग्यो । कागजका पानामा जति सुन्दर देखिएको छ, सुन्दा जति आनन्द आएको छ त्यसरी नै काम होस् भन्ने चाहना छ । छुट्ट्याएको बजेटको सबै काम होस् भन्ने कामना ।
सोभिता सिंखडा, अभिनेत्री
कागलाई बेल पाक्यो हर्ष न बिस्मात ।
भोलाराज सापकोटा, हास्यकलाकार
यसपालिको बजेट राम्रोसँग बुझ्नै पाएको छैन ।
प्रकाश सपूत, गायक
आधुनिक सुटिङ स्टुडियो बनाउने कुराचाहिँ निकै राम्रो लाग्यो ।
दीपाश्री निरौला, अभिनेत्री तथा निर्देशक
यसपालिको बजेट नुन हाल्न बिर्सिएको तरकारीजस्तो छ ।
टेकेन्द्र शाह, भिडियो एडिटर
समग्रमा ठीकै हो । अब धेरै आश गर्न त देशको अवस्था पनि त्यहीअनुसारको हुनुपर्यो, तर एउटा दुःखचाहिँ के लाग्यो भने यसपालि पनि बजेटले युवाहरूलाई सम्बोधन गर्न सकेन ।
महेन्द्र गौतम, मोडल
समग्रमा बजेट राम्रो लाग्यो । विनियोजित बजेट सदुपयोग भएर काम भयो भने नेपाल र नेपालीको भलो हुने थियो ।
शिव विक, नृत्य निर्देशक
बजेटमा हामी कलाकारहरूलाई उत्साहित तुल्याउने खासै केही छैन । समग्रमा बजेटमा समावेश भएका अन्य कुरा राम्रा छन् ।
दिनेश काफ्ले, हास्यकलाकार
सरसर्ती हेर्दा यसपालिको नीति तथा कार्यक्रमअनुरूप प्रस्तुत बजेट ठीकै छ, तर नेपाली सिनेजगत्का लागि भने यसपालि बजेटले खास कुनै नयाँ योजना दिन सकेको छैन । वृद्धा भत्ता बढाइनु एकदमै सराहनीय छ । भूकम्पपीडितहरूका लागि दिगो आय आर्जनको ‘प्याकेज’ कार्यक्रम आउने आशा थियो त्यो आएन, तर अहिले प्रस्तुत बजेटलाई कागजमा सीमित नराखी कार्यान्वयनको पाटोमा जान सके यसले देशको कायापलट गर्ने कुरामा दुईमत छैन ।
श्वेता खड्का, अभिनेत्री
म बजेटसम्बन्धी विज्ञ त होइन, तर सरकारले जस्तो बजेट घोषणा गरेको छ, त्यो राम्रो छ । यसपालिको बजेटले कलाकारका केही विषयलाई पनि सम्बोधन गरेको छ । कर्मचारीको तलब वृद्धि गरेको छ । रेल र पानीजहाजका लागि बजेट छुट्ट्याइएको छ । त्यसैले यसपालिको बजेट कार्यान्वयन भयो भने इतिहासकै उत्कृष्ट बजेट हुनेमा ढुक्क छु ।
किरण केसी, हास्य अभिनेता
यसपालिको बजेट कता–कता, के–के नमिलेजस्तो लाग्यो । वितरणमुखी भयो कि ?
अजय लम्साल, मोडल
बजेट बन्नुभन्दा पनि कार्यान्वयन हुनु सबैभन्दा ठूलो कुरा हो । यसपालिको बजेटमा नकारात्मकभन्दा पनि सकारात्मक पक्ष बढी देखेको छु । अर्को कुरा यसपालिको बजेट पनि परम्परागत ढंगले विनियोजित भएको छ । समृद्धि र आधुनिकताको नाममा बजेट बढी सहरमुखी भयो भन्ने लाग्छ । हाम्रो देशमा जबसम्म निम्न वर्गको विकास हुँदैन, तबसम्म देश विकास हुन सक्दैन । त्यसैले निम्न वर्गको जीवन कसरी उकास्न सकिन्छ भन्ने कुरा बजेटमा समावेश हुनुपर्छ । सहरलाई समृद्ध र आधुनिक बनाउने भन्दा पनि गाउँलाई आधुनिकीकरण गर्ने योजनाहरू बजेटमा समावेश हुनुपर्छ तब मात्र हामी स्वाभिमानी र समृद्ध हुन्छौं ।
राजेश हमाल, अभिनेता
संगीत र साहित्यलाई बजेटले प्रायः छुँदैन । अरू कुरा भन्न अध्ययन नै गर्नुपर्छ ।
प्रमोद खरेल, गायक
२०७६/०७७ को बजेट भाषण ठीकै लाग्यो । हरेक क्षेत्रलाई बजेटले छोएको छ, तर विनियोजित बजेट कार्यान्वयन हुन नसक्दा विकास निर्माणको काम ठप्प छ । त्यसैले दुःख लाग्छ ।
विनोद न्यौपाने, अभिनेता
काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो निर्माण प्रारम्भ गरिने तथा श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कुराले हामी उत्साहित छौं ।
शान थापा, निर्देशक
म एक लेखक हुँ । लेखक हुनुको नाताले आफ्नो क्षेत्र पनि बजेटमा समेटियोस् भन्ने लाग्छ नै, तर त्यस्तो भैरहेको छैन । अन्तर्राष्ट्रिय रूपमा चाहिँ कवि–लेखकहरूलाई देशका गहना तथा कला–साहित्य देश चिनाउने माध्यम मानिन्छ । उनीहरूमाथि राज्यले दिल खोलेर लगानी गर्छ । नेपालमा त्यस्तो अभ्यास अझै हुन सकेको छैन । अझै पनि राज्यले कला–साहित्यलाई अनुत्पादक मान्छ । जबसम्म कला–साहित्यका लागि पर्याप्त बजेट आउँदैन, कवि–लेखकलाई राज्यले कुनै सहयोग गर्दैन तबसम्म हरेक बजेट मलाई झुर लागिरहनेछ ।
मिनराज वसन्त, साहित्यकार
यसपालीको बजेटले चलचित्र क्षेत्रलाई पनि समेटेको रहेछ । त्यसैले खुसी छु ।
सुहाना थापा, अभिनेत्री
ठीकै छ । देश अनुसारको भेष ।
बालिका थपलिया, साहित्यकार
पहिलो कुरा त बजेट भाषण हुने बेला म भारततिर थिएँ । भारतबाट फर्किएपछि मात्र बजेटका विषयमा अपडेट भएँ । राजनीतिक, आर्थिक हिसाबले देशमा भएको खर्च तथा समाचार हेरेको–सुनेको भरमा यसको राम्रो–नराम्रो पक्ष भन्न सकिँदैन । तैपनि यसपालिको बजेटमा कलाकारिता र चलचित्र क्षेत्रका लागि सरकारले जुन कदम उठाएको छ, त्यो कदमलाई सकारात्मक नै मान्नुपर्छ ।
अर्जुन पोखरेल, संगीतकार