साप्ताहिक संवाददाता
कुम्भ करण
गत हप्ता चलचित्र कुम्भ करण प्रदर्शनमा आयो । यो चलचित्रले अपेक्षाकृत व्यापार गर्न सकेन– यो भनाइ चलचित्रका निर्देशक दीपक ओली स्वयंको हो । चलचित्र प्रदर्शनमा आउनुभन्दा पहिले चलचित्र निर्माण पक्षले यसको प्रचार–प्रसार चुस्त बनाएको थियो । प्रचार–प्रसार हेर्दा यो चलचित्रले राम्रो व्यापार गर्ला भन्ने धेरैको अनुमान थियो । चलचित्रलाई दर्शकले रुचाउन र बढीभन्दा बढी दर्शकको भीड हलमा देखिन प्रचार–प्रसारका साथै चलचित्रको विषय पनि उत्कृष्ट हुनुपर्छ भन्ने कुरा यो चलचित्रले प्रष्ट पारेको छ । यो चलचित्र करिब ७० लाख रुपैयाँको लगानीमा निर्माण भएको थियो । यद्यपि मंगलबारसम्म चलचित्रको व्यापार हेर्दा लगानी उठाउन धौ–धौ पर्ने देखिन्छ । निर्माण पक्ष भने अझै केही दिन चलचित्र चल्ला र लगानी सुरक्षित होला भन्ने आशामा थिए, तर बुधबार नै बलिउड चलचित्र भारत हलमा प्रवेश गरेसँगै उक्त आशा निराशामा परिणत भयो । चलचित्र कुम्भ करण तीन वर्षअघि नै छायाँकन गरिएको थियो ।
यद्यपि यसलाई हलसम्म पुग्न तीन वर्ष लाग्यो । त्यसमाथि पनि तीन–तीनवटा चलचित्रको भीडसँगै, जसले गर्दा पनि यसको व्यापार राम्रो हुन नसकेको चलचित्रकर्मीहरू बताउँछन् । यो चलचित्रमा निशा अधिकारी, गौरव पहारी, प्रमोद अग्रहरी, भोलाराज सापकोटा, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा गौरव (नेपाली शिक्षक), निशा (अंग्रेजी शिक्षिका), भोलाराज (प्रधानाध्यापक) तथा प्रमोद ज्योतिषिको भूमिकामा छन् । यो चलचित्र मेकिङका हिसाबले सामान्य छ । सरसर्ती हेर्दा चलचित्र कुनै नयाँ विषयमा बने जस्तो लाग्दैन तर यसमा सस्पेन्सलाई भने उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
कप्स
गत हप्ता नै प्रदर्शनमा आएको चलचित्र हो– कप्स । यो चलचित्रमा १ करोड ८० लाख लगानी भएको निर्माण पक्षले जनाएको थियो । यद्यपि यो चलचित्रले ८० लाख उठाउन पनि धौ–धौ परेको निर्देशक सम्राट सापकोटाले बताए । यो चलचित्र एउटा इमान्दार प्रहरी वरिपरि घुमेको छ । चलचित्रमा अनुप विक्रम शाही (अमन सिंह, डिएसपी) र सन्दिपा लिम्बु (प्रिया, अपराध बिटमा कलम चलाउने पत्रकार) को भूमिकामा छन् । प्रहरीले कसैको प्रलोभन र दबाबमा नपरी आफ्नो कर्तव्य पथमा अघि बढ्नुपर्छ भन्नु नै यो चलचित्रको मूल भाव हो । समाजमा हुने कालोबजारी, हत्या, हिंसा, बलात्कार जस्ता कुराहरूलाई निर्मूल पार्न कसैको दबाब, लोभ लालचमा नफसी इमान्दारिताका साथ काम गर्ने प्रहरीको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्र कप्स मध्यान्तरसम्म उत्कृष्ट तरिकाले अघि बढेको छ, तर मध्यान्तर पछि भने हाई लाग्ने स्थिति उत्पन्न हुन्छ किनभने चलचित्रमा अनावश्यक विषयहरू घुसाइएको छ ।
त्यसले दर्शकलाई बोरिङ मात्र गर्छ । सम्राट सापकोटाले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन् । त्यसैले उनको पहिलो कामले राम्रो सम्भावना देखाएको मान्नु पर्छ । यद्यपि चलचित्रको सिनेम्याटोग्राफीमा भने केही कमजोरी छ । संगीत पक्ष राम्रो छ । निर्देशकले केही विषयवस्तु छाट्नुपर्ने ठाउँमा कैंची नलगाउँदा चलचित्र अलि भद्दा लाग्छ । चलचित्र हेरिसकेपछि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेको निर्देशक सापकोटा बताउँछन् । यद्यपि बलिउड चलचित्र भारत बुधबारदेखि नै प्रदर्शनमा आएसँगै यो चलचित्र पनि संकटमा परेको छ । मल्टिप्लेक्सबाट यो चलचित्र बाहिरी सकेको छ । नयाँ चलचित्र शुत्रबार रिलिज गर्ने नियम हुँदाहुँदै त्यसको उल्लंघन गर्दै बुधबार नै चलचित्र रिलिज हुन थालेपछि यसले नेपाली चलचित्रको विकासमा बाधा सिर्जना गरेको निर्देशक सापकोटा बताउँछन् ।
काउसो
गत हप्ता चलचित्र काउसो पनि प्रदर्शनमा आएको थियो । यो चलचित्रको स्थिति पनि अरू दुई चलचित्रको जस्तै छ । निर्माण पक्षले चलचित्र निर्माणमा ७५ लाख लगानी भएको बताएको थियो । चलचित्रले उत्कृष्ट व्यापार गर्न नसकेपनि लगानी सुरक्षित गर्न सक्छ भन्नेमा आशा पलाएको निर्देशक मदन घिमिरेले बताए । घिमिरे कुनै बेलाका सफल निर्देशक हुन् । यद्यपि यो चलचित्रले भने आफूले सोंचेजस्तो नतिजा नदिएको घिमिरे बताउँछन् । चलचित्र काउसो रातारात धनी बन्ने सपना बोकेर गाउँबाट राजधानी छिरेका युवाहरूले गलत काम गरेर कमाएको पैसा उपयोगमा आउन नसकेपछि उत्पन्न हुने समस्याको वरिपरि घुमेको छ ।
यो चलचित्रमा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, शान्ताकाराम थापा, रमेश बुढाथोकी, रामचन्द्र अधिकारी, सुरेन्द्र चापागाईं, नविन आचार्य, सन्नी भट्टराई आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सबिन सिआईडी डिएसपीको भूमिकामा छन् भने अनु पराजुली माझी बस्तीकी युवतीको भूमिकामा छिन् । कमेडी विधाको यो चलचित्रमा चिनिएका कमेडी कलाकारहरू नहुनु खड्किने कुरा हो । निर्देशक घिमिरेका लागि पनि यो पहिलो कमेडी चलचित्र हो ।
घिमिरे आफैंले पनि राम्रा हास्य कलाकारहरू लिएर चलचित्र बनाएको भए यसले राम्रो व्यापार गर्न सक्थ्यो कि भन्ने अनुमान अहिले आएर गरेका छन् । त्यसबाहेक चलचित्रको प्रस्तुति निकै राम्रो छ । संगीतको पक्ष पनि राम्रै छ । यति हुँदाहुँदै पनि यो चलचित्र सिनेम्याटोग्राफी र डबिङमा भने चिप्लिएको पाइन्छ ।