भूकम्प आउँछ भन्ने ज्योतिष समातिएछ, मेलम्ची आउँछ भन्नेलाईँ के हुन्छ सरकार 

- साप्ताहिक संवाददाता

जेष्ठ २५, २०७६

 

भूकम्प आउँछ भन्ने ज्योतिष पक्राउ पर्‍यो । अब हावाबाट बिजुली, पानी जहाज र रेल आउँछ भन्नेको पालो कहिले आउने हो कुन्नी ? 

अशु थापा

भविष्यवाणी गरेअनुसार भूकम्प आयो भने ज्योतिष बाजे छुट्छ कि नाईँ ? हल्का जिज्ञासा ! 

सुवास बोस 

भ्रम, आतंक, सपना र झुठा आश्वासन फैलाउने सबै कानुनी दायरामा आउनुपर्छ । कानुन सबैलाई समान रूपमा लागू होस् । 

रोहिणी 

भूकम्प आउँछ भनेर हल्ला फैलाउने ज्योतिषलाई त पक्रिस, अब पानी जहाज र रेल आउँछ भनेर हल्ला फैलाउनेलाई कैले पक्रिन्छस् सरकार ? 

प्रकाशकुमार खड्का

भूकम्पवाला ज्योतिष जेल परेपछि धेरैले भने–रेल, पानी जहाज, समृद्धि, हावाबाट बिजुलीको गफ गर्ने गफाडीलाई जेल कोच्ने हिम्मत छ भनेर । को रै’छ त्यो हँ गफाडी ? 

विमल ढकाल

देशमा ठूलो भूकम्प आउँदैछ भनेर भविष्यवाणी गर्ने ज्योतिष भनिने अर्जुन क्षेत्रीलाई आफैंमाथि यसरी महाभूकम्प आउँछ भन्ने त चालसमेत थिएन होला है ? पीडा छ हजुर । 

मदन क्षेत्री 

जेठमा भूकम्प आउँछ भन्ने ज्योतिषलाई मात्र होइन, अघिल्लो दसैंमै मेलम्ची आउँछ, एक वर्षमा रेल आउँछ, एक वर्षमै नेपालमा तेलखानी सञ्चालनमा आउँछ भनेर जनतालाई उल्लु बनाउने र अफवाह फैलाउने नेतालाई पनि पक्राउ गर सरकार– यो कुरा ज्योतिषको सपोर्टमा गरेको होइन है । 

प्रदीप

जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष समातियो । अघिल्लो साल दसैंमा मेलम्ची आउँछ भन्ने नेता/मन्त्री अनि एक वर्षमा पानी जहाज आउँछ भनेर अफवाह फैलाउने, देश विकास हुन्छ भनेर सोझा–साझा जनताको आँखामा छारो हाल्नेहरू चाहिँ कहिले पक्राउ पर्छन् सरकार ? 

अनु सापकोटा

जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष, अघिल्लो दसैंमा मेलम्ची आउँछ, माघमा पानी जहाजको टिकट काटेर बस्नु पानी जहाज आउँछ, एक वर्षमा रेल आउँछ, एक वर्षमै नेपालमा तेलखानी आउँछ, सिलिन्डर फाल्नुस्, अब घर–घरमा ग्यासको पाइप आयो भनेर नआउँदा अब ती पनि पक्राउ पर्ने त होइनन् ? लुक्ने पो हुन् कि ? 

मनिष गिरी 

भूकम्प कति बेला जान्छ भनेर हेर्ने ज्योतिषले आफू कति बेला जेल जान्छु भनेर हेर्नै बिर्सिएछन् ।

विष्णु 

देशमा शक्तिशाली भूकम्प आउँछ, राजा फर्कन्छन्, यही जेठभित्र अनिष्ट हुन्छ भन्ने अफवाह फैलाउँदै आमजनतामा त्रास फैलाउने स्वघोषित ज्योतिष अर्जुन क्षेत्री पक्राउ । यत्रो भविष्यवाणी गर्न सक्नेले आफूलाई पुलिसले पक्राउ गर्दैछ भन्ने चैं कसरी थाहा पाएनछन् त ? 

सिरु शर्मा 

भूकम्प आउँछ भन्ने ज्योतिषलाई पुलिसले पक्राउ गरेछ, आएन भने सुसाइड गर्छु त आफैं भन्दैथ्यो भन्न त । 

प्रविशा पन्त

जेठमा भूकम्प आउँछ भन्ने ज्योतिष समातिएछ, मेलम्ची आउँछ भनेर त्रास फैलाउनेलाई चाहिँ के हुन्छ सरकार ? 

मन्जिल भाइ 

भूकम्पको भविष्यवाणी गर्ने ज्योतिष पक्राउ हुँदा रेल र पानीजहाजको टिकट काट्न लगाउने मेलम्चीको पानी घर–घरमा बाँड्ने दिन घोषणा गर्ने तथा ग्यासको पाइप भान्छा–भान्छामा पुर्‍याउने भविष्यवाणी गर्ने ज्योतिषीहरूले मुख छोप्नु पर्ने होइन ? 

प्रमिला चापागाईं

एउटा हावाको गफलाई लिएर ज्योतिष विद्या र यो पेसालाई नउडाऔं । ज्योतिष शास्त्र एउटा एक विशिष्ट विद्या हो । ज्योतिषीले बनाएको पात्रो सधैं मिल्छ, ग्रहण भनेकै समयमा लाग्छ । भूकम्प, मान्छेको आयू यो विद्याको क्षेत्र नै होइन । 

अशोक दाहाल 

फलानो दिन भूकम्प आउँछ भनेर सर्वसाधारण जनता तर्साउने ज्योतिषलाई पक्रेर प्रहरीले फेरि जनताको मन जितेको छ । त्यस्ता पागललाई आजीवन जेल सजाय दिनुपर्छ । २०७२ साल वैशाखको भूकम्पपछि समाजमा यस्ता समूहको चलखेल बढ्दो छ । यसमा अझ बढी सक्रिय समाजसेवी भनाउँदाहरू छन् । 

डा.एलिया अर्याल

भूकम्प आउँदैछ भन्ने ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले आफूलाई समाउँदै छ भन्ने चाहिँ थाहा थिएन होला, तर हाँसो लाग्दो कुरा त के छ भने ती नक्कली ज्योतिष लाइभमा आउँदा आफ्नो भाग्य बताइदिनु न गुरु भन्दै कमेन्ट गर्ने केही साथीहरू अहिले मज्जाले विरोध गर्दै फोटो सजाइरा’छन् फेसबुकमा । 

राज रिमाल

प्रकाशित :जेष्ठ २५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×