साप्ताहिक संवाददाता
अन्ततः नेपाली क्रिकेटले नयाँ प्रशिक्षक पाएको छ । नेपालमाथि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को निलम्बनको स्थिति कहिले हट्ने हो, टुंगो छैन तर पनि नेपाली क्रिकेट टिमको अन्तर्राष्ट्रिय सहभागिता जारी छ । कम्तीमा टिमको तयारी त राम्रो हुनु पर्यो नि, यसैक्रममा नेपालले नयाँ प्रशिक्षक पाएको छ, उमेश पटवालका रूपमा । आईसीसीले नै हेरिरहेको स्थिति छ, अहिलेको नेपाली क्रिकेटलाई । यसअघि नेपाली टिम जगत टमाटाको जिम्मामा थियो ।
यद्यपि उक्त जिम्मेवारी काम टार्ने नीति मात्र थियो । अब भने पूरा जिम्मेवारी बोक्ने प्रशिक्षक पाएको छ नेपालले । पटवाल नेफाली क्रिकेटका लागि नयाँ नाम होइनन्, विश्व त्रिकेटमै पनि उनी सुन्नमा आइरहने पात्र हुन् । यी भारतीय प्रशिक्षक यसअघि नेपाली टिमका ब्याटिङ कन्सल्यान्ट थिए, अब मुख्य प्रशिक्षक भएका छन् । यसका लागि पहल गर्ने पनि आईसीसी नै हो, यसलाई नतिजाको तहमा कार्यान्वयन गर्ने काम भने राष्ट्रिय खेलकुद परिषद्ले गरेको छ ।
पटवालले एक वर्षको जिम्मेवारी पाएका छन्, अहिले तत्कालका लागि । यो अवधिमा उनको मुख्य लक्ष्य के हो त ? परिषद्लाई नै आधार मान्ने हो भने अबको केही महिनामा नेपालमा दक्षिण एसियाली खेलकुद (साग) हुँदैछ, त्यसैलाई ध्यानमा राखेर उनलाई नियुक्त गरिएको हो । सागको एउटा खेल क्रिकेट पनि हो, त्यसकै लागि टिम तयार पार्न उनलाई ल्याइएको हो । महिनाको ७ हजार डलर पारिश्रमिक थाप्ने पटवाललाई तलब दिने काम पनि आईसीसीले नै गर्नेछ ।
विश्व क्रिकेटमा पटवालको खास चर्चा भने अफगानिस्तानको उदयसँगै भएको हो । अफगानिस्तानको एसोसियट देशदेखि टेस्ट मान्यता प्राप्त टिमसम्मको यात्रामा पटवाल पनि जोडिएका थिए । उनी अफगान टिमका ब्याटिङ कन्सल्यान्ट पनि रहे । मुम्बइका पटवाल खेलाडीका रूपमा खासै चम्कन सकेनन्, तर प्रशिक्षकका रूपमा भने उनी उपयोगी सावित भएका छन् । मुम्बईको रणजी टिमसम्म हेरेको उनको अनुभव छ, जसलाई
राम्रै मान्नुपर्छ ।
नेपाललाई लिएर प्रशिक्षक पटवालको आफ्नै अलग लक्ष्य छ । पटवाले भनेका छन्, ‘मेरो उद्देश्य भनेको नेपाललाई अबको ट्वान्टी–२० विश्वकपमा छनौट गराउनु हो ।’ नेपालले छिट्टै ट्वान्टी–२० विश्वकपको छनौट खेल्दैछ । अस्ट्रेलियामा हुने विश्वकपको उक्त छनौटको तयारीमै उनले विशेष ध्यान दिनेछन् । पटवालले यसका लागि छ्टिटै आफ्नो कार्यक्रम पनि ल्याउने छन् । उनी मान्छन्— नेपाली खेलाडी पनि कम छैनन्, विश्वस्तरीय नै छन् ।
नेपाली क्रिकेटलाई पटवालको आवश्यक किन पर्यो त ? यसमा खेलाडीहरूको पनि आफ्नै दृष्टिकोण पनि छ । कप्तान पारस खड्काको भनाइमा, नेपाली क्रिकेट अब पहिले जस्तो रहेन । नेपालले वान डे टिमको मान्यता पाइसकेको छ र नेपाली क्रिकेटको स्तर पनि बढेको छ । यस्तोमा प्रशिक्षक पनि उही स्तरको हुनुपर्छ । लामो समयदेखि नेपाली खेलाडीको माग थियो, राम्रो प्रशिक्षक ल्याउनुपर्ने, सके विदेशी नै । पटवाल त्यो मागको उत्तर पनि हुन् । यद्यपि अहिलेको मुख्य चासो पटवालले यी सबै अपेक्षा कति पूरा गर्छन् भन्ने नै हो ।