जी टिभीको गायनमा आधारित रियालिटी शो सारेगम लिटिल च्याम्पस’ को ग्रान्ड फिनालेसम्म पुग्न सफल दुई बालप्रतिभा प्रितम आचार्य तथा आयुष केसीलाई उक्त प्लेटफर्मसम्म पुर्याउन गायक तथा संगीतकार अमृत क्षेत्रीको सबैभन्दा बढी योगदान छ । संगीतकार क्षेत्रीले झम्सिखेलमा सञ्चालन गरिरहेको सूरशाला म्युजिक एकेमेडीमा संगीतको प्रशिक्षण लिइरहेका तथा दुई वर्षअघि सूरशालाले नै आयोजना गरेको सूरशाला आइडलका विजेता प्रितम र आयुषको परीक्षा पर्सि आइतबार हुँदैछ । लिटिल च्याम्सको आइतबार हुने ग्रान्ड फिनालेको पूर्वसन्ध्यामा प्रितम र अमृतलाई लामो समयदेखि संगीत सिकाइरहेका गुरु क्षेत्रीसँग साप्ताहिकका कृष्ण भट्टराईको कुराकानी :
आफ्ना दुई शिष्य प्रितम आचार्य र आयुष केसीको उपलब्धिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
उनीहरूको उपलब्धि मूल्यांकन गर्ने भन्दा पनि प्रशंसा गर्ने बेला भएको छ । भारतजस्तो विशाल देशका लाखौं प्रतिभाशाली प्रतिस्पर्धीलाई उछिनेर उत्कृष्ट ६ मा पर्न सफल हुनु आफैंमा ऐतिहासिक उपलब्धि हो ।
ग्रान्ड फिनालेमा उनीहरूबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
झन्डै पाँच महिनादेखि उनीहरू मुम्बईमा रहेर सफलताको सिँढी उक्लिरहेका छन् । यो अवस्थामा उनीहरूले ग्रान्ड फिनालेमा अझ उत्कृष्ट प्रस्तुति दिँदै उपाधि नै जित्न सक्ने अनुमान गरेको छु । यद्यपि, उनीहरू अन्तिम चरणमा प्रवेश गर्नुलाई नै हामीले सबैभन्दा ठूलो उपलब्धिका रूपमा लिइसकेका छौं ।
उनीहरूको गायकीलाई कसरी हेर्नुहुन्छ ?
प्रितम र आयुष दुवै प्रतिभाशाली गायक हुन् । दुई वर्षअघि हामीले सञ्चालन गरेको सूरशाला आइडलमा उनीहरू विजेता तथा उपविजेता भएका थिए । त्यही प्रतियोगितामै उनीहरूले आफ्नो गायन कलामार्फत निर्णायकहरूलाई मात्र होइन, नेपालीदर्शक तथा श्रोताहरूलाई प्रभावित तुल्याएका थिए । तुलनात्मक रूपमा हेर्दा दुवैको गायकीको आ–आफ्नै विशेषता छ । प्रितम हरेक गीत खुलेर अनि हाँसी–हाँसी गाउन सक्छन् । आयुषको गायकीमा भने एक प्रकारको माधुर्यता छ, मिठास छ । दुवै भिन्न शैलीका गीत गाउन खप्पिस भएकै कारण आज यो स्थानमा पुग्न सकेका हुन् ।
अलिकति विगततर्फ फर्कौं, उनीहरूलाई यो प्रतियोगितामा कसरी सहभागी गराउनुभयो ?
त्यसका लागि करिब ९ महिनाअघि फर्कनुपर्छ । सूरशाला आइडलका विजेता र उपविजेतामात्र होइन, टप टेनमा पर्न सफल प्रतियोगीहरूलाई नै हामीले सारेगमप लिटिल च्याम्समा सहभागि गराउने प्रयास गरेका थियौं । जी टिभीले त्यसका लागि अनलाइन अडिसन लिने अनुमति दियो । हामीले २५ जना बाल गायक–गायिकाको भिडियो क्लिप्स बनाएर पठायौं । हामीले पठाएको भिडियो क्लिप्सका आधारमा दस जनालाई उनीहरूले दोस्रो चरणको अडिसनका लागि दिल्ली बोलाए ।
त्यसपछि के भयो ?
दिल्लीको अडिसनमा सहभागिता जनाउन प्रितम आचार्य र आयुष केसीसहित श्रजल महर्जन, ममता गुरुङ, अधिश्री कसपाल, निशु शर्मा, कृष्टिना श्रेष्ठ, सरोबर चौलागाईं, मोनालिसा कार्की आदिलाई मैले नै गत नोभेम्बरमा दिल्ली लिएर गएँ । त्यसक्रममा उनीहरूले प्रतियोगिताको लेभल टु र लेभल थ्रिका लागि अडिसन दिए । दिल्ली अडिसनमा मात्र झन्डै २० हजार बालबालिका सहभागी थिए । अडिसन दिएर नेपाल फर्किएको केही हप्तापछि उनीहरूले प्रितम आचार्य र आयुष केसी अघिल्लो चरणका लागि छनौट भएको खबर पठाए । त्यसपछि प्रितम र आयुषले आफ्ना अभिभावकसहित (करिब पाँच महिनाअघि) मुम्बई गएर प्रतियोगिताको स्टुडियो राउन्डमा प्रतिस्पर्धा गरे ।
अडिसन दिएकामध्ये कति जना छनौट हुने अपेक्षा गर्नुभएको थियो ?
हामीले कम्तिमा दुई जनाले चाहिं अघिल्लो चरणको यात्रा तय गर्ने अनुमान गरेका थियौं । हाम्रो अनुमानमा पनि आयुष र प्रितम नै थिए, किनभने उनीहरूले पहिलेदेखि नै जोडी बनाएर गीत गाउँथे ।
स्टुडियो राउन्डमा उनीहरूको प्रस्तुति कस्तो रह्यो ?
उक्त राउन्डमा उनीहरू उत्कृष्ट प्रस्तुतिसँगै मेगा अडिसनमा पुगे । मेगा अडिसनमा पनि उनीहरूले उत्कृष्ट प्रस्तुतिलाई निरन्तरता दिएकाले त्यसलाई पनि पार गरे । त्यसपछि मात्र उनीहरूलाई टेलिभिजनको पर्दा देख्न थालिएको हो ।
पाँच महिनादेखि मुम्बईमा रहँदा उनीहरूको गायकीमा कत्तिको सुधार आएको पाउनुभएको छ ?
एकपछि अर्को गर्दै खुड्किलाहरू उक्लने क्रममा उनीहरूको गायकीमा शतप्रतिशत सुधार आएको छ । उनीहरूले दैनिक कठोर अभ्यास गर्न पाएका छन्, रियाज गर्न पाएका छन् । उनीहरू वास्तवमै कलाकार भैसकेका छन् ।
मेघा राउन्डपछिको उनीहरूको यात्रा कसरी अघि बढ्यो ?
मेघा राउन्डमा उनीहरूसहित ६० जना बालबालिका थिए । उक्त राउन्डको प्रस्तुतिपछि उनीहरू सोझै टप ३० मा पर्न सफल भए । टप ३० मा पनि उनीहरूको उत्कृष्ट प्रस्तुतिको क्रम जारी रह्यो । टप ३० पछि उनीहरू टप १६ मा पर्न सफल भए । हाम्रो अपेक्षा पनि उनीहरू टप १६ सम्म त पुग्छन् नै भन्ने थियो । त्यसभन्दा अघि बढ्नु भनेको चाहिं उनीहरूकै भाग्य, परिश्रम र समयको कुरा थियो ।
त्यसपछिको उनीहरूको प्रस्तुति कस्तो रह्यो ?
टप १६ का लागि उनीहरूले अझ बढी मेहनत गरे । फलस्वरूप उनीहरू टप १२ मा प्रवेश गर्न सफल भए । टप १२ पछि टप नाइन भयो, उनीहरू त्यसमा पनि पर्न सफल भए । टप ९ मा पनि उनीहरूले उत्कृष्ट प्रस्तुत दिएर आफ्नो स्थान सुरक्षित गरे । टप ९ मा पुगेपछि कार्यक्रमको फाइनलिष्ट छान्ने कुरा भयो । टप ९ मा यस्ता–यस्ता प्रतिभाशाली बालबालिका छन्, हाम्रा केटाहरू फाइनलका लागि छनौट होलान् कि नहोलान् जस्तो भयो । फालिएका बालबालिकाहरू नै यति प्रतिभाशाली थिए कि हाम्रा केटाहरूमा अद्भुत कला रहेछ भन्ने कुरा प्रमाणित भयो । टप ९ पछि एकैपटक गत शनिवार उत्कृष्ट ६ को छनोट भयो ।
ग्रान्ड फिनालेका लागि आयुष र प्रितमको तयारी कस्तो छ ?
ग्रान्ड फिनालेका लागि उनीहरू दिनरात मेहनत गरिरहेका छन् । उनीहरूले ग्रान्ड फिनालेमा गाउनुपर्ने गीत समेत पाइसकेका छन् । अहिले उनीहरू त्यही गीतमा अभ्यास गरिरहेका छन् ।
ग्रान्ड फिनाले कसरी सञ्चालन हुने रहेछ ?
ग्रान्ड फिनाले पर्सि आइतबार राति नेपाली समय अनुसार सवा ८ बजे प्रारम्भ हुने भनिएको छ । ग्रान्ड फिनालेमा १ सय जना संगीतकर्मीमाझ आयुष र प्रितमसहित ६ जना फाइनलिस्टहरूले आ–आफ्नो प्रस्तुति दिनेछन् । फिनालेमा बलिउडका थुप्रै सुपरस्टारले सहभागिता जनाउने कुरा सुनेको छु । त्यो प्लेटफर्ममा हाम्रा केटाहरूले कस्तो प्रस्तुति दिनेहुन्, आफूलाई कसरी अब्बल सावित गर्ने हुन् भन्ने कुराको प्रतीक्षा ब्यग्र रूपमा गरिरहेको छु ।
ग्रान्ड फिनालेमा आयुष र प्रितमबाट कस्तो नतिजाको आशा गर्नुभएको छ ?
मेरा लागि त उनीहरू टप छ अर्थात् फाइनलमा पुग्नु नै आफैंमा एउटा ऐतिहासिक उपलब्धि भैसकेको छ । उनीहरू अथाह मेहनत गरेर आज यो स्थानसम्म पुग्न सफल भएका छन् । मलाई लाग्छ, आयुष र प्रितममध्ये एक जना कम्तीमा टप थ्रिसम्म चाहिं पुग्नैपर्ने हो । मन भित्रबाट त उनीहरू दुवै उपाधि नै जितेर नेपाल फर्किउन् भन्ने छ । यद्यपि त्यो एउटा वृहत प्रतिस्पर्धा हो ।
उनीहरूलाई के शुभकामना दिन चाहनुहुन्छ ?
उनीहरू दुवैले कुनै पनि एपिसोडमा नेपाली ढाकाटोपी छाडेका छैनन् । हरेक श्रृंखलामा उनीहरूले ढाकाटोपी वा नेपालको झण्डा भएको ब्याजमा सजिएर आफ्नो प्रस्तुति दिइरहेका छन् । आइतबारको कार्यक्रममा पनि म उनीहरूलाई मौलिक नेपाल पहिरनमै प्रस्तुत भएर आफ्नो गीत प्रस्तुत गरेको हेर्न चाहन्छु र एउटा प्रशिक्षकको नाताले भन्छु— ‘विजयी भवः ।’