साप्ताहिक संवाददाता
चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको प्यानल विजयी भएको छ । संघको अध्यक्ष पदमा खड्काले जीत हासिल गरेका छन् । उनले अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराएका हुन् । कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।
यस्तै, उपाध्यक्ष पदमा रेजिना उप्रेतीले २४३ मत ल्याएकी छिन् । उनी, निर्वाचनमै सर्वाधिक मत ल्याउने उम्मेदवार समेत हुन् । यस्तै, उपाध्यक्ष पदमा सानु कुमार ताम्राकारले १७५ मत ल्याएर विजयी भए । महासचिव पदमा चेतबहादुर सिंहले १८७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १५६ मत ल्याएका थिए ।
सचिव पदमा पनाहा अधिकारीले १९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १६९ मत ल्याइन् । सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २२० मत ल्याएर विजयी भइन् ।
निर्वाचन जितेसँगै अध्यक्ष खड्काले आफूले चुनाव अघि गरेका प्रतिवद्धताहरु पुरा गर्ने जिकिर गरे । अध्यक्ष पदकी अर्की उम्मेदवार सरिता लामिछानेले खड्कालाई निर्वाचन पछि पुञ्पगुञ्छााले स्वागत गर्दै शुभकामना दिएकी छिन् ।
संघमा १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।