साप्ताहिक संवाददाता
बाबुराम भट्टराई र उपेन्द्र यादवका दुई पार्टिबीच एकिकरण भएपछि अभिनेत्री करिश्मा मानन्धरले आफू ताली मात्र पिट्नका लागि राजनीति नगर्ने भन्दै पार्टीबाट अलग भएको घोषणा गरिन् । नयाँ शक्ति पार्टिबाट अलग भएदेखि करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत मनका लागेका विषयमा मुख खोल्न थालेकी छिन् । एसईईको नतिजा कुरेर बसेकी करिश्मालाई अहिले आमाको भूमिका लागि विभिन्न चलचित्रबाट प्रस्ताव गरिए पनि उनले ती भूमिका स्वीकार गरिरहेकी छैनन् । पार्टिबाट अलग भएको घोषणा गरेको केही दिनपछि नै उनले फेसबुकमा लेखिन्–‘अब म बोल्छु ।’
सामाजिक सञ्जालबाट आधिकारिक रुपमै अब आफू बोल्ने धारणा व्यक्त गरेको केही दिनपछि नै उनले बालाजुस्थित चलचित्र विकास कम्पनिको जग्गाका बारेमा चासो व्यक्त गरेकी छिन् । करिश्माले एनएफडिसीको सरकारी जग्गा बेचिबिखन भएको सुन्दा आफू अचम्मित भएको तथा तत्काल त्यसको छानविनको माग समेत गरेकी छिन् । ‘बालाजु औद्योगिक क्षेत्रमा रहेको एनएफडिसी, जुन चलचित्र क्षेत्रको विकास प्रवर्द्धनका लागि उपलब्ध गराइएको थियो, जहाँ नेपाली चलचित्रले आफ्नो शैशव काल बिताउँदै आजको यात्रासम्म आइपुगेको छ ।
पर्दामा देखिने कलाकारदेखि यूनिटलाई चिया बाँड्ने स्पोट ब्वाइसम्मको दिन–रात त्यहीँ बित्थ्यो । हरेक चलचित्रकर्मीले आफ्नो घर जस्तो महसुस गर्ने ठाउँ थियो । आश्चर्य त के लाग्छ भने सारा सञ्चारकर्मी र चलचित्रकर्मीलाई थाहा हुँदाहुँदै पनि कोही चुइक्क बोल्नुहुन्न । यीनले जे गर्लान्, म बोल्छु ।’ करिश्माले लेखेकी छिन्– ‘२७ रोपनीको त्यो जग्गा, जहाँ भवन, स्टूडियो, उपकरणहरू सबै थिए ।
पुराना नेपाली चलचित्रका नेगेटिभहरू त्यही छन्, जुन नेपाली चलचित्रको इतिहास हो । तत्कालिन लिज होल्डर डीबी थापाले उद्धव पौडेललाई लिजमा बेच्नुभयो । त्यसपछि न त्यो ठाउँको संरक्षण भयो, न सिनेमाका काम जसरी हुन्थ्यो त्यो नै भयो ।’ करिश्माका अनुसार एनएफडीसीको नाममा रहेको २७ रोपनी जग्गा अहिले खुम्चिएर ६ दशमलव ७६ रोपनीमा सीमित भएको छ ।