साप्ताहिक संवाददाता
खेलकुदमा सफल हुनु एउटा कुरा हो भने लोकप्रिय हुनु अर्कै कुरा हो । सबै सफल खेलाडी लोकप्रिय हुनुपर्छ भन्ने पनि छैन । न त सबै लोकप्रिय खेलाडी सफल हुन्छन् भन्ने ग्यारेन्टी छ । नेपाली खेलकुदमा सर्वाधिक लोकप्रिय खेलाडी को हो ? कम्तीमा वर्ष ०७५ का सबैभन्दा लोकप्रिय खेलाडी को रहे त ? हामीसँग यसको ठ्याक्कै उत्तर छैन, तर एउटा तथ्य के निश्चित छ भने हामी त्यसको नजिक भने चाँडै पुग्न सक्छौं । एनजेस्फ पल्सर स्पोटर््स एवार्ड–२०७५ यसपटक असार १७ मा आयोजना हुँदैछ ।
नेपाल खेलकुद पक्रकार मञ्चले आयोजना गर्ने यो एवार्ड कार्यत्रमको पिपुल्स च्वाइस एवार्डका लागि मनोनयनमा पर्ने खेलाडीको सूची जारी भैसकेको छ र जति बेला यो एवार्ड जित्ने खेलाडीको नाम घोषणा गरिनेछ, हामी भन्न सक्छौं, यो वर्ष यिनै खेलाडी सबैभन्दा बढी लोकप्रिय रहे, अझ भनौं चर्चित रहे । यो विधामा विजयी हुने खेलाडीहरूको चयनमा सबैभन्दा ठूलो हात खेलाडीहरूका प्रशंसकको हुन्छ अनि त्यसपछि खेल पत्रकार तथा प्रशिक्षकहरूको ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनौट एसएमएस भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यहरूको मत एवं राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतलाई आधार मानिनेछ । एसएमएस भोटिङको मतभार ५० प्रतिशत, फेसबुकमा ४ लाइकको १ मत सहितको मतभार २५ प्रतिशत, मञ्चका सदस्य तथा विभिन्न खेलका मुख्य प्रशिक्षकको मतभार २५ प्रतिशत रहनेछ ।
मनोनयनमा पर्ने पाँच खेलाडी
वर्ष ०७५ मा सबैभन्दा बढी चर्चा बटुल्ने खेलाडी त क्रिकेटका सन्दीप लामिछाने नै हुन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) लगायत केही प्रमुख फ्रmेन्चाइज लिग खेले र विश्व क्रिकेटमै चर्चा कमाए । लामिछानेले यसत्रममा प्रसस्त आम्दानी समेत गरे । नेपाली खेलकुदमा उनी जत्तिको कमाउने खेलाडी छैनन् पनि । उनी अहिले पनि अस्ट्रेलिया छन् र आफ्नो खेल जीवनलाई कसरी अझ सफल र स्तरीय बनाउने त्यसको व्यवस्थापन गर्ने क्रममा छन् ।
ब्याडमिन्टनका प्रिन्स दाहाल दुबई जुनियर इन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेर एकाएक चर्चामा आएका खेलाडी हुन् । उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् उनी । वर्ष ०७५ मा उनले अरू पनि धेरै सफलता पाए । खेलाडी मनोनयन घोषणा कार्यक्रममा उनले पनि बोल्ने मौका पाएका थिए, तर बोल्न सकेनन्, आक्तिए । कार्यत्रममा उनको परिवारका सदस्यहरूको पनि उपस्थिति थियो । उनीहरूले पनि माने, खेलाडीले खेलेर मात्र पुग्दैन, बोल्न पनि सक्नुपर्छ ।
बोलिरहनुपर्ने बानी भएकी भलिबलकी रेशमा भण्डारी पनि ऊक्त मनोनयनमा थिइन्, तर त्यस दिनको कार्यत्रममा उनले पनि खासै बोल्न सकिनन् । कारण उनी पनि आक्तिइन् । रेशमा टिकटकमा खुबै सत्रिय छिन् । सामाजिक सञ्जालमा उनको सक्रियता हेर्नुपर्छ, उनी कुनै नायिकाभन्दा कम देखिन्नन्, सुन्दरताका आधारमा पनि । मैदानमा पनि उनी उत्तिकै सफल खेलाडी हुन् । वर्ष ०७५ मा एपीएफले वर्षमा १० वटा उपाधि जित्दा विशेष भूमिका निर्वाह गर्ने खेलाडी हुन्— रेशमा ।
वर्ष ०७५ मा निकै चर्चामा रहन सफल अर्की महिला खेलाडी हुन्— फुटबलकी सावित्रा भण्डारी । सावित्रा पनि यो मनोनयनमा छिन् । केही समय भयो, सावित्रा भने बोल्न सिपालु भएकी छिन् । भण्डारी भन्छिन्, ‘मैले देशका लागि अझै धेरै गर्नु छ, नेपाललाई साफ च्याम्पियनसिपमा स्वर्ण दिलाउनु छ । यो कामलाई सजिलो बनाउने यस्तै एवार्डले हो ।’घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्दै उनी वर्षभरि नै चर्चामा रहिन् । सावित्रा भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन योगदान दिने महत्त्वपूर्ण खेलाडी हुन् । यस्तै महिला साफ च्याम्प्यिनसिपमा उनी उपविजेतासहित सर्वाधिक गोलकर्ता बन्न सफल भइन् ।
वर्ष ०७५ मा चर्चामा रहने अर्का खेलाडी हुन्— बडी बिल्डिङका महेश्वर महर्जन । उनी हुन्, वर्ष ०७५ मा शारीरिक सुगठनमा नेपाललाई अन्तर्राष्ट्रिय ऐतिहासिक उपाधि दिलाउने खेलाडी ।
महर्जनले थाइल्यान्डको च्याङमाईमा सम्पन्न १०औं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपको पुरुष ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते । यस्तै १५औं राष्ट्रिय धर्मश्री शारीरिक सुगठन च्याम्पियनसिपको ओभरअलमा उपविजेता समेत भए । अबको एक महिना यी खेलाडी आफ्ना लागि भोट मागिरहेका हुनेछन् । उनका प्रशंसकहरू पनि यही काममा ब्यस्त छन् । जति बेला यो एवार्ड विजेताको घोषणा हुनेछ, त्यतिबेला ती खेलाडीले गर्वसँग भन्नेछन्— म नै यो वर्षको सर्वाधिक चर्चित र लोकप्रिय नेपाली खेलाडी हुँ ।