साप्ताहिक संवाददाता
गायक तथा संगीतकार राज खुम्बुले नयाँ गीती एल्बम लिएर दर्शक तथा श्रोतामाँझ आएका छन् । स्वर्गीय पत्नी अंशु राईको प्रथम स्मृती दिवसमा खुम्बुले ‘म त तिम्रो’ लोकार्पण गरेका हुन् । यो एल्बमका गीतमा राज खम्बुसँगै गायिका साधना सरगम र मेलिना राईको आवाज छ । एल्वममा छ वटा गीत समावेश गरिएको छ ।
अमेरिकाको स्प्रिङ्फिल्डमा आयोजित लोकार्पण कार्यक्रममा नेपाली संगीत क्षेत्रमा योगदान दिएका विशेष व्यक्तिहरुको उपस्थिती थियो । कार्यक्रममा चर्चित गायक रवीन शर्मा, गायिका सपना श्री र भूटानका नेपाली भाषी गायक प्रताप सुब्बाले साँगितिक प्रस्तुती समेत दिएका थिए ।
गायक खुम्बुकी पत्नी अंशु राईको गत बर्ष अल्पायुमै निधन भएको थियो । साना छोराछोरीलाई एक्लै हुर्काएका गायक खुम्बुले आफ्नो गायन यात्रा जारी रहने बताए । उनले यस अघि सन् २००८ मा ‘चिनो’ नामक एल्बम सार्वजनिक गरेका थिए ।