साप्ताहिक संवाददाता
एप्पलको आइफोन र सामसुङका महँगा ग्यालेक्सी सिरिज होइन, नेपाली बजारमा सामसुङका मध्यम स्तरका ग्यालेक्सी सिरिज तथा अन्य विभिन्न ब्रान्डका स्मार्टफोन लोकप्रिय छन् । मोबाइल हबका रूपमा परिचित काठमाडौंको न्युरोड र विभिन्न मल तथा अन्य स्थानका विक्रेताहरूको कुरा सुन्दा लाग्छ, स्मार्टफोनले बजारमा अन्य ब्रान्डले कब्जा जमाएका छन् ।
सामसुङको ग्यालेक्सी ए सिरिज र एम सिरिजका मोबाइल पछिल्लो समयमा धेरै बिक्री हुने मोबाइल अर्थात् स्मार्टफोनमा पर्छन् । ए सिरिज अन्तर्गत ए ७०, ए १०, ए २० आदि लोकप्रिय छन् । यी स्मार्टफोनको मूल्य क्रमशः ३३ हजार ४ सय ९०, ४७ हजार ९ सय ९०, १४ हजार १ सय ९० तथा २० हजार ४ सय ९० रुपैयाँ छ ।
त्यसैगरी एम सिरिजमा अहिले ग्यालेक्सी एम २० लोकप्रिय छ । ग्यालेक्सी एम २० मा ६ दशमलव ३ इन्चको फूल एचडी प्लस इनफिनिटी भी डिस्प्ले छ । यसमा १ दशमलव ८ गिगाहर्ज अक्टाकोर एक्जिनोस ७९०४ प्रोसेसर छ । यसले ड्युअल सिम सपोर्ट गर्छ । एम २० मा ड्युल रियर क्यामेरा तथा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
नेपाली बजारमा अहिले साओमीका स्मार्टफोन पनि लोकप्रिय छन् । साओमीको एमआई सिरिजको नोट ७ को मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ छ । त्यसैगरी हुवावेको वाई ७ प्रो तथा पी ३० लाइट पनि लोकप्रिय भएको विक्रेताहरूको भनाइ छ । यी स्मार्टफोनको मूल्य क्रमशः १८ हजार ५ सय तथा ३९ हजार ९ सय ९९ रुपैयाँ छ ।
ओप्पो पनि अर्को लोकप्रिय ब्रान्ड हो । ओप्पोका ए ५९, एफ ११ प्रो, एफ ११ आदि लोकप्रिय छन् । यी स्मार्टफोनको मूल्य क्रमशः १९ हजार ९ सय ९०, ४७ हजार ९ सय ९० तथा ३७ हजार ९ सय ९० रुपैयाँ छ । भिभो ब्रान्डका स्मार्टफोन भी ११ प्रो तथा भी १५ पनि धेरैको रोजाइमा पर्छन् । यी स्मार्टफोनको मूल्य क्रमशः ४९ हजार ४ सय ९० तथा ४१ हजार ९ सय ९० रुपैयाँ छ ।
मोबाइल बोक्ने संस्कृतिमा पनि विस्तारै परिवर्तन आइरहेको छ । एउटा ब्यक्तिले कति समयमा मोबाइल फेर्छ होला ? मोबाइल व्यवसायीहरूका अनुसार सामान्यतः मोबाइलप्रति अलि क्रेजी मानिसले ६ महिनामा र अन्यले एकदेखि डेढ वर्षमा मोबाइल फेर्छन् । विश्व बजारमा प्रचलित मोबाइलका ब्रान्डले नयाँ मोडल उतार्नासाथ नेपालमा त्यसको खोजी गर्नेहरू पनि बढिरहेका छन् ।
व्यवसायीहरूका अनुसार नेपालमा वार्षिक करिब २५ लाख थान मोबाइल बिक्री हुन्छन् । त्यस्तै व्यापारको आकारसमेत बढेर वार्षिक करिब १२ अर्ब रुपैयाँ पुगेको व्यवसायीहरू बताउँछन् । नेपाली मोबाइल बजार वार्षिक २० देखि २५ प्रतिशतले बढिरहेको छ । नेपाली बजारमा करिब ४० वटा ब्रान्डको उपस्थिति छ । तीमध्ये करिब एक दर्जन ब्रान्डको बजार राम्रो छ ।