साप्ताहिक संवाददाता
स्काउटले मानिसलाई मल्टिट्यालेन्ट बनाउँछ
प्राकृतिक विपत्ति आउँदा आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्ने कुरा स्काउटमा लागेपछि थाहा हुन्छ । विगतमा भएका भुकम्प, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपमा सबैभन्दा पहिले स्काउट नै पुगेको थियो । स्काउटले युवाहरूलाई कुलतमा फस्न नदिन, फसिसकेकाहरूलाई पनि सहि मार्गमा ल्याउन सहयोग गर्छ । युवालाई असल नागरिक बनाउने माध्यम हो स्काउट । अनुशासन कसरी पालना गर्ने, देश निर्माणमा कसरी लाग्ने स्काउटमार्फत सिक्न पाइन्छ । म सँग स्काउटमा लागेको २० वर्षभन्दा बढीको अनुभव छ । स्काउटमा लाग्नुअघि मलाई कसैले चिन्दैनथे । अहिले स्थानीय निकाय, विद्यालय, कलेज, जिल्ला हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छाप छोड्न सफल भएको छु । स्काउटले मानिसलाई बहुक्षमतावान बनाउँछ । हरेक क्रियाकलापमा संलग्न गराउँछ । आफ्नो क्षमता के हो ? चिनाएर अघि बढ्न प्रेरित गर्छ ।
कुशेश्वर राय, स्काउट मास्टर तथा रोभर लिडर
पहिले म डरपोक थिएँ
म २२ वर्षकीे युवा हुँ । हाल बीबीएस दोस्रो वर्षमा अध्ययनरत छु । मैले आफ्नो अध्ययन तथा स्काउटिङलाई सगै अघि बढाइरहेकी छु । म स्काउटमा लागेको १४ वर्ष भयो । पाँच कक्षा अध्ययनरत छँदै म स्काउटमा लागेकी थिएँ । स्काउटमा लाग्नुअघि म नबोल्ने घोसे थिए । बुबा स्काउटर भएकाले आमाको करले स्काउटमा लागें । स्काउटमा लागेपछि आत्मबल बढ्यो । स्काउट मेरो ‘स्ट्रेन्थ’ हो । स्काउटले अनुशासन, व्यक्तित्व विकास जस्ता कुरा सिकाउँछ । अहिले केही युवा क्याम्पिङ, हाइकिङहरूका लागि मात्र स्काउटमा आएको देख्दा दुःख लाग्छ । स्काउट क्याम्पिङ र हाइकिङमा माक्र सिमित छैन । बाहिर सेवा दिने कार्यत्रम तथा विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउनुपर्छ । मेरो त रेन्जरमै बसेर आफूजस्ता साथीहरूलाई तालिम दिने सेयर गर्ने नयाँलाई प्रोत्साहित गर्ने योजना छ । स्काउटिङ बुझिसकेपछि मात्र तपाईं हाम्रो सोच बदलिन्छ । भुइँचालो पछि सिन्धुपाल्चोक पुग्दा मलाई मर्छु कि भन्ने लागेन, सेवा गर्नुपर्छ भन्ने मात्र लाग्यो ।
मेलिसा काफ्ले, स्काउट रेन्जर, धरान
स्काउटकै कारण बोल्न सकेको छु
म २१ वर्षकी भएँ । स्काउटमा लागेको ४ वर्ष भयो । म उत्साहित छु । अहिले म स्काउटका बारेमा विद्यालयमा सिकाउँछु । स्काउटमा लागेर कति कुरा सिक्न पाएँ, कति कुरा सिकाउन पाएँ, यसैमा खुशी लाग्छ । स्काउटमा आउने नयाँ युवायुवतीहरूसँग आफ्नो अनुभव सेयर गरेर उनीहरूको डर हटाउँछु । स्काउटमा तीनवटा प्रतिज्ञा हुन्छ त्यसलाई अनिवार्य फलो गर्नुपर्छ भनेर उनीहरूलाई उत्साहित गर्छु । देशलाई माया गर्न तथा समाजको सेवा गर्न स्काउटमा लाग्नुपर्छ । सधैं स्काउटमा क्रियाशील रहने मेरो सोच छ । स्काउटले कामदेखि सबै कुरामा फूर्तिलो बन्न सिकाउँछ । कहिले रमाइलो हुन्छ, कहिले दुःख पनि हुन्छ । कहिलेकाहीँ भात र खुर्सानी मात्र खानुपर्छ । खाना नपुग्दा भोकै बस्नुपर्छ । यद्यपि स्काउटकै कारण मैले बोल्न सकेको छु, जीवन बाँच्ने कला सिकेकी छु ।
दीपा श्रेष्ठ, टुप्र मास्टर,काठमाडौं
बाँचुन्जेल स्काउटमा लाग्ने हो
म विगत २२ वर्षदेखि स्काउटमा सक्रिय छु । म मोरङ जिल्लाको पहिलो रोभर पनि हुँ । रोभर, स्काउटर हुँदै अहिले असिस्टेन्ट लिडर हुन काम गरिरहेको छु । स्काउटिङमार्फत नेपालमा आएका प्राकृतिक विपत्तिमा आफूलाई बचाउँदै व्यक्ति, बिरुवा, प्राणी समाजमा रहेका सम्पूर्ण चिज वस्तुलाई सेवा प्रवाह गर्नु नै हाम्रो काम हो । विश्व स्काउटको मान्यताअनुसार स्काउटमा विशेषगरी युवाहरूको ठूलो संलग्नता छ । हामीले प्राप्त गरेको तालिमले हामीलाई भिजेको दाउरामा भात पकाएर कसरी खान सक्छौं, भाडाकुडा नहुँदा कसरी पकाएर खाने, कहीं बाढी आयो भने हामीलाई दिइएको डोरीको माध्यमबाट कसरी आफू बच्ने र अरुलाई बचाउने भन्ने कुरा सिकाएको छ । स्काउटमा लाग्नु पनि नसा हुँदो रहेछ । समाजलाई असल किसिमले रुपान्तरण गर्न स्काउट शिक्षाले दिने व्यवहारिक ज्ञान निकै महत्त्वपूर्ण छ ।
नवलप्रसाद उपाध्याय, असिस्टेन्ट लिडर,विराटनगर स्काउट
एक घर एक स्काउटको स्पिडमा काम भैरहेको छ
म स्काउटमा लागेको ३३–३४ वर्ष भयो । सुरुमा स्काउटमा विद्यार्थीका रूपमा छिरियो । अहिले व्यवस्थापन टिममा बसेर काम गरिरहेको छु । त्यतिबेला सिक्ने कुरा हुन्थ्यो अहिले सिकाउन लागिएको छ । बिचमा नेपालमा स्काउटिङ मुभमेन्ट अलि कमजोर थियो । अहिले नयाँ संयोजक आएपछि कामको चाप बढेको छ । एक घर एक स्काउटको अवधारणामा काम भैरहेको छ । आत्मबल, आत्मविश्वास, आत्मरक्षा, वृत्ति विकाससहित मानिसमा चाहिने सबै चिजको विकासका लागि स्काउटमा लाग्नुपर्छ । स्काउटले अनुशासन सिकाउँछ, साहसिक कार्य गर्न सिकाउँछ । यो एउटा सामाजिक संस्था हो । यसले समाजमा विकृति फैलन रोक्ने मात्र होइन समाजमा परेका दुःख सुःखमा साथसमेत दिन्छ ।
किरण गिरी, सदस्य, स्काउट कार्यसमिति, मोरङ
राम्रोसँग बोल्न सक्दिनथें
म २०६९ सालमा स्काउटमा प्रवेश गरेको हुँ । स्काउट भनेको प्रकोप व्यवस्थापनका लागि दोस्रो तहको सेनाजस्तै हो । यो भन्दा गर्व लाग्छ । आर्मीले जान्ने विभिन्न किसिमका साहसिक गतिविधि हामी पनि गर्छौं । प्रारम्भमा स्काउटका दाइहरू फ्रन्ट लाइनमा बसेको देख्दा मलाई पनि त्यहाँ बसूँ–बसूँ लाग्थ्यो । केही स्टेप अगाडि गएर लिडरसिप तालिम लिन पाइने देखेर म विद्यालयदेखि नै उत्साहित थिएँ । अहिले २२ वर्षको भएँ । भद्रकाली मल्टिपल क्याम्पसमा स्नातक तह अध्ययनरत छ् । मिलाएर स्काउटिङलाई पनि अघि बढाइरहेको छु । स्काउटमा लाग्नुअघि म राम्रोसँग बोल्न सक्दिनथें । स्काउटमा लागेपछि अहिले स्टेज पर्फमेन्स देखि मास हेन्डल सजिलै गर्न सक्ने भएको छु ।
सागर सापकोटा, स्काउट रोभर, मादी, कास्की