साप्ताहिक संवाददाता
एकै हप्ताको अन्तरमा दुई पटक सगरमाथामा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरितासँग अर्का युवक पनि थिए । उक्त कीर्तिमानपछि कामीरिताको चर्चा भयो, गत जेठ १ र ९ मा कामीरितासँगै एक सातामा २ पटक सगरमाथा आरोहण गर्ने संखुवासभा मकालु –२ का २७ वर्षीय मिङतेम्वा (माइकल) शेर्पाको भने कसैले चर्चा गरेन ।
विश्व कीर्तिमानीसमेत भएकाले कामीरिताको विश्वभर चर्चा भयो । यद्यपि अर्का आरोही माइकलको भने कतै चर्चा सुनिएन । एक साताकै अन्तरमा दुई पटक सगरमाथाको चुचुरोमा पुग्नु चानचुने कुरा थिएन । साहसी माइकलको चर्चा विश्व कीर्तिमानी कामीरिताका कारण ओझेलमा परेको थियो ।
माइकलले पहिलो पटक कामीरितासँगै जेठ १ गते सगरमाथा आरोहण गरेका थिए । उनले पुनः जेठ ९ मा दोस्रो पटक सगरमाथा आरोहण गरे । उनीहरूसँगै करिब ६ सय आरोहीले सगरमाथा चढेपनि दोहोर्याएर चुचुरोमा पुग्ने यी दुई मात्र हुन् ।
संखुवासभाको मकालु –२ का माइकल सुरूमा कामीरितासँगै चुचुरोमा पुगेर फर्किएका थिए । कामीरिताले दोस्रो पटक आरोहण गर्न आधारशिविरबाट बाटो लागेपछि माइकल पनि पुनः आरोहणका लागि चुचुरोतर्फ गएको आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक टासी शेर्पाले बताए ।
२५ वर्षीय माइकललाई कामीरिताले अव्वल गाइडका रुपमा चिनेको बताए । ‘हिमालमा जति माथि गयो त्यतिनै बलियो हुने अद्भुत क्षमता छ उनमा । उनी एक सक्षम आरोही गाइड हुन्’, कामरिताले भने । जेठ १ मा २३ औं पटक सगरमाथा आरोहण गरेका कामीरिताले पुनः जेठ ९ मा सगरमाथा आरोहण गरेर सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।
माइकलले हालसम्म ८ हजार मिटरभन्दा माथिका हिमाल १३ पटक आरोहण गरी सकेका छन् । २ पटक सगरमाथा आरोहण गरेका उनले कञ्चनजंगा ५ पटक, मनास्लु २ पटक तथा अन्नपूर्ण, छ्योयू, गसेरब्रुम पहिलो र दोस्रो हिमाल १/१ पटक आरोहण गरिसकेका छन् ।
आरोहण सफल गरी माइकलको टोली काठमाडौं फर्किसकेको छ । आरोहणमा रमाउने माइकल हिमालको संरक्षणमा पनि उत्तिकै संवेदनशील छन् । उनी धेरै हिमालहरू फोहोरले भरिएकोमा दुःखी छन् । साप्ताहिकसँग कुराकानी गर्ने क्रममा उनले हिमालमा देखिएको फोहोर व्यवस्थापन गर्न नसकेकोमा पीडा बोध भएको बताए । कतिपय आरोहीले आफूले गरेको फोहर आफैं फिर्ता ल्याए पनि खर्च जोगाउन शवहरू अलपत्र छोडेर हिँडने गरेको गुनासो गरे ।
सरकारका सबै उच्चअधिकारी नाम्चेमा पुगेर भाषण गर्दै हिमाल सफाइ नहुने भन्दै उनले आगामी दिनमा योजनाबद्ध सफाइ गर्नुपर्ने सुझाव दिए । ‘विश्वमाझ सगरमाथालगायतका हिमाल फोहोर भएको गलत सन्देश गएको छ, आरोही गाइडहरूलाई हिमाल सफाइमा परिचालन नगरे सफाइ हुनेमा शंका छ’, उनले भने ।