मासु भनेपछि जो पनि हुरुक्कै हुन्छन् । तर, नेपालमा केहि कलाकारहरु छन्, जसले शाकाहाकाहारी जिवन विताइरहेका छन् अर्थात मासु जन्य परिकार खाँदैनन् ।
अभिनेता प्रदीप खड्का शाकाहारी हुन् । प्रेम गीतबाट चर्चामा आएका उनले मासुबाट बनेका कुनैपनि परिकार खाँदैनन् । झण्डैं १० बर्षदेखि मासु नछोएका उनले चलचित्रको छायाँकनका बेलामा शारिरिक अभ्यास गर्नुपर्ने भएकाले उक्त समयमा मात्रै अण्डा खाने गरेको बताए । उनले भने, ‘पहिले मासु खाएपछि धेरै बर्ष छोडेको थिएँ, अहिले नियमित रुपमा जिममा जानुपर्ने भएकाले अण्डा खाने गरेको हुँ ।’ उनलाई मासु भनेपछि घिन लाग्दैन, तर मुखले माग्दैन । निरन्तर मासुजन्य परिकार खाएपनि १० बर्षअघि एकाएक उनि शाकाहारी भएका हुन् । स्वास्थ्यका हिसाबले समेत राम्रो हुने भएकाले आफु शाकाहारी भएको बताउने प्रदीप मासु छोड्नुको पछि अन्य कारण नभएको बताए ।
अर्का अभिनेता अनमोल केसी पनि प्रदीप जस्तै शाकाहारी हुन् । तर, प्रदीप भन्दा अनमोल अझ बढि कडा छन् । निकै साधारण स्वभावका अनमोल ड्रिक्स र मासुका परिकारबाट टाढै बस्छन् । भगवान कृष्णका भक्त अनमोल सानैदेखि माछा–मासुवाट टाढा रहेको बताउँछन् । अनमोल थप्छन्, ‘अहिले बानी भैसक्यो, मासु नखाएपनि सहज र स्वस्थ जिवन विताउन सकिन्छ, सकेसम्म मासु नखाएकै राम्रो ।’
अभिनेत्री दिपाश्री निरौलाले मासुजन्य परिकार नखाएको बर्षौ भयो । उनको जिव्रोले २०–२२ बर्षदेखि मासुको स्वाद थाहा पाएको छैन । एउटा ध्यान केन्द्रमा पुगेपछि मासु छोडेकी हुन्, दिपाश्रीले । त्यसो त दिपालाई ध्यान गरेर फर्किएपछि विराटनगरमा बुबाले खसीको मासु खुवाए, तर वान्ता भयो । त्यसपछि उनलाई आजका दिनसम्म मासुप्रति कहिल्यै मोह गएन । अचम्मको कुरा के हो भने दिपाले ध्यानमा जानुअघिसम्म मासु भनेपछि हुरुक्कै हुन्थिन् । उनले अहिले पनिर चिल्ली, पनिर ग्रेभी, पनिर टिक्का लगायत आईटमहरु एकदमै मन पराउँछिन् । सागपात र फलफूलमा पनि जोड दिन्छिन् ।
अभिनेता निखिल उप्रेती मासु भनेपछि हुरुक्कै हुन्थे दिपाश्री जस्तै । तर, अहिले उनले मासु भनेपछि टाढा बस्छन् । उनले पनि ध्यानवाट फर्किएपछि मासु खान छोडेका हुन् ।
हास्यकलाकार दीपकराज गिरी पनि आजभोली मासु भनेपछि टाढै बस्छन् । लामो समयदेखि मासु छोडेकी दिपाश्रीसँग संगत गर्न थालेपछि मासु खानै छोडिदिए उनले । तर, उनको खाजामा अण्डा भने छुट्दैन । स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन थालेपछि उनले मासु छोड्नुपर्छ भन्ने सोच्न थालेका थिए । अहिले सुटिङ सेटमा होस्, घरमा – भेज खाजा चाहिन्छ । उनले नजिकका साथिभाइहरुलाई माछा मासुको सट्टा शाकाहारी खानालाई प्राथमिकता दिन सुझाव दिन्छन् ।
अभिनेत्री निशा अधिकारी पनि पूर्णरुपमा शाकाहारी हुन् । उनी माछा मासुबाट टाढै बस्छिन् । सागपात भनेपछि हुरुक्कै हुने निशालाई रायोको साग निकै मन पर्छ । केहि बर्षदेखि नेपाली चलचित्रमा सक्रिय नभएकी निशाको पछिल्लो चलचित्र कुम्भ करण केहि समय अघि प्रदर्शन भएको थियो ।
‘प्रेम गीत–२’ बाट डेब्यु गरेकी अभिनेत्री अश्लेशा ठकुरी सुन्दरता र स्वास्थ्यलाई ध्यान दिएर शाकाहारी बनेकी हुन् । केहि समय मासु खाएपनि पछिल्लो समय उनले मासु छोडेकी हुन् । उनले अहिले राम्रोसँग बुझेकी छन्, ‘मासु छोड्न सकियो भने स्वास्थ्य धेरै राम्रो हुन्छ ।’ प्रेम गीत २ पछि उनले चलचित्र मेरी मामुमा काम गरिन् । अहिले उनि खाली छन् ।
पछिल्लो समय चलचित्र उद्योगमा प्रवेश गरेकी झरना थापाकी छोरी सुहाना थापा समेत माछा–मासु खादिँनन् । भगवान श्रीकृष्णकी भक्त सुहानाका बुबा–आमा भने मांसाहारी हुन् ।
बलिउडमा को को ?
बलिउडमा पनि पछिल्लो समय मासु छोड्ने कलाकारहरु बढिरहेका छन् । केहि समय अघि जनावरको अधिकारका लागि लड्दै आएको संस्था ‘पेटा’ ले मासु नखाने कलाकारहरुको सुची तयार पारेको थियो । पेटाले तयार पारेको कलाकारहरुको घरमा कहिल्यै मासु पाक्दैन ।
बलिउड महानायक अमिताभ बच्चनले माछा–मासु खाँदैनन् । ७५ बर्षको उमेरमा पनि आफु तन्दुरुस्त हुनुको कारण पनि शाकाहारी भोजन हो भन्छन्, अमिताभ । उनलाई भिँडीको तरकारी सबैभन्दा बढी मन पर्छ । पालक पनिर पनि उनको मनपर्ने परिकारमा पर्छ । अभिनेता शाहिद कपुर भेजिटेरियन हुन् ।
मासुको परिकार नरुचाउने उनले अभिनेत्री करिना कपुरसँग अफेयरमा रहेका बेला करिनालाई समेत शाकाहारी बनाएका थिए । करिना स्वयंले पनि शाहिदकै कारण आफु भेज बनेको स्वीकार्दै आएकी छिन् । भेजिटेरियनको सूचीमा पर्ने अर्की कलाकार हुन् मल्लिका शेरावत । उनले शाकाहारी भोजनकै कारण आफ्नो सुन्दरतामा कुमै कमि नआएको बताउँछिन् । नेहा धुपिया पनि शाकाहारी हुन् ।
कतिसम्म भने पेटाने उनलाई केहि बर्षअघि कामुक भेजिटेरियन युवतीको उपाधी नै दिएको थियो । अभिनेत्री विद्या वालन पनि भेज कलाकार हुन् । उनको घरमा मासु समेत पाक्दैन । अभिनेत्री हेमा मालिनीलाई समेत माछा मासुको स्वाद थाहा छैन ।
अभिनेत्री अनुष्का शर्मालाई मन पर्ने पनीर र हरियो सागसब्जी हो । उनले समेत माछा मासु भनेपछि टाढै बस्ने गरेको छन् । उनी दैनिक प्रोटिन सेक पिउन मन पराउँछिन् । ज्याकलिन फर्नान्डिज ओट्स र ब्राउन राइस मन पराउँछिन् । तिलको अचार, हरियो सलाद, विभिन्न किसिमका सुप पनि ज्याकलिनको रोजाइमा पर्छ । कंगना रनावत पनि शाकाहारी स्टार्समै पर्छिन् । कंगना पुलाउको सौखिन छिन् । ग्रिल्ड भेजिटेबल र स्यान्डविच पनि उनले रुचाउने परिकार हो । कंगनालाई चाट निकै मन पर्छ । सोनम कपुर पनि पालक, ब्रोकाउली, एबोकाडो र तन्दुरी निकै मन पर्छ । नरिबलको पानी र दही भए उनलाई केहि चाहिँदैन ।