साप्ताहिक संवाददाता
विश्वकप क्रिकेट सुरु हुनुभन्दा अघिदेखि नै यसपटक कसले जित्छ भन्ने लख काट्न सबैलाई हतार छ । यो कुराको भविष्यवाणी क्रिकेटका पण्डितहरूले त हत्तपत्त गर्न नसक्ने अवस्थामा अरू खेलका जानकारदेखि खेलाडीसम्म भविष्यवेत्ता भएर निस्कन थालेका छन् ।
व्यवशायिक बक्सिङको क्षेत्रमा ख्याति कमाएका पाकिस्तानी मूलका बेलायती बक्सर आमिर खानले पनि यसपटकको विश्वकप कसले जित्छ भनेर अनुमान गर्न लगाउँदा उनको जिब्रो चिप्लियो र अन्ट सन्ट उत्तर आयो । उनले पाकिस्तानले अरूले जस्तै विश्वकप जित्ने सम्भावना उत्तिकै छ, तर पाकिस्तानले विश्वकप क्रिकेट जित्ने कुरा म्याच फिक्सिङमा निर्भर गर्छ भने ।
उनले त्यसो भनेलगत्तै आफूले गलत बोलेको महसुस गर्दै आफूले खेलको रणनीतिअनुसार योजना बनाएर खेले पाकिस्तानले जित निकाल्न सक्छ भनेर कुरा सच्याए । खानको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।