साप्ताहिक संवाददाता
साहित्य, संगीत एवं कला सिर्जनामा अग्रणी पूर्वका जिल्लामा साहित्यिक एवं सांस्कृतिक गतिविधि उल्लेख्य रूपमा बढेका छन् । यहाँ विभिन्न सन्दर्भहरूमा साहित्यिक रचना प्रस्तुतिदेखि प्रतियोगितात्मक कविता अनि कला र संगीतसँग सम्बन्धित कार्यक्रमहरू पनि भैरहेका छन् ।
हालै इलामको देउमाई नगरपालिकास्थित मंगलबारेमा चर्चित साहित्यकारहरू भेला भएका थिए । साहित्य पर्यटन महोत्सवका क्रममा फरक ढंगले सञ्चालन गरिएको ऊक्त कार्यत्रममा साहित्य सिर्जनाको आयाम तथा नेपाली साहित्यको वर्तमान अवस्था एवं साहित्यमा स्थानीयताका सम्बन्धमा खुला बहस चलेको थियो ।
कान्तिपुर दैनिकका प्रधान सम्पादक तथा लेखक नारायण वाग्ले एवं दामिनी भीरका लेखक राजेन्द्र मुकारुङ साहित्य किन र कसरी लेख्ने भन्ने बहसमा सहभागी भए । उक्त बहस पाठकलाई केन्द्रबिन्दुमा राखेर लेखनको विषयवस्तु छनौट गरिनुपर्ने विषयमा केन्द्रित थियो ।
प्राध्यापक डा. अभि सुवेदीले राजधानी तथा मोफसलको साहित्यका सम्बन्धमा चर्चा गर्दै काठमाडौं बसेर सबै कुराको नेतृत्व गर्दा असन्तुष्टि बढेको बताएका थिए । सुदूरपूर्वको इलाममा यस्तो खालको बहस हुनुबाट केन्द्रीकृत मानसिकता भत्कँदै गएको बुझ्न सकिने उनको भनाइ थियो । सुवेदीले साहित्यमा राजधानीको मानसिकता राख्ने सानो विचार तोड्नुपर्ने धारणा व्यक्त गरे । साहित्यमा राजधानी र मोफसल नहुने भन्दै डा. सुवेदीले जहाँ बसेर सिर्जना गरिन्छ केन्द्र त्यहीँ हुने जिकिर गरे ।
पत्रकार महासंघका पूर्वसभापति एवं सर्जक विष्णु निष्ठुरी, साहित्यकारहरू हाङयुग अज्ञात, मुनाराज शेर्मा तथा राज माङलाकले पनि साहित्यका विभिन्न पाटाहरूमा बहस गरे । उक्त अवसरमा कतिपय सर्जकले स्थानीय पहिचानबिनाको साहित्य अधुरो रहने धारणा व्यक्त गरेका थिए ।
महोत्सवमा स्थानीय भाषा एवं साहित्य, समकालीन साहित्य, सार्वजनिक जीवनमा महिलालाई कति सकस, कति सुविधाका साथै युवा अवसर र नेतृत्व, साहित्य र राजनीतिका विषयमा छलफल केन्द्रित थियो । ऊक्त अवसरमा साहित्यिक मात्र होइन, राजनीतिक व्यत्तित्वहरू पनि सहभागी थिए । चर्चित युवा नेताहरू नेकपाका सांसद योगेश भट्टराई तथा कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल पनि बहसमा सहभागी भए ।
महोत्सवको शृंखला
मोरङको बेलबारीमा गणतन्त्र दिवसको अवसर पारेर जेठको दोस्रो साता कला तथा साहित्यिक महोत्सव सम्पन्न गरिएको थियो जहाँ चिक्रकला र साहित्यका सर्जकहरूले अन्तर्त्रिया गरे । त्यहाँ नयाँ प्रतिभाहरूका सिर्जना सुनिए । कला र साहित्यसँग सम्बन्धित यस्तो गतिविधि निरन्तर सञ्चालन गर्ने योजना बनाएको आयोजक संस्था बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदीको भनाइ छ ।
यसैगरी पथरी शनिश्चरे वृहत् कला साहित्य उत्सव जेठ १८ र १९ गते सम्पन्न भयो । स्थानीय कला साहित्य प्रवर्द्धन समितिले आयोजना गरेको उक्त उत्सवमा पूर्वका चर्चित सर्जकहरू भेला भएका थिए ।
भोजपुरको हतुवागढीमा हतुवागढी कला साहित्य महोत्सव आयोजित हुँदैछ । महोत्सवमा खुला कविता प्रतियोगितासमेत सञ्चालन गरिंदैछ । यस्तै चर्चित सर्जकहरूको उपस्थितिमा झापाको काँकडभिट्टामा केही अघि साहित्यिक महोत्सव सम्पन्न गरिएको थियो ।
पुरस्कार एवं प्रोत्साहन
साहित्य, कला तथा सिर्जनाका क्षेक्रमा योगदान दिने व्यत्तित्वहरूलाई पुरस्कृत गर्ने क्रम पनि बढेको छ । विभिन्न सर्जकका नाममा स्थापित प्रतिष्ठान र संस्थाहरूले यस्तो पुरस्कार दिँदै आएका छन् ।
यसै साता विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले २०७५ सालको भाषा–साहित्य पुरस्कार लक्ष्मी उप्रेतीलाई प्रदान गर्यो भने नरेन्द्र चापागाईं प्रतिभा पुरस्कार कवि उमेश लुइँटेललाई प्रदान गरिएको छ ।
यसैगरी दाहाल प्रतिष्ठानले स्वर्गीय विद्यादेवी बाबुराम सरस्वती दाहाल सेवा कोषले साहित्यलगायत विभिन्न विधामा योगदान पुर्याएका आठ जना व्यक्तित्वलाई पुरस्कृत गरेको छ । कोषले साहित्यतर्फ सविता गौतम दाहाल, पत्रकारितातर्फ शंकर खरेल, समाजसेवातर्फ गीता घिमिरे, गोविन्द पोखरेल र चेतनाथ पोखरेल, बुद्धि मगर, मनोज भट्टराई, निश्चल दाहाल तथा उत्सव दाहाललाई पुरस्कृत गरेको हो ।
यस्तै संस्कृत भाषा प्रवर्द्धनमा योगदान पुर्याएकोमा पाणिनी संस्कृत विद्यालय, पाञ्चाली संस्कृति विद्यालय, राधारमण संस्कृत विद्यालय तथा अम्बेवर जनता माध्यमिक विद्यालयका एक–एकजना विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।
प्रतिभा पुरस्कार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएका विभिन्न सात विधाका पुरस्कारको घोषणा गरिएको छ जसअनुसार नेपाली भाषा–साहित्यमा लामो समयदेखि योगदान दिएकामा कवि समालोचक डा. शैलेन्दुप्रकाश नेपाल प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी लीलानाथ विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहाललाई, ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार साहित्यकार पुण्यप्रसाद खरेललाई तथा दिनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार कवि कृष्ण प्रधानलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।
यता विराटलक्ष्मी प्रतिभा पुरस्कार कवि विष्णु भण्डारीलाई तथा षडानन्द प्रतिभा पुरस्कार कविद्वय निर्मला कोइराला र मन्जु श्रेष्ठलाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका सहसचिव दिनेशराज सुवेदी दिङलालीले बताए । यो पुरस्कार असार २९ गते भानुजयन्तीका अवसरमा हस्तान्तरण गरिनेछ ।