साप्ताहिक संवाददाता
जी टिभीबाट प्रसारित गायनमा आधारित रियालिटी शो ‘सारेगमप लिटिल चाम्स–ध२०१९’ मा नेपालका दुई बालप्रतिभा प्रितम आचार्य तथा आयुष केसीले तेस्रो तथा चौथो स्थान हासिल गर्न सफल भए । गत आइतबार सम्पन्न प्रतियोगिताको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीसहित प्रितम र आयुषले उत्कृष्ट प्रस्तुति दिँदै सेकेन्ड तथा थर्ड रनर्सअपको उपाधि जितेका हुन् । कार्यक्रमबाट फर्किएपछि आयुषले साप्ताहिकमार्फत आफ्नो धारणा यसरी सार्वजनिक गरेका छन् ।
६ महिनापछि नेपाल आउँदा कस्तो लागिरहेको छ ?
मलाई त वर्षौंपछि आफ्नो देश फर्किए जस्तो लागिरहेको छ । कस्तो रमाइलो भैरहेको छ, खुसी छु ।
मुम्बईको ६ महिने बसाइ कस्तो रह्यो ?
एकदमै राम्रो रह्यो । मैले सँगीतमा धेरै भन्दा धेरै कुरा सिक्ने मौका पाएँ । मेहनत पनि उत्तिकै गर्नुपर्यो । बिहान ९ बजेदेखि राति ३ बजेसम्म पनि हामी सँगीत नै सिकिरहेका हुन्थ्यौं । रिहर्लसल गरिरहेका हुन्थ्यौं, त्यही मेहनतले आज सकारात्मक परिणाम दिएको छ । लाखौंले भाग लिएको प्रतियोगितामा चौथो स्थानमा आउन सफल भएको छु । त्यसैले देशको नाम राख्न सफल भएको छु जस्तो लागेको छ ।
सारेगमप लिटिल च्याम्सको समग्र अनुभव कस्तो रह्यो ?
अत्यन्त सकारात्मक छ । संगीतमा हामीले सिक्नुपर्ने कुरा अझै धेरै रहेछ भन्ने पनि बुझ्न सकें । सारेगमप लिटिल च्याम्सको विशाल प्लेटफर्ममा उभिएर अन्तिम चरणसम्म पुग्छु भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।
प्रतियोगिताको पहिलो चरणदेखि ग्रान्ड फिनालेसम्मको यात्रालाई छोटकरीमा भनिदिनु न ?
नेपालबाट भिडियो क्लिप्सहरू पठाएपछि म र प्रितम आचार्यसहित १० जना दिल्ली अडिसनका लागि गएका थियौं । उक्त अडिसनबाट म र प्रितम मात्र मुम्बई अडिसनका लागि छनौट भयौं । पहिले त मुम्बईका लागि छनौट हुन सकिन्छ कि सकिंदैन भन्ने कुराले डर लागेको थियो । सेलेक्ट भएर मुम्बई पुगेपछि सिल्भर मेडल, गोल्ड मेडल जित्दै हामी टप १५ मा पुग्यौं । त्यहाँसम्म पुग्नुलाई नै हामीले आफ्नो सफलता मानेका थियौं । यद्यपि मुम्बई पुगेदेखि नै म बिरामी भएँ । मेरो गला खराब भएका कारण खुलेर गाउन सकिन । औषधि खाँदै, लो स्केलमा गीत गाउँदै अघि बढिरहें । फाइनलसम्म पुग्छु भन्ने त सोचेकै थिइनँ ।
गला बसेका बेला गाउने हौसला कसरी पाउनुभयो ?
घाँटीमा समस्या भएर गला बसेपछि गीत गाउन अप्ठ्यारो भयो । पहिलेको जस्तो रेञ्जमा गाउन नसक्ने भएँ । तै पनि मसँगै भएकी मेरी ममीले मलाई हौसला दिइरहनुभयो । तिमी गाउन सक्छौं भनेर हौसाइरहनुभयो । सेमिफाइनल चरणमा गला बसेकै अवस्थामा मैले ‘तुम मिले दिल खिले...’ गाएको थिएँ । मेरो उक्त प्रस्तुति सिजनकै उत्कृष्ट प्रस्तुति बन्न सफल भयो । उक्त गीत मैले आँखा चिम्लिएर गाएको थिएँ । आँखा खोल्दा मेरो वरिपरि जुरी उभिनुभएको रहेछ । मलाई जुरुक्कै बोक्नुभयो । मेरो गायनको प्रशंसा गर्नुभयो । म खुसीले रोएं । मेरी ममी त अझ बढी रुनुभयो । त्यही प्रस्तुतिले मलाई फाइनलसम्म पुर्यायो ।
फाइनलको प्रस्तुति कस्तो रह्यो ?
फाइनलका लागि हामीले विशेष तयारी गरेका थियौं । फाइनलमा पनि मैले तुम मिले..नै गाउनुपर्यो । त्यसक्रममा उक्त गीतका वास्तविक गायक कुमार सानु पनि समारोहमै हुनुहुन्थ्यो । मैले गाउन थालेपछि उहाँ पनि स्टेजमा उक्लिनुभयो । हामी दुबैले उक्त गीत गाउँदाको क्षण मेरा लागि अविस्मरणीय रह्यो । त्यो नै मेरा लागि जीत हो भन्ने सोचें । गायिका कविता कृष्णमूर्तिले त उभिएरै सम्मान प्रकट गर्नु भयो ।
टप सिक्समा आफ्नो नाम घोषणा हुँदा कस्तो लाग्यो ?
टप सिक्सका लागि मेरो नाम सबैभन्दा अन्तिममा घोषणा गरिएको थियो । पाँच जनाको नाम घोषणा भैसकेको थियो । म सहित बाँकी चारमध्ये एक जनाले मात्र टप सिक्समा स्थान पाउने प्रावधान थियो । म डरले काँपिरहेको थिएँ । जज अमाल मल्लिकले टप सिक्समा मेरो नाम घोषणा गर्दा म अति नै खुसी भएँ । एकदमै एक्साइटेड भएँ । मेरो नाम घोषणा भए लगत्तै बाँकी फाइनलिस्टले मलाई अँगालो मार्नुभयो, बधाई दिनुभयो । त्यसपछि मैले फाइनलको तयारी थालें ।
निर्णायकहरूको प्रतिक्रिया कस्तो पाउनुभयो ?
कार्यक्रमका तीन मुख्य निर्णायकले मलाई सधैं ‘तिम्रो कोमलता (मासुमियत) तथा इनोसेन्ट (भोलापन) लाई सधैंभरी कायम राख्नु, कहिले घमन्डी नहुनु’ भनिरहनुभयो । उदितनारायण झाले ‘शिरमा नेपाली टोपी कहिले नछाड्न’ आग्रह गर्नुभयो । सलमान खानले मेरो र उहाँको आँखा ठ्याक्कै मिलेको बताउनु भयो । कुमार सानुले ‘तिमीले जुन फिलले गायौं, त्यो फिलिङमा गाउने खुबी कसैमा छैन’ भनेर प्रशंसा गर्नु भयो । कविता कृष्णमूर्तिले मेरो गायनलाई भगवानको उपहार भन्नुभयो । यी सबै प्रतिक्रियाले ममा उत्साह जगाएको छ ।
अबको यात्रा कसरी अघि बढ्छ ?
अबको मेरो यात्रा सँगीत र अध्ययनको वरिपरी नै केन्द्रित हुनेछ । यो प्रतियोगिताले गर्दा पढाइ छुटेको छ । त्यसलाई रिकभर गर्नु पर्नेछ । कक्षा ८ को फर्स्ट टर्म आइसक्यो, अब परीक्षाको तयारी गर्नुपर्नेछ । अब मेरो स्वर परिवर्तन हुने उमेर भयो । त्यसैले अब म रियाजभन्दा पनि बाद्यवादन बजाएर अभ्यास गर्नेछु । मलाई पियानो, डबली, तबला आदि बाद्ययन्त्र बजाउन सिक्नु छ ।
आफ्ना प्रशंसकहरूलाई के भन्न चाहनुहुन्छ ?
सर्वप्रथम सुरशाला सँगीत एकेडेमी तथा मेरा गुरु अमृत क्षेत्रीलाई विशेष धन्यवाद दिन चाहन्छु । उहाँकै मेहनतले हामी त्यो प्लेटफर्म सम्म पुग्न सफल भएका हौं । सम्पूर्ण नेपाली दर्शक तथा श्रोताहरूलाई हृदयबाटै धन्यवाद । भविष्यमा पनि मलाई माया र सद्भाव दिनुहोला । ममा भएका कमी–कमजोरीहरू औंल्याइदिन आग्रह गर्छु ।
छुट्याउने कुरा ठीक लागेन
रीता केसी, आमा
छोरा (आयुष) को सफलताप्रति तपाईंको भनाइ के छ ?
हामी अत्यन्त खुसी छौं । आयुषमात्र होइन प्रितमले समेत पाएको सफलताप्रति हामी आमा–बुवामात्र होइन, सम्पूर्ण नेपालले नै गौरव गरेको हुनुपर्छ ।
६ महिनाको मुम्बई बसाइमा आयुषको प्रस्तुतिलाई कसरी नियाल्नुभयो ?
मुम्बई बसाइका क्रममा आयुषले धेरैभन्दा धेरै कुरा सिक्ने मौका पाएको छ । दिनरात संगीतको अभ्यासमा व्यस्त भएर आफुलाई निखार्ने मौका पाएको छ । सँगसँगै मुम्बई पुगेदेखि नै बिरामी भएर उसलाई केही गाह्रो समेत भएको थियो ।
तपाईंले कसरी हौसला दिनुहुन्थ्यो ?
कति पटक घाँटि दुखेर गीत गाउन नसक्दा मसँग आएर रुन्थ्यो । मचाहिं तिमीले गाउन सक्छौं भनेर हौसला दिइरहन्थें । गला बसेका बेला पनि गीत गाउन अघि बढ्न मैले दिएको हौसलाले उसलाई निकै ठूलो साथ दिएको रहेछ ।
आयुष र प्रितम कत्तिको घुलमिल हुन्थे ?
उनीहरू दुवै जनाले एक–अर्काको साथ कहिल्लै छाडेनन् । सधैं सँगै हुन्थे । प्रतियोगितामा पनि उनीहरू सँग–सँगै अघि बढे । नेपालमा आयुष काठमाडौंको अनि प्रितम ईटहरीको भनेर छुट्याउने काम पनि भएछ । त्यो कुराले चाहिं मलाई अति नै दुःख लागेको छ । म के चाहन्छु भने आयुष र प्रितम नेपालका अर्का मह जोडी जस्तै बनून् । पछि सम्म पनि उनीहरू जोडीकै रूपमा काम गरिरहुन् ।
आयुषले पाएको सफलताबाट सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । उनीहरूले जति मेहनत गरेका थिए, त्यसको परिणाम पाएका छन् । यद्यपि, नेपालका केही युट्युब च्यानलमा गलत आशयका सामग्रीहरू नराखिएको भए उनीहरू अझ माथि पुग्ने थिए भन्ने चाहिँ लागिरहेको छ ।