साप्ताहिक संवाददाता
गर्मीमा खाना कमै रुच्छ, तर चटक्क परेको पिरो, अमिलो तथा चिसो खानेकुराको स्वाद नै अर्कै हुन्छ । त्यसैले यो गर्मीमा खानाको रुचि बढाउन हामीले केही मसलेदार खानेकुरा तयार पार्ने विधि प्रस्तुत गरेका छौं । यी खानेकुरा पिरो, अमिलो, नुनिलो र स्वादिष्ट हुन्छन् । यदि फुर्सद निकाली यी परिकार बनाएर खाने प्रयास गर्नुभयो भने पक्कै तपाईंले नयाँ स्वाद प्राप्त गर्नुहुनेछ ।
चिकेन पपकर्न
कुखुराको मासु मात्र भएको भागलाई स–साना टुक्रा बनाउने । ऊक्त टुत्राको मात्राअनुसार कुखुराको मासुलाई एउटा कचौरामा राखेर नुन तथा मरिचको धुलो हाली मोलेर केहीबेर अलग राख्ने । अर्को एउटा प्लेटमा मैदामा स्वाद अनुसार नुन, मरिचको धूलो मिसाएर अलग राख्ने । एउटा कचौरामा दुईवटा अण्डा फिट्ने । अर्को एउटा प्लेटमा ब्रेडक्रम्ब (पाउरोटीको धूलो) मा हल्का नुन हालेर मोलेर राख्ने अनि एउटा कराईमा तेललाई तताउने ।
अब कुखुराको मासुको टुक्रालाई पहिले पीठो भएको प्लेटमा एक/एकवटा गर्दै मोल्ने, यसरी मोलिएको कुखुराको मासुको टुक्रालाई काँटाको सहायताले अण्डामा डुबाउने अनि फेरि ब्रेडक्रम्बमा दल्ने । त्यसपछि तातो तेलमा कुखुराको मासु रातो नहुन्जेल डिप फ्राई गर्ने । यो परिकार स्न्याक्सका रूपमा खान सकिन्छ ।
चपली कबाब
खसीको मासुको किमा बनाउने । उक्त किमाको मात्राअनुसार गोलभेडा, प्याज, हरियो खुर्सानी तथा धनियाँका स–साना टुक्रा हाल्ने । अदुवा र लसुनको पेस्ट, नुन, मरिचको धुलो, धुलो खुर्सानी, गरम मसला, जिराको धुलो, बेसारको धुलो, धनियाँको धुलो, कर्नफ्लोर तथा कागतीको रस हालेर राम्रोसँग मोल्ने अनि करिब २ घन्टा म्यारिनेट हुन दिने । एकपटक हातले फेरि राम्रोसँग मोल्ने र त्यसमा दुईवटा अण्डा हाली मेरिनेट गर्ने । यसरी मोलिएको किमाबाट एक चम्चा बराबरको भाग लिएर पकौडाको सेपमा ढाल्ने अनि हल्का तातो तेलमा फ्राई गर्ने । दुवैतर्फको भाग हल्का डढेजस्तो भएपछि निकाल्ने । यो परिकार आफूले हालेको मसला अनुसार पिरो, नुनिलो तथा केही अमिलो हुन्छ । यो चपली कबाब स्न्याक्सका रूपमा खान सकिन्छ ।
मटन चप मसला
खसीको करङपट्टिको केही भाग लिने । करङको उक्त भाग हातले समाउन मिल्ने हुनुपर्छ । अब मासुको मात्राअनुसार कराईमा तेल हाल्ने, इच्छाअनुसार ल्वाङ, मरिच, सुकमेल तथा दालचिनी फुराउने । त्यसपछि पातलो गरी काटिएको प्याज हालेर चलाउने । यसपछि मासु हालेर चलाउँदै अदुवा तथा लसुनको पेस्ट तथा हरियो खुर्सानी हाली चलाएर १०–१५ मिनेट पाक्न छोपिदिने । त्यसपछि बेसारको धूलो, धूलो खुर्सानी तथा कागतीको रस हालेर चलाउने । सबै मसला राम्रोसँग मिसिएपछि मासुको मात्रा अनुसार टम्याटो प्युरी हालेर चलाउँदै पकाउने । अब गरम मसला र स्वाद अनुसार नुन पनि हाली राम्रोसँग चलाइदिने । त्यसपछि बाबरी अर्थात् पुदिनाको पातलाई मसिनो गरी काटेर हाल्ने अनि एक कचौरा दही मिसाइदिने । केही बेर चलाएपछि मटन चप तयार हुन्छ । यो परिकार खाना, खाजा वा स्न्याक्सका रूपमा खान सकिन्छ ।