गायक उदेश श्रेष्ठ २०५४ सालमा उदयपुरको कटारीस्थित त्रिवेणी माबिबाट एसएलसी दिएर काठमाडौं आउनुको पहिलो उद्देश्य कुशल सँगीतकर्मी (गायक) बन्नु थियो । हल्का–फुल्का गिटार बजाउन जान्ने उदेशले काठमाडौं आएदेखि नै सांगीतिक क्षेत्रका व्यत्तिहरूसँग उठबस बढाए ।
दुई वर्षपछि आफ्नै पहलमा आरोह सँगीत विद्यालय सञ्चालनमा ल्याए, जहाँ ईश्वर अमात्य, मनोजराज आदिले सँगीत सिकाउँथे । आफ्नै सँगीत विद्यालय भए पनि उनले सँगीतको औपचारिक प्रशिक्षण लिन थाले । लगत्तै ध्रुवतारा पोखरेलले उनलाई एउटा गीतको शब्द उपलब्ध गराएर सँगीत भर्न आग्रह गरे । गायक श्रेष्ठले आफ्नै सँगीत तथा स्वरमा लोक पप शैलीको ‘घोराही बजारमा, साइँली तिमी फसिक्यो हाम्रो नजरमा...’ गीत रेकर्ड गराए । त्यही गीतबाट उनको औपचारिक सांगीतिक यात्रा प्रारम्भ भएको हो ।
यो जुनीमा...
पहिलो गीत रेकर्ड गरेपछि गायक श्रेष्ठले एकपछि अर्को गर्दै विभिन्न गीत रेकर्ड गराउन थाले । थुप्रै गीत रेकर्ड भए पनि उनलाई दर्शक तथा श्रोतामाझ चिनाउने गीत तयार भैरहेको थिएन । २०५९ सालमा रेकर्ड भएको एउटा गीतले भने उनको सांगीतिक करियरलाई नयाँ गति प्रदान गर्यो । ‘यो जुनीमा तिम्रो हुन सकिनँ...’ शीर्षकको पप गीत सार्वजनिक भएपछि गायक श्रेष्ठले पछाडि फर्किएर हेर्नु परेन । यो गीतमा गायक तथा सँगीतकार श्रेष्ठले अरेबियन मेलोडी प्रयोग गरेका थिए, जसलाई उनले हाइस्केलमा गाएका थिए । रेडियो तथा टेलिभिजनबाट अत्यधिक प्रसारण भएपछि उक्त गीत केही दिनमै लोकप्रिय भयो । यही गीतबाट गायक श्रेष्ठ तथा गीतकार भूगोल दाहालले २०६१ सालको हिट्स एफएम एवार्ड जिते ।
किन मायामा...
यो जुनीमा...लोकप्रिय भएलगत्तै गायक श्रेष्ठले पहिलो गीति एल्बम ‘लभ एरिया’ सार्वजनिक गरे । हाई स्केलको यो जुनीमा.. ले उनलाई एउटा उचाइ प्रदान गरिसकेको थियो, लगत्तै उनले दोस्रो हाई स्केलको सेन्टिमेन्टल गीत तयार पारे– ‘किन मायामा यति धेरै चोट हुन्छ...।’ उक्त गीतमा शब्द तथा सँगीत पनि गायक श्रेष्ठकै छ । लगातार दुईवटा लोकप्रिय भएपछि गायक श्रेष्ठको व्यस्तता ह्वात्तै बढ्यो । स्वदेशका प्रायः सबै कन्सर्टबाट उनको माग हुन थाल्यो । त्यही बेला उनी सांगीतिक कार्यक्रमका लागि पहिलो पटक हङकङसमेत पुगे । लभ एरिया एल्बमको बिक्री नै यति बढ्यो कि कम्पनीलाई एल्बम तयार गर्न भ्याइ–नभ्याइ भएको थियो ।
आँसुको थोपा...
२०६१ सालमा पहिलो एल्बम लभ एरिया सार्वजनिक गरेपछि गायक श्रेष्ठले २०६३ सालमा दोस्रो एकल एल्बम रहस्य सार्वजनिक गरे । उक्त एल्बमका अधिकांश गीत श्रोताहरूले मन पराए । तीमध्ये तिम्रै लागि आज म धेरै रोएँ, अब नाटक बन्द गर जस्ता गीतका कारण ऊनी सांगीतिक कार्यक्रममा सत्रिय भैरहे । गायकका रूपमा श्रेष्ठले सांगीतिक उचाइ प्राप्त गरे पनि डिजिटल बजारको थालनीसँगै पाइरेसीको मात्रा बढ्न थालेपछि सँगीत कम्पनीहरू बन्द हुन थाले भने गीति एल्बमको प्रकाशन पनि कम हुन थाल्यो । लगत्तै गायक श्रेष्ठले संगीता प्रधान रानासँग संगीतको प्रशिक्षण लिन थाले । त्यही क्रममा उनले तेस्रो एल्बम ‘स्टिल अलाइभ’ सार्वजनिक गरे, जसमा समावेश ‘आँसुको थोपा...’ गीत अत्यन्त रुचाइयो । उक्त गीतले गायक श्रेष्ठलाई इमेज एवार्डको सर्वोत्कृष्ट पप गायकको एवार्ड समेत जितायो ।
ब्रान्ड एम्बेसडर
२०७२ सालको भूकम्पपछि गायक श्रेष्ठ सामाजिक कार्यमा समेत सक्रिय भए । भूकम्प प्रभावितहरूलाई राहत वितरणमा अग्रसरता देखाएका श्रेष्ठले बाढीपहिरो पीडितको सहयोगका लागि अनेकौं कन्सर्ट गरे । उनलाई अस्ट्रेलियाको गैर नाफामूलक संस्था यस ह्यूम्यानिटीले औपचारिक रूपमा ब्रान्ड एम्बेसडर नै नियुक्त गर्यो । ब्रान्ड एम्बेसडर भएलगत्तै उनले सहरदेखि गाउँसम्म पुगेर विभिन्न सांगीतिक कार्यक्रममार्फत सहयोग रकम संकलन गरेर पीडितहरूसम्म पुर्याए । त्यही क्रममा उनी अस्ट्रेलियासम्म पुगे, जहाँ उनले आफ्नो चौथो एकल एल्बम ‘भेरिएसन’ सार्वजनिक गरे । हिन्दी गीतमा समेत उत्तिकै दख्खल भएका गायक श्रेष्ठ यतिबेला सांगीतिक कार्यक्रमहरूमा व्यस्त छन् भने निकट भविष्यमै आफ्नो पाँचौं एल्बम ‘उद्देश्य’ मार्फत श्रोताहरूमाझ आउने तयारी गरिरहेका छन् । उदेशले सांगीतिक सफलता पाउनुको पछाडि परिवारको ठूलो साथ र सहयोग रहेको बताएका छन् ।