साप्ताहिक संवाददाता
व्यवसायिक खेलाडी हुने अवसर फुटबल र क्रिकेटमा मात्र हुँदैन, कबड्डीमा पनि हुन्छ । नेपाली खेलाडीद्वय सञ्जय श्रेष्ठ र लालकुमार यादव भारतको प्रो कबड्डी सिजन–७ खेल्न भारत पुगिसकेका छन् । यी दुबैले बेङलोर बुल्सबाट खेल्नेछन् । धनुषाका सञ्जयलाई बुल्सले अक्सनमार्फत् १६ लाखमा लिएको थियो । श्रेष्ठले प्रदेश–५ मा भएको आठौं राष्ट्रिय खेलकुदमा प्रदेश–२ बाट बर्दियामा आफ्नो प्रतिभा देखाएका थिए ।
गत वर्ष श्रेष्ठ र यादव दुवै प्रो कबड्डीको टिम पुनेरी पल्टन्समा थिए । दुवैलाई उक्त सिजनका लागि १२ लाख पारिश्रमिक दिइएको थियो । सिराहाका यादव त्रिभुवन आर्मी क्लबका रेडर हुन् । उनी पनि यस पटक १६ लाख मै बिकेका छन् । सञ्जय प्रो कबड्डीमा २०१६ र २०१७ को चौथो र पाँचौं सिजनमा पनि बुल्समै थिए । यादवले चौथो सिजनमा ८ लाख तथा दोस्रो सिजनमा १२ लाख पारिश्रमिक पाएका थिए ।
त्यसपछि उनी पुनेरी पल्टनमा गएका थिए । त्यसअघि उनले प्रो कबड्डीको पहिलो तीन सिजनमा जयपुरका लागि खेलेका थिए । पहिलो सिजनको अक्सनमा ३ लाख पाएका श्रेष्ठलाई त्यसपछि ४ लाख पारिश्रमिक दिइएको थियो । प्रो कबड्डीको सातै सिजन टिमसँग रहे पनि श्रेष्ठसहित कुनै पनि नेपाली खेलाडीले मैदानभित्र छिर्न पाएका छैनन् । श्रेष्ठले यस पटक आफूले धेरै आशा गरेको जनाए । आश गरौं, उनीहरू दुवैको इच्छा पूरा हुनेछ र यसले नेपाली खेलकुदमा नयाँ इतिहास कोर्नेछ ।