साप्ताहिक संवाददाता
सुनील रावल, अमेरिका पलायन भएको केहि बर्ष मात्रै भएको छ । उनले अमेरिका पलायन हुनुको मुख्य कारण चलचित्र क्षेत्रबाट पाएको नमिठो तनाब पनि हो । पछिल्लो समय आफ्नै चलचित्रकी अभिनेत्री स्यारोन श्रेष्ठले निर्माता रावललाई ह्यारेसमेन्टको आरोप लगाएपछि रावल एकाएक तनावमा परेका थिए ।
उक्त तनाबलाई पाखा लगाएसँगै रावलले आफ्ना सन्तानसहित अमेरिका पलायन भएका थिए । उनले आफु नेपाली चलचित्रमा कहिल्यै नफर्कने समेत बताइरहेका थिए । यतिसम्मकी चलचित्र ‘सायद २’ लगत्तै निर्माण भएको चलचित्र ‘लाउरे’ प्रदर्शन नगर्दै अर्कैलाई विक्रि गरेका थिए । तर, उनै रावल अब पुनः नेपाली चलचित्रमै फर्कने भएका छन् । ५ बर्षअघि निर्माण भएको चलचित्र होस्टेलको सिरिज होस्टेल ब्याक अगेन निर्माण हुने भएको छ, जुन चलचित्रका अधिकांश दृश्य अमेरिकामै खिचिनेछ ।
चलचित्रलाई दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडक्सनले निर्माण गर्दैछ । दुई सिरिजमा निर्माता र कलाकारको रुपमा रहेका सुनिल रावलले यो चलचित्र निर्देशन गर्ने बुझिएको छ । उनले यो चलचित्रबाट निर्देशनमा हात हाल्न लागेका हुन् । आगामी अगस्टबाट छायांकन सुरु गरिने चलचित्रमा अधिकांस नयाँ कलाकार रहनेछन् । चलचित्रका लागी अमेरिकामा अडिसन आह्वान गरिएको छ । चलचित्रको कथा स्वयं निर्देशक बन्न लागेका निर्माता रावलकै हो ।
हरेक देशबाट अमेरिका अध्ययनका लागि गएका र होस्टेलमा बसेका युवा युवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने रावलले बताए । ‘होस्टेल’ लाई हेमराज विसी र दोस्रो सिरिजलाई सुरज भुषालले निर्देशन गरेका थिए । ‘होस्टेल ब्याक अगेन’ यसै वर्ष प्रदर्शनमा आउने छ ।