साप्ताहिक संवाददाता
विश्वकै महँगो कारको सूचीमा पर्ने बीएमडब्लू चढ्ने महत्वकांक्षा धेरैले राख्दै आएका छन् । करोडौं रुपैयाँ पर्ने यो कार चढ्ने सौख चीनको सिचुवान प्रान्तका एक कृषकमा पनि जाग्यो र उनले जेनतेन गरेर ३ करोड २० लाख रुपैयाँ हालेर बीएमडब्लू कार किने । कार त किने, तर उनलाई नियमित रूपमा हाल्नुपर्ने तेलका लागि पैसाको भने अभाव हुन थाल्यो । त्यसपछि उनले उपाय निकाले— तेल हाल्ने पैसा छिमेकीहरूको कुखुरा र हाँस चोरेर निकाल्ने ।
कुखुरा र हाँस चोरिन थालेपछि गाउँलेहरूले प्रहरीमा उजुरी गर्न थाले । प्रहरीले पनि चोर पत्ता लगाउन नसकेपछि सिसिटिभी क्यामेरा जडान गरेर भए पनि चोर पत्ता लगाउने उपाय गरियो । नभन्दै बीएमडब्लूका ती मालिकले राति मोटरसाइकलमा आएर कुखुरा चोरेको कुरा पत्ता लाग्यो । बीएमडब्लूका मालिकले आफ्नो कारमा तेल हाल्न कुखुरा चोरेको कुरा सार्वजनिक भएपछि स्थानीय गाउँलेहरूसमेत छक्क परेका थिए ।