साप्ताहिक संवाददाता
चलचित्र ए मेरो हजुर–३ लाई नेपालमा मात्र होइन, विदेशमा पनि मन पराइयो । नेपालबाटै लगानी सुरक्षित गरेर मुनाफा समेत आर्जन गरेको उक्त चलचित्रबाट सुहाना थापाका रूपमा नयाँ अभिनेत्रीको जन्म भयो । सुहाना निर्देशक/अभिनेत्री झरना थापा तथा निर्माता सुनिलकुमार थापाकी छोरी हुन् । पहिलो चलचित्र नै सुपरहिट भएपछि सुहानालाई घर बाहिरका चलचित्रबाट प्रस्तावको ताँती नै लाग्यो ।
रोचक कुरा के रह्यो भने सुहानाले त्यसरी आएका कुनै पनि प्रस्ताव स्वीकार गरिनन् । सुहानाका बुवा सुनिलले सुहानाका लागि आउने हरेक प्रस्तावलाई ‘पढाइ सकिएपछि मात्र’ भन्दै पन्छाए । हुन पनि सुहानाले अमेरिकामा झन्डै एक वर्ष पढेपछि मात्र स्नातक उत्तीर्ण हुन्छिन् । बुवाले छोरीलाई घर बाहिरका चलचित्रमा अभिनय गर्ने अनुमति नदिनुमा अध्ययनलाई मुख्य कारण बताए पनि कुरा बेग्लै भएको चर्चा चल्न थालेको छ ।
वास्तवमा झरना र सुनिलले सुहानालाई अहिले नै घर बाहिरका चलचित्रमा अभिनय गराउन चाहेका छैनन् । उनीहरूले सुहानालाई आफ्नै ब्यानरको चलचित्र भागवत गीतामा अभिनय गराउन चाहेका छन् । यद्यपि, वितरकहरूले ए मेरो हजुर–४ निर्माण दबाब दिएपछि सुहाना घरकै चलचित्रमा व्यस्त हुने भएकाले बाहिरका ब्यानरमा काम गर्न नचाहेको बताइन्छ ।