साप्ताहिक संवाददाता
गत हप्ता शुक्रबार चलचित्र प्रेम दिवस प्रदर्शनमा आयो, तर यसले राम्रो व्यापार भने गर्न सकेन । चलचित्रमा करिब १ करोड ३५ लाखको हाराहारीमा लगानी भएको बताइए पनि हलमा दर्शकको अवस्था हेर्दा चलचित्रले आधा लगानी उठाउन पनि धौ–धौ पर्ने अनुमान लगाउन सकिन्छ । यो चलचित्रले सोमबारसम्म ३५ लाखको व्यापार गरेको निर्माण पक्षले बताएको छ । यो व्यापारलाई हेर्दा चलचित्र सोझै घाटामा जाने निश्चित जस्तै छ ।
किनभने हलमा प्रेम दिवसका लागि दर्शक छैनन् भने अधिकांश हलबाट यसका सो धमाधम कटौती भैरहेका छन् । यति हुँदा पनि निर्देशक योगेश घिमिरे चलचित्र घाटामा नजाने कुरामा आशावादी छन् । निर्देशक घिमिरेका अनुसार प्रेम दिवसको अमेरिकामा चार शो भैसकेको छ भने अष्ट्रेलिया, कोरिया, डेनमार्क आदि देशमा चलिचत्र प्रदर्शन हुने निश्चित भैसकेको छ । त्यसैले पनि चलचित्रले लगानी उठाउने कुरामा ढुक्क भएको घिमिरे बताउँछन् ।
प्रियंका कार्की र आयुष्मान देशराज जोशीले मुख्य भूमिका निर्वाह गरेको यो चलचित्रले राम्रो व्यापार गर्न सक्ने धेरैको आँकलन थियो, तर स्थिति ठीक उल्टो रह्यो । यो चलचित्र पूर्ण प्रेम कथामा आधारित छ । चलचित्रमा प्रियंका सपना र आयुष्मान सागरका रूपमा देखापर्छन् । पैसाको अभावमा सानैमा सागरलाई आमाले छाडेर गएकी हुन्छिन् भने बाबु पनि पैसाकै अभावमा आत्महत्या गर्न विवस हुन्छन् ।
अन्ततः सागर एक्लो हुन्छन् । सागरको बाल मस्तिष्कमा पैसा नै सबैभन्दा ठूलो कुरा रहेछ, पैसा भयो भने सबै कुरा पाइदो रहेछ, पैसा भएन भने सबै कुरा गुमाउनुपर्ने रहेछ भन्ने पर्छ र उनी पैसा प्राप्त गर्न तल्लो स्तरसम्म गिर्न पुग्छन् । यस्तै सपना चियाबारीमा काम गर्ने मजदुरकी छोरी हुन्छिन् । सपनाका बाबुआमा पनि चियाबारीमा प्रयोग हुने अत्याधिक विषादीका कारण फोक्सोको क्यान्सर लागेर बित्छन् ।
त्यसपछि उनी एउटा जमिनदारको घरमा काम गर्न पुग्छिन् । सागर पनि त्यही जमिनदारको घरमा काम गर्न बसेका हुन्छन् । उनीहरूबीच विस्तारै प्रेम बस्छ । यो चलचित्रमा सागर र सपनाको बाल्यवस्थाको भूमिकामा अभिनय गर्ने बालकलाकारहरूको अभिनय प्रशंसनीय छ ।