साप्ताहिक संवाददाता
एसराज गराच, अभिनेता
अहिले केमा व्यस्त हुनुहुन्छ ?
चलचित्र ‘लभ यू हमेशा’ को डबिङमा व्यस्त छु । ‘उफ् यो मन’को फिलिपिन्समा हुने गीतको छायांकनका लागि तयारी पनि गर्दैछु । असार १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र कीर्तिपुरको प्रचार–प्रसारमा समेत व्यस्त छु भने मिसेज क्यापिटल नेपाल शीर्षकको सौन्दर्य प्रतियोगिताको पनि तयारी गर्दैछु ।
तीन भिन्न चलचित्रमा कस्तो भूमिकामा हुनुहुन्छ ?
ऐतिहासिक चलचित्र कीर्तिपुरमा नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको भूमिका निर्वाह गरेको छु । भदौमा प्रदर्शन हुने लभ यू हमेशा तथा फागुनमा प्रदर्शन हुने उफ् यो मनमा रोमान्टिक भूमिकामा छु । गीति चलचित्र भाग्यसमेत प्रदर्शनको क्रममा छ ।
कीर्तिपुर प्रदर्शनमा आउन लामो समय लाग्यो नि ?
केही वर्षअघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्र विभिन्न कारणले रोकिएको थियो । अन्ततः सेन्सरको अड्चनपछि यो चलचित्र दर्शकमाझ आउने निश्चित भएको छ ।
चलचित्र कीर्तिपुरमा राजाको भूमिका निर्वाह गर्न कत्तिको सहज भयो ?
पाँच वर्षअघि यो चलचित्रको छायांकन हुँदा मैले राम्रै मेहनत गर्नुपर्यो भनेर वीरेन्द्र हमालसँग उक्त चरित्रमा आधारित भएर विशेष प्रशिक्षण नै लिएको थिएँ । हामीले देखेको एउटै पोज र एउटै तस्बिरका आधारमा यस्तो हुन सक्छ भन्ने किसिमले काम गरेका छौं । त्यसबाहेक निर्देशक प्रदीप खड्गीले मलाई राजा बनाउन प्रसस्त मेहनत गर्नुभएको छ ।
यो चलचित्र प्रदर्शन हुन किन ढिला भएको ?
ग्राफिक्सका कारणले दुई वर्षको समय त सम्पादन कक्षमै बित्यो । सबै कुरा तयार भएपछि प्रदर्शनका लागि सेन्सर बोर्ड जाँदा केही कुरामा चित्त बुझाइएन । त्यही बेला सरकार परिवर्तन भएर सेन्सर बोर्डले चलचित्रलाई झण्डै दुई वर्ष अड्काइदियो ।
अबको नयाँ योजना के छ ?
यो वर्ष मेरा चारवटा चलचित्र प्रदर्शनमा आउनेछन् । पालैपालो ती चलचित्रको प्रमोसनमा हिंड्नु पर्नेछ । अभिनय बाहेक इभेन्टहरूको आयोजनामा समेत व्यस्त हुनेछु ।