सम्झनामा रहन चाहन्छु

- सिर्जना दुवाल श्रेष्ठ

असार ६, २०७६

गायक द्वारिकालाल जोशी एवं नृत्यांगना नगिना जोशीकी छोरी, संगीतकार न्हू बज्राचार्यकी भान्जी तथा अभिनेत्री भिन्तुना जोशीकी दिदी हुन्— गायिका लसता जोशी । उनको बाल्यकाल सांगीतिक वातावरणमै बित्यो । सानैदेखि उनले आर ए आर ए रारासहित हाजमोला, डाबर लाल दन्तमञ्जनजस्ता दर्जनौं जिंगलमा स्वर दिँदै आएकी थिइन् । बालगीतहरूमा समेत स्वर दिएकी लसताको नेपाली तथा नेपाल भाषाका थुप्रै एल्बम सार्वजनिक भएका छन् । वैवाहिक जीवन बिग्रीए पछि एकल आमा लसताले जीवन निर्वाहका लागि आफूले जानेको गायनलाई अघि बढाइन् । नेपालमा पनि थुप्रै रेस्टुराँमा गाएकी लसता आठ वर्ष दिल्लीको नाइट लाइफमा आफ्नो स्वर दिएर स्वदेश फर्किएकी छिन् ।

दिल्लीको रात्री जीवनमा गाउन जानुको कारण ?

मेरो जीवनमा धेरै उतारचढाव आए । जति बेला म मानसिक दृष्टिले विचलित थिएँ, त्यसलाई हटाउन संगीत बाहेक अरु कुनै विकल्प थिएन । पहिले देखि नै मेलोडियस हिन्दी गीतमा लगाब थियो । एकल आमा भएपछि छोरीको भविष्यका लागि काम गर्नु थियो, कमाउनु थियो । त्यसैले म राति होटलहरूमा गाउन थालें । दुबइको होटलमा २८ दिन गाउने अवसर आयो । त्यहीँ गाउने सिलसिलामा इन्डियन म्युजिसियनले दिल्लीको थ्री स्टार होटलका लागि अफर गरेपछि दिल्ली पुगेकी हुँ ।

त्यहाँका रात्रि इभेन्टहरू कस्ता थिए ?

बढीजसो राजस्थानी तथा पञ्जावी इभेन्ट हुन्थे । त्यहाँ मलाई डोरेमी ब्याकअप ब्यान्डसंग काम गर्ने मौका मिल्यो भने थुप्रै इन्डियन गायकसँग डुएट गाउने अवसर प्राप्त भयो । इन्डियामा कामको भ्याल्यु छ । गीत संगीतलाई बढी प्राथमिकता दिइएको पाएँ । नकारात्मक पक्ष जता पनि हुन्छ तर म त्यहाँ संगीतमा मात्र सिमित भएँ ।

राति होटलमा गाउने महिलाहरूलाई नकारात्मक दृष्टिले पनि हेरिन्छ नि ?

राति गाउनु नराम्रो हो भने त्यहाँ गीत सुन्न पुग्नेहरू पनि त नराम्रा भए नि । केही मानिसको प्रवृत्तिका कारण सबैलाई दोष दिनु हुँदैन ।

भनिन्छ होटलमा गाउनेहरू अरुको तुलनामा भर्सटाइल हुन्छन् ? के यो सही हो ?

होटलमा गाउनेहरू खतरा नै हुन्छन्, किनभने उनीहरू हजारौं गीत गाउन सक्छन् । आफ्नो मात्र गीत गाउनेहरूमा अरूका गीत गाउने बानी हुँदैन । उनीहरू आफ्नै शैलीमा मात्र पोख्त हुन्छन्, भर्सटाइल हुन सक्दैनन् ।

आठ वर्ष इन्डियामा काम गर्दा नराम्रो लागेको क्षण ?

नेपाली भन्ना साथ हेप्ने प्रवृत्ति देखें । सुरुमा तीन–चारवटा ग्रुपले नेपालबाट आएकी भन्ना साथ डोमिनेट गर्न खोजे । उनीहरूलाई मैले आफ्नो गायनले मात्र जितें । म उनीहरूले अफर गर्ने कब्बालीका साथै बंगाली तथा पञ्जाबी आदि गीतहरू पनि मज्जाले गाइदिन्थें । 

त्यो बसाइमा नेपाललाई कति सम्झनुभयो ?

राति–राति छोरीलाई सम्झेर रुन्थें । कहिले त स्टेजमा गाउँदा–गाउँदै पनि इमोशनल हुन्थें । काम राम्रो हुन थाले पछि दुई–तीन महिनामा एकपटक नेपाल आउँथें ।

तपाईंसँग कतिवटा गीतको कलेक्सन छ ?

पुरानादेखि नयाँ प्रायः सबै गीतको कलेक्सन छ । इन्डियनहरू नै मेरो कलेक्सन देखेर कुन बोरावाट निकालेर ल्याएको भनेर जिस्काउँथे ।

बढी कसका गीत गाउनुभयो ?

आशा भोसलेकै बढी गाएँ । मलाई धेरैले तपाईंको स्वरमा आशा भोषलेको टेक्चर छ भन्छन् ।

कस्ती गायिकाका रूपमा परिचित हुन चाहनुहुन्छ ?

अहिले सबैजसो लोकप्रीयताको सस्तो दौडमा छन् तर म क्षणिक लोकप्रियताभन्दा पनि लामो सम्झनामा रहन चाहन्छु ।

नेपाल फर्कनुको कारण ?

पहिलो त छोरीको माया नै हो । इन्डियामा धेरै कुरा सिकें, पैसा पनि कमाएँ । अव आफ्नै देशमा केही गर्नुपर्छ भनेर फर्किएँ । बुढेसकालमा फर्कनुभन्दा केही गर्न सक्ने उमेरमै फर्कनु ठीक लाग्यो । अहिले छोरीको इच्छा बुझेर उनलाई संगीतमा गाइड गर्ने मौका पाइरहेकी छु । 

अघि बढ्नका लागि के कुरा आवश्यक रहेछ ?

सबैको जीवनमा उत्तारचढावहरू हुन्छन् । यदि अगाडी बढ्नु छ भने पछाडि फर्केर नहेर्नु नै बेस हुन्छ ।

छोरी मान्छेले अरूले नै बनाएको सेपमा ढल्नुपर्छ भन्ने मान्यतासँग कतिको सहमत हुनुहुन्छ ?

पहिले छोरीलाई जस्तो भाँडा हुन्छ त्यसमै ढल्नुपर्छ भनेर सिकाइन्थ्यो, तर अहिलेका छोरीहरू आफ्नै सेपमा ढल्छन्, अरुले बनाएको सेपमा कोही चल्दैनन् । किनभने उनीहरू पनि आफ्नै खुट्टामा उभिएका हुन्छन् ।

प्रकाशित :असार ६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्