यौनको भोक विवाहित वा अविवाहित दुवैमा समान हुन सक्छ । आफ्नो यौनसाथी हुँदाहुँदै पनि मानिसले अतृप्त भएर वा भनेको समयमा उपलब्ध नभएर वा असन्तुष्ट भएर यौनको भोक मेट्न वैकल्पिक उपाय वा साथीको खोजी गर्न सक्छ । सकेसम्म मायाजालमा पारेर, नभए पैसा तिरेर, सहमतिमै पनि वा कसैलाई परिबन्धमा पारेर पनि मानिसले आफ्नो यौन–प्यास मेट्न खोज्छ ।
सामान्यतः सबै प्राणीलाई भोक लाग्छ । भोक भन्नासाथ कुनै कुरा खान शरीरले चाहना राख्नु भन्ने बुझिन्छ । भोक लागेपछि खान पाउनु सबैको अधिकार हो तर भन्दैमा पाइँदैन । त्यसैगरी पानी पिउने चाहना हुनु भनेको प्यास लाग्नु हो । अनिकालमा वा संकटमा थोरै खाए पनि भोक मेटिन्छ । थकाइ लाग्दा, उकालो चढ्दा एक घुट्को पानी पाए पनि प्यास मेटिन्छ । मीठो मसिनो खाएर भोक मेट्ने र खस्रो खाएर भोक मेट्ने त्यो आफ्नो गच्छेमा भर पर्छ । खान नपाएर कुपोषित भएर मर्नेहरू एकातिर छन् भने धेरै खाएर रोगी भै मर्नेहरू अर्कातिर छन् ।
मानिसको जीवनमा खानेपिउने कुराको मात्र भोक–प्यास हुँदैन । धनसम्पत्ति कमाउने भोक, यौनको भोक, पद–प्रतिष्ठाको भोक आदि अनेक भोक हुन्छन् । भोकको सही व्यवस्थापन गर्न सकिएन भने त्यसले गम्भीर परिणाम निम्त्याउँछ । भोकले मानिसलाई अन्धो र अपराधी सम्म बनाउँछ । अचेल हरेक दिनजसो हत्या बलात्कारका समाचार आउनुमा पनि यिनै भोक कारकतत्व हुन सक्छन् । यौनको भोक र कुण्ठा सबैभन्दा डरलाग्दो हुन्छ । आफ्नै बुबाले, हजुरबुबाले, ससुराले, काकाले परिबन्धमा पारेर यौन दुराचार, बलात्कार र शोषण गरेर कैयन समयदेखि राखेको समाचारले समाजको डरलाग्दो अवस्थाको चित्रण गर्छन् । यौनको भोक विवाहित वा अविवाहित दुवैमा समान हुन सक्छ ।
आफ्नो यौनसाथी हुँदाहुँदै पनि मानिसले अतृप्त भएर वा भनेको समयमा उपलब्ध नभएर वा असन्तुष्ट भएर यौनको भोक मेट्न वैकल्पिक उपाय वा साथीको खोजी गर्न सक्छ । सकेसम्म मायाजालमा पारेर, नभए पैसा तिरेर, सहमतिमै पनि वा कसैलाई परिबन्धमा पारेर पनि मानिसले आफ्नो यौन–प्यास मेट्न खोज्छ । यसमा नारी–पुरुष दुवैको आ–आफ्नै तरिका हुन सक्छ । यौनको भोक–प्यासले मानिसलाई अन्धो बनाउँछ, उसले के नैतिक, के गैरकानुनी, के असामाजिक, के सही, के गलत सबै बिर्सन्छ र क्षणिक तृप्तिका निम्ति सर्वस्व अर्पण गर्न र भुल्न तयार हुन्छ । सामान्य व्यक्तिदेखि उच्चपदस्थ व्यक्तिसम्म यौनको मामिलामा मुछिएको र गलत कृत्यमा फसेको पाइन्छ, किनभने यसमा को कुन तह र पदको भन्दा पनि उसको मानसिक स्थिति तथा व्यक्तिगत चाहनाले बढी भूमिका खेल्छ ।
पुरुषले धन लुटाउन र नारीले धन बटुल्न पनि यौनको भोकलाई सहारा लिएको पाइन्छ । यौनलाई अघोषित रूपमा अनैतिक कर्मका रूपमा लिइनु, आफ्नो साथीसँग यौनतृप्तिका बारेमा खुलेर कुरा नगर्नु, हाडनाता करणीजस्तो कुकर्मसम्म गर्न पछि नपर्नुले समाज कति कुण्ठित छ भन्ने देखाउँछ । कुण्ठाले अपराधतर्फ डोर्याउँछ । यौनको भोक–प्यास मेट्न अपराधको बाटो रोज्नुभन्दा वैकल्पिक उपाय रोज्नुपर्छ । समाज र प्रशासन तथा सरकारले ढोंगी नबनी यौन व्यवस्थापनको मार्ग प्रशस्त गर्न ढिलाइ गर्नु हुँदैन ।
अर्कातर्फ धनको भोकले मानिसलाई भ्रष्ट बन्न उत्प्रेरित गर्छ । सोझो बाटो समातेर धनी हुन गार्हो छ । त्यसैले कसलाई प्रयोग गरेर हुन्छ कानुनको आँखामा छारो हालेर हुन्छ कि कसैलाई घुस ख्वाएर हुन्छ कि मानिस चाँडोभन्दा चाँडो धनी हुन चाहन्छ । समाज र परिवारमा बढेको देखासिकी तथा अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई धनी हुन दबाब दिइरहेको हुन्छ ।
समाजमा मानिसलाई धनको तुलोमा मात्र तौलिने गलत नजिर बसेको छ । धनी मानिस मात्र सफल मानिस हो भन्ने मानक समाजमा जर्वजस्त रूपमा स्थापित भएको पाइन्छ । कुन मानिस कति ज्ञानी छ, कति विद्वान छ उसले समाज अनि देशको हित हुने कति कर्म गर्यो हेरिँदैन । कसले कत्रो घर बनायो, कति सम्पत्ति जोड्यो, कस्तो गाडी चढ्छ उसको मात्र समाजमा इज्जत छ भन्ने मानिन्छ । पैसाको धनी गाडीको धूलो उडाउँदै ज्ञानको धनीको मुखसम्म छारो उडने गरी रवाफ देखाएर हिँड्छ । बाटोमा लखरलखर हिंड्ने, सोझो बाटो हिडेर मेहनत र इमानको कमाइ खानेहरूको मूल्य भएन । समाजले औंलामा नगन्ने भएपछि मानिसमा धनी हुने भोक बढ्छ । धनी हुन खोज्दा कैयन्ले अरूको र आफन्तकै हत्या गरेका छन्, करोडौंको भ्रष्टाचारमा मुछिएका छन्, ठगेका छन् । छिमेकी वा नजिकका आफन्तले प्रगति गरे वा गलत तरिका अपनाएर धन जोडे भनेर आफू पनि हौसिएर गलत बाटो समात्नु बुद्धिमानी होइन । धन र यौनले सन्तुष्ट भएर कोही मरेको छैन र भविष्यमा पनि मर्नेछैन भन्ने कुरा मनन गर्ने हो भने यी दुवै भोकको व्यवस्थापन गर्न सजिलो हुन्छ ।
त्यसैगरी पद, मान–सम्मान तथा पुरस्कार पाउने लालसा वा भोकमा हाकिमसँग वा उच्च पदाधिकारीहरूसँग यौनसम्वन्ध राख्ने, घूस ख्वाउने काम पनि उत्तिकै हुन्छ । योग्यताले पाउनुपर्ने कुरा कसैलाई प्रभावमा पारेर लिन खोजेपछि त्यसको मूल्य चुकाउनुपर्ने हुन्छ । यसो गर्दा कहिले धनको खति हुन्छ त कहिले इज्जतकै पनि खति हुन्छ भने कतिपयको घरपरिवार नै तहसनहस हुन्छ । कतिले आफनो भएको पद–प्रतिष्ठा समेत गुमाउँछन् । क्षणिक आवेगमा आएर वा देखासिकीमा लागेर अपराध नगरौं । भुइँको टिप्न खोज्दा पोल्टाको पनि झर्ला होस गरौं ।