‘सफलता’ शब्द सुन्दा सुमधुर, कल्पना गर्दा हृदयस्पर्शी त पाउँदा स्वर्गीय आनन्द । वास्तवमा निकै अमूल्य छ यो । सफलता प्राप्त गर्ने जोकोहीका लागि अझ अमूल्य छ एकपल्ट पाएर गुमाउनेहरूका लागि । यही विशेषताले यो शब्दलाई निकै विशेष बनाइदिन्छ, रहस्यमय बनाइदिन्छ । सफलता रहस्य नै त हो । सफलताको बाटो यही हो भनेर कसैले किटानी गर्न सक्दैनन् तर एउटा मानिस जीवनको जुन कुनै मोडमा कहीँ कतैबाट यही बाटोमा नआइपुग्ला भन्न पनि सकिँदैन ।
इन्जिनियर लाखौं हुन्छन्, तर त्यस्ता इन्जिनियर कमै हुन्छन् जसले बनाएका धरोहरले जमिनमा मात्र होइन, इतिहासको पानामा आफ्नो नाम लेखाउँछ, जुन आकृतिले संस्कृति र सभ्यताको उचाइ चुमेका हुन्छन् । डाक्टर कैयौं हुन्छन्, तर त्यस्ता डाक्टर निकै कम हुन्छन्, जसले बिरामीको शारीरिक घाउमा मात्र नभई आन्तरिक व्यथामै मलम लगाइदिन्छन्, जसको अस्पतालमा गै आन्द्रा फाटेका बूढा हजुरबुबा त्यहाँबाट निस्कँदा फाटेका गन्जी पनि सिलाएर निस्कन्छन् । त्यसैले एउटै बाटोमा हिँड्दैमा एउटै गन्तव्यमा पुगिन्छ भन्ने हुँदो रहेनछ । एउटै पथमा हिडेर पनि कोही सफल त कोही असफल हुँदा रहेछन् ।
वास्तवमा सफलताको न त कुनै विशेष सूत्र छ, न त कुनै बाटो नै । कैयौं पटक सफल हुन्छु भन्नेहरू असफल हुन्छन्, सफलता नचाहेकीले सफलता प्राप्त गर्छ, तर म यो पूर्ण रुपमा भाग्यको खेल हो भन्न पनि असमर्थ छु किनभने ‘भाग्य’ कृत्रिम हो, वास्तविकता त केवल तिम्रो जीवन हो, तिम्रा निर्णय र भोगाइहरू हुन् ।
सफलता टाढा छैन, न त यो नजिक छ, यसको सामीप्यको न त मापन छ न त टुंगो नै, समय हिजो पनि यहीँ नजिक थियो, आज पनि यहीं छ तर ‘सफलता’ जो हामीसँग छैन, त्यसका बारेमा सोचेर हामी आफूसँगै भएको यो अमूल्य ‘समय’ किन खेर फाल्दै छौँ ? आज प्राप्त नभएको सफलता भोलि प्राप्त हुन सक्छ, तर के आज खेर गएको समय भोलि आउँछ ? त्यसैले जीवनको हरेक सेकेन्डको सदुपयोग गर्न जरुरी छ र यदि सफलताको कुनै सूत्र छ भने यही हो ।
सफलताका सम्भावित सूत्रहरू खोज्दै जाने हो भने अरू पनि फेला पर्न सक्छन् । थोमस एडिसनले भनेका छन्, ‘असफल व्यक्तिहरू ती हुन् जो थाहा पाउँदैनन् कि जब तिनीहरूले हार माने तब उनीहरू सफलताको कति नजिक हुन सक्थे,’ तसर्थ हार नमान्नु सफलताको दोस्रो महत्वपूर्ण सूत्र हुन सक्छ । लोभ, लालच र अरूप्रतिको ईर्ष्याको भावना सफलताका घोर बाधक हुन् । कतै सफलताले दैलो ढकढकाइरहेका बेला तपाईंचाहिँ छिमेकीको प्रगतिको पिरले अन्धो र बहिरो त हुनुभएको छैन ? ढोका खुला राख्नुहोस्, प्रतीक्षा गर्नुहोस्, सफलता तपाईंको घरदैलोमा आइपुग्नै लाग्यो ।