साहित्यलाई समाजको दर्पण मात्र होइन, रूपान्तरणको माध्यम पनि मान्ने प्रा.डा. हेमनाथ पौडेल त्रिभुवन विश्वविद्यालयमा ३० वर्षको प्राध्यापनपश्चात् हाल नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य तथा पद्य/काव्य विभाग प्रमुखका रुपमा कार्यभार सम्हाल्न पुगेका छन् । पौडेलसँग हरेक वर्ष हुने कविता महोत्सव तथा यससँग जोडिने विवादका विषयमा राधिका अधिकारीले गरेको कुराकानी :-
कविता महोत्सव नजिक आइरहेको छ । यसको प्रभावकारिता वृद्धि एवं विवाद निराकरणका लागि के–कस्तो पहल गरिरहनुभएको छ ?
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रतिवर्ष असार ९ गते आफ्नो वार्षिकोत्सवका अवसरमा अन्य विविध कार्यक्रमका साथ नेपाली कविता र कविहरूलाई सम्मान गर्न केही अतिथि कवि एवं प्रतियोगी कविहरूलाई कविता वाचन गर्न लगाएर राष्ट्रिय कविता महोत्सव सम्पन्न गर्दै आएको छ । कविता महोत्सवमा पुरस्कृत भएका कवि तथा कवितालाई लिएर यदाकदा विवाद पनि हुने गरेको छ ।
यद्यपि कविताको मूल्याङ्कन गणितजस्तो हुँदैन । मूल्याङ्कर्ताहरूमध्ये कसैलाई कुन कविता मन पर्छ, कसैलाई कुन । त्यसैले परीक्षाको कपी मूल्याङ्कन गरे जस्तो एउटैलाई मूल्याङ्कन नगराएर दुईभन्दा बढी विज्ञलाई कविता दिएर कविको नाम मेटी कोडिङ गरेर कविता मूल्याकन गराई दिइएको नम्बरका आधारमा जे परिणाम आउँछ त्यसलाई विजेता घोषणा गर्ने गरिएको छ । त्यसका बाबजुद पाठक–श्रोताहरूका आ–आफ्नै भावगत, विचारगत रुचिका कारणले आफू अनुकूल नहुँदा आलोचना त भैहाल्छ । त्यसैले यो काम निर्विवाद त हुनै सक्दैन । मूल कुरा मूल्याङ्कनको निष्पक्षता हो ।
कविता मूल्याङ्कनको मूल आधार भनेकै रचनामा प्राप्त हुने कवित्व र त्यसमा प्रस्तुत सन्देश नै हो । कविताले आजको समाजलाई कति सम्बोधन गर्न सकेको छ र कलाका दृष्टिले त्यो कविता अरूको तुलनामा कति समृद्ध छ भन्ने हो । कवितामा अन्तर्वस्तु र रूपपक्ष दुवैको सन्तुलन आवश्यक हुन्छ । प्रतियोगितामा आउने सबै कविता अब्बल हुन्छन् भन्ने छैन ।
यो वर्ष उत्कृष्टताका आधारमा छनोटमा परेका कविता वाचन भैसकेपछि वाचनको समेत नम्बर जोडी त्यसपछि कोड हटाई जे परिणाम आउँछ त्यसलाई घोषणा गर्ने योजना बनाइएको छ । यसो गर्दा वाचन गर्ने बेलासम्म पनि त्यो कविता कसको हो भन्ने कुरा मूल्याङ्नकर्तालाई समेत थाहा हुँदैन र मेरिटमा पाँचवटा जुन–जुन कविता आउँछन् तिनै पुरस्कृत हुन्छन् । परिणाम : मूल्याङ्कनमा थप वस्तुपरकता र निष्पक्षता आउँछ भन्ने लागेको छ ।
काव्य विभागले नेपाली कविता विधाको विकासका लागि के कस्ता कार्य गर्दै छ ?
समकालीन नेपाली कविताका विविध पक्षमा सङ्कलन, सम्पादन एवं विमर्शका महत्वपूर्ण कामहरू भएका छन् । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय कविता दिवसका दिन कवितालाई सम्मान गर्न कविहरूलाई आमन्त्रण गरेर कविता वाचन गराउने गरिएको छ भने राष्ट्रिय कविता महोत्सवको अघिल्लो दिन कविताको कुनै एउटा महत्वपूर्ण पक्षमा विमर्श कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यसरी नै मातृभाषा साहित्य विभागले मातृभाषा कविता महोत्सव सञ्चालन गर्ने गरेको छ । यो वर्ष असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ शीर्षकमा विमर्श कार्यक्रम हुँदैछ । केही दिनअघि दमकमा कविगोष्ठी, काठमाडौँमा ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ शीर्षकमा र सुर्खेतमा ‘नेपाली कवितामा कर्णाली प्रदेशको योगदान’ विषयमा गोष्ठी सम्पन्न भएका छन् । यसरी नै अन्य विभिन्न साहित्यिक संघ–संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रमहरू भैरहेका छन् । यो वर्ष विभागले नेपाली गजल तथा हाइकुको सम्पादन गराइरहेको छ । त्यस्तै समकालीन नेपाली कविताको शिल्प पक्षका सम्बन्धमा विभिन्न विद्वान्हरूलाई अनुसन्धानात्मक लेख लेख्न लगाएर कृति प्रकाशन गरिँदैछ । आउने चार वर्षभित्रमा कुनै पनि कवि नछुटुन् भनेर तिनको अभिलेखका निम्ति सातै प्रदेशमा कविता विमर्शसहित कविता गोष्ठी गर्ने र सातै प्रदेशका सबै कविहरूको विवरणसहितको एउटा वृहत् ग्रन्थ प्रकाशन गर्ने विभागको योजना छ ।
प्रज्ञा–प्रतिष्ठानका आगामी योजना के–कस्ता छन् ?
नेपाल प्रज्ञा–प्रतिष्ठान मुलुकको सर्वोच्च प्राज्ञिक संस्था हो । यसले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनसँग सम्बन्धित क्षेत्रको प्राज्ञिक उन्नयनका लागि कार्य गर्छ । नेपालको संविधान २०७२ ले प्रादेशिक प्रज्ञा–प्रतिष्ठानहरूको गठनको कुरा पनि गरेको छ र यो विषयमा केही कार्य पनि अघि बढेको छ ।
प्रज्ञा–प्रतिष्ठानले गर्दै आएका नियमित प्राज्ञिक कार्यका साथै यसले आगामी चार वर्षभित्र राष्ट्रिय गौरवको आयोजना सञ्चालन गरेर सातै प्रदेशका भाषा, साहित्य, संस्कृति, मूर्त अमूर्त सम्पदा लगायत समग्र विषयको अध्ययन गरी सातवटा ग्रन्थ प्रकाशन गर्ने र त्यसबाट फेरि एउटा बृहत् ग्रन्थ तयार गरी समग्र नेपालको परिचय प्राप्त हुने कृति प्रकाशन गर्ने तथा त्यसलाई अङ्ग्रेजीमा अनुवाद गराउने योजना छ । यसका लागि सरकारको आर्थिक र अन्य सहयोगको आवश्यकता पनि पर्छ ।
यसका साथै प्रज्ञाले नेपालमा उत्पन्न भएका दर्शनहरूको अध्ययन गराई दर्शन विभागको सक्रियतामा नेपाल दर्शन शीर्षकको मौलिक कृति प्रकाशन गर्ने योजनासमेत बनाएको छ । यस अवधिमा एउटा साहित्यकार अभिलेखालय बनाउने योजना पनि छ । यसमा उपलब्ध भएसम्मका सबै साहित्यकारहरूका कृतिहरूको सङ्कलन गरी राख्ने र उनीहरूका सम्बन्धमा अडियो, भिडियो समेत निर्माण गर्ने सोच छ ।
यी सबै काम एकैपल्ट अहिले नै सम्पन्न नहुन सक्छन् तर त्यसको थालनी भने गरिनेछ । अहिले प्रज्ञा–प्रतिष्ठानको विभिन्न मुलुकका एकेडेमीसँग द्विपक्षीय सम्बन्ध छ । त्यसलाई विस्तार गर्ने र साहित्यिक, सांस्कृतिक आदान प्रदान गर्ने, विशेष गरी अनुवादका कामलाई अघि बढाई नेपाली साहित्य तथा साहित्यकारलाई संसारभर चिनाउने हाम्रो योजना छ ।