साप्ताहिक संवाददाता
विश्वकफ क्रिकेट–२०१९ का त्रममा भारत र पाकिस्तानबीचको खेल गत साता सम्पन्न भयो । म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको खेलमा भारतले पाकिस्तानमाथि प्रभावशाली जित निकाल्यो । विश्वास गर्न गाह्रो भए पनि पाकिस्तानले अहिलेसम्म भारतलाई विश्वकपका कुनै पनि खेलमा हराउन सकेको छैन । विश्वकपमा भारत र पाकिस्तानबीच अहिलेसम्म खेलिएका सातै खेलमा भारत विजयी हुँदै आएको छ । किन हो पाकिस्तानी टिम विश्वकपमा भारतका अगाडि कमजोर देखिन्छ ।
भारत–पाकिस्तानबीचको पछिल्लो खेललाई लिएर अहिले सामाजिक संजालमा खुबै चर्चा भैरहेको छ । नहोस् पनि किन ? विश्व क्रिकेटमा जब यी दुई टिम भिड्छन् त्यसको दर्शक संख्याले एक अरब छुन्छ । पूरा खेलकुद इतिहासमै यत्तिको तनाव र सनसनी पूर्ण खेल विरलै होला । कुनै समय यी दुई देश एउटै थिए, पछि अलग भए । अलग भएपछि उनीहरू सत्रु जस्तै भए । अहिले पनि यी दुई देशबीचको राजनैतिक तथा सामाजिक सम्बन्ध निकै कमजोर स्थितिमा छ । केही समय अघिसम्म त भारतले पाकिस्तानविरुद्धको यो खेल नै वहिस्कार गर्ने हल्ला थियो ।
भारतको काश्मिरमा आतंककारी आक्रमण भएपछि त्यसमा पाकिस्तानकै हात भएको निहुँ देखाएर यो खेल नै बहिस्कार गर्नुपर्ने माग भारतमा चर्को थियो । पछि सचिन तेन्दुलकर जस्ता वरिष्ठ पूर्व खेलाडीले त्यसो गर्न नहुने बताए । म्यानचेस्टरमा भएको उक्त खेल अघिसम्म यो विषय सेलाइसकेको थियो । त्यही खेल अघि भारतीय कप्तान विराट कोहलीले भने– खेललाई युद्धको रूप दिनु हुँदैन । यो अरू जस्तै एउटा सामान्य खेल मात्र हो ।
यद्यपि सबै दर्शकले उक्त खेललाई त्यसरी लिएनन् । अहिले एउटा तस्बिर भाइरल भैरहेको छ र त्यसमा पाकिस्तानका कप्तान सरफराज अहमद भारतविरुद्धको खेलकै क्रममा हाई काढिरहेका देखिन्छन् । कतिपयले के सम्म लेखेका छन् भने विकेटकिपर अहमदलाई खेलमा कुनै रुचि छैन, त्यसैले उनलाई अल्छि लागिरहेको छ । त्यसको ठीक उल्टो भारतीय कप्तान कोहली भने उक्त तस्बिरमा निकै फुर्तिला र जोसिला देखिन्छन् ।
यी त भए सामाजिक संजालका कुरा । खासमा अहिले भारत–पाकिस्तानबीचको क्रिकेटको समीकरण फेरिएको छ । एकातर्फ भारतीय क्रिकेट थप बलियो हुँदै गएको छ भने पाकिस्तानी क्रिकेट कमजोर देखिन थालेको छ । पाकिस्तानी क्रिकेटलाई लिएर एउटै कुरा दोहोर्याइन्छ– यो टिमले नियमित रूपमा अनियमित खेल प्रदर्शन गर्छ अर्थात पाकिस्तानी टिमको प्रदर्शन कहिले निकै राम्रो हुन्छ त कहिले निकै खराब ।
यस पटकको विश्वकपमै भनौं न, वेस्ट इन्डिजविरुद्धको खेलमा पाकिस्तानको प्रदर्शन निकै कमजोर रह्यो । त्यो लो स्कोरिङ खेल थियो तर त्यस लगतै उसले इंग्ल्यान्डजस्तो उपाधीको बलियो दावेदारलाई हरायो । त्यो भने हाइ स्कोरिङ खेल थियो । यस्तै उतारचढावपूर्ण खेल प्रदर्शन गर्दै पाकिस्तानले केही समय अघि मात्र इंग्ल्यान्डमै भएको च्याम्पियन्स ट्रफी जितेको थियो तर समग्रमा पाकिस्तानी क्रिकेट कमजोर नै भएको मानिन्छ र पाकिस्तानमाथि भारत लगातार बलियो देखिन थालेको छ ।
केही वर्ष अघिसम्म मात्र यो समीकरण फरक थियो । सचिन तेन्दुलकरकै समयसम्म पनि यी दुई टिम भिड्दा बढी खेल जित्ने काम पाकिस्तानी टिमले नै गर्थ्यो । अहिले त्यस्तो स्थिति छैन, कोहली जस्तै नयाँ पुस्ताका खेलाडी आएयता भारतले पाकिस्तानलाई जित्ने क्रम बढ्दो छ । महत्त्वपूर्ण प्रश्न, यस्तो किन हुन थाल्यो त भन्ने हो । यसका केही खास कारण छन् । जसमध्ये प्रमुख कारण हो– सन् २००८ देखि भारतमा सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) ।
आईपीएल सुरुभएपछि त्यसमा सहभागिता जनाउन विश्वका अब्बल दर्जाका खेलाडीहरू भारत आए । यसले भारतीय क्रिकेटको स्तर बढाउन मद्दत गर्यो । आईपीएलले गर्दा भारतीय टिममा पर्ने खेलाडी मात्र होइन, टिम बाहिर रहने खेलाडीको प्रदर्शन समेत राम्रो हुन थाल्यो । यही आईपीएल खेलेर भारतीय खेलाडी आर्थिक रूपमा निकै सबल भए । आईपीएलकै कारण भारतीय क्रिकेटका भौतिक पूर्वाधार, प्रशिक्षण तथा खेल मानसिकता सबैमा ठूलो सकारात्मक परिवर्तन आयो ।
त्यसको ठीक उल्टो परिस्थिति रह्यो, पाकिस्तानमा । पाकिस्तानी खेलाडीलाई आईपीएल खेल्न प्रतिबन्ध छ । त्यसमाथि पाकिस्तानको घरेलु क्रिकेट निकै कमजोर छ । पाकिस्तानको घरेलु क्रिकेट खस्कनुमा केही घटना जिम्मेवार छन् । यसका लागि सन् २००९ मा फर्कनु पर्छ, जति बेला पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टिममाथि आतंककारी आक्रमण भएको थियो । उक्त घटनामा ६ जना सुरक्षाकर्मीको निधन हुनुका साथै ७ जना खेलाडी घाइते भएका थिए । ऊक्त आत्रमण लगतै श्रीलंकाली टिम घर फर्कियो । त्यसयता कुनै पनि ठूलो टिम पाकिस्तान भ्रमणमा गएका छैनन् । भारत त पाकिस्तान जानेछैन नै, अस्ट्रेलिया, इङल्यान्ड र दक्षिण अफ्रिका जस्ता टिम पनि पाकिस्तान जान इच्छुक छैनन् ।
त्यसैले त पाकिस्तान आफ्नो घरमा खेल्नु पर्ने सिरिज युएईतिर खेल्न बाध्य छ । आतंककारी आक्रमण भएको वर्षदेखि नै पाकिस्तानी क्रिकेट पनि ओरालो लाग्न थालेको हो, खेल स्तर र आर्थिक दुवै रूपमा ।
एकातर्फ खेलाडीले राम्रोसँग खेल्न पाएनन् । अर्कातर्फ पाकिस्तानी क्रिकेट बोर्डको आम्दानी पनि सुक्यो, त्यसैले उसले राम्रो काम गर्न सकेन् ।
विश्वकप सुरु हुनुभन्दा ठीक अघि पाकिस्तानी टिम निकै खराव लयमा थियो । उसले लगातार एक दर्जनजति एक दिवसीय खेल हारेको थियो । इंग्ल्यान्डलाई हराएपछि मात्र टिमको आत्मविश्वास केही हदसम्म फर्किएको हो । भारतविरुद्धको हारपछि त्यो आत्मविश्वास फेरि कमजोर भएको छ । पाकिस्तान यसपटकको विश्वकपको सेमिफाइनलसम्म पुग्ने सम्भावना निकै कम भैसकेको छ ।