रसुवाको धार्मिक पर्यटकीय स्थल गोसाइँकुण्डमा केबलकार निर्माण हुने भएको छ । नेपालको महत्वपूर्ण धाम गोसाइँकुण्डमा वर्षमा दुई पटक मेला लाग्छ । भगवान शिवले कालकुट विष सेवनपछि पहरो खोपेर पानी निकालेको कुण्ड गोसाइँकुण्डलाई त्रिशुलधारा समेत भनिन्छ ।
धर्मिक तथा पर्यटकीय हिसावले विशेष महत्व राख्ने गोसाइँकुण्डमा केबलकार निर्माण गर्न दुईवटा संस्थाले प्रक्रिया अघि बढाएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले धुन्चेबाट तथा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीबाट गोसाइँकुण्ड केबलकार कम्पनी, महाराजगन्जले प्रक्रिया अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । केबलकार निर्माणको प्रस्तावित क्षेत्र निकुञ्ज क्षेत्रभित्र पर्छ । गोसाइँकुण्ड गाउँपालिका–६ सदरमुकाम धुन्चेबाट वडा नम्बर ५ मा पर्ने धार्मिक तथा पर्यटकीय तीर्थस्थल गोसाइँकुण्डसम्म केबलकार निर्माण प्रस्ताव गरिएको छ ।
‘केबलकार बनाउने भनेर दुवै स्थानबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा प्रस्ताव पेस भएको थियो,’ लाङटाङ राष्ट्रिय निकुन्जका सूचना अधिकारी शिवलाल गैरेले भने, ‘उक्त प्रस्तावमा विभागले निकुञ्जसँग केबलकारको संरचना रहने फिल्डको अनुगमन तथा प्रिफिजिबिलिटी प्रतिवेदन माग गरेको थियो ।’
केबलकारको संरचना रहने भनिएका दुवै ठाउँको स्थलगत अध्ययन गरेर निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रिफिजिबिलिटी प्रतिवेदन विभागमा पठाइसकेको गैरेले जानकारी दिए । गोसाइँकुण्ड समुद्र सतहभन्दा ४ हजार ३ सय ८० मिटरको उचाइमा छ । दुप्चेश्वरदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने केबलकारको दूरी करिब १० किलोमिटर हुनेछ ।
उक्त दूरीमा दुईदेखि तीनवटा टर्मिनल र २५ वटा टावर राख्ने कम्पनीको प्रस्ताव छ । त्यसैगरी सदरमुकाम धुन्चेदेखि गोसाइँकुण्डसम्म निर्माण गरिने केबलकारको दूरी करिब साढे ६ किलोमिटर हुनेछ । उक्त दूरीमा दुईवटा टर्मिनल तथा २८ वटा टावर रहने बताइएको छ । सदरमुकाम धुन्चेदेखि–गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि गाउँपालिकाले नै पहल गरिरहेको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
गाउँपालिकाले सार्वजनिक–निजी साझेदारीमा धुन्चे–गोसाइँकुण्ड केबलकार निर्माण गर्ने योजना अघि सारेको हो । उक्त केबलकार निर्माणमा करिब १ अर्ब ७५ करोड लाग्ने प्रारम्भिक अनुमान छ । धुन्चे–गोसाइँकुण्ड केबलकार छोटो दूरीका साथै सस्तोमा निर्माण हुने अध्यक्ष तामाङले बताए ।