साप्ताहिक संवाददाता
साउनदेखि भ्वाइस अफ नेपाल
गायनमा आधारित रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ को औपचारिक थालनी भएको छ । दोस्रो सिजनको यो प्रतियोगिताको अडिसनमा सहभागी २ हजार ३ सय प्रतिभामध्ये१ सय जनाभन्दा बढी ब्लाइन्ड अडिसनका लागि छानिएको बताइएको छ । छनौट भएका प्रतिस्पर्धीहरूले अब ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेछन् । अब कोचहरूले उनीहरूमध्येबाट उत्कृष्ट प्रतिभाहरूलाई अर्को चरणका लागि छनोट गर्नेछन् ।
द भ्वाइस अफ नेपाल सिजन–२ मा गायकत्रय दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा तथा गायिका आस्था राउत कोचका रूपमा सहभागी छन् । अघिल्लो सिजनका दुई कोच सनूप पौडेल तथा अभाया सुब्बाको स्थानमा लामा र राउत समावेश भएका हुन् ।
संगीतमा नयाँ प्रतिभा भित्र्याउन कोचको भूमिका महत्वपूर्ण हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेल बताउँछन् । यो कार्यक्रम साउनको पहिलो हप्तादेखि हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।
द भ्वाइस अफ नेपाल सन् २०१० मा द भ्वाइस अफ हल्यान्डको नामबाट प्रारम्भ भएको गायन प्रतिभा खोज्ने रियालिटी शो द भ्वाइसको नेपाली संस्करण हो । ‘द भ्वाइस’ अहिले विश्वका १ सय ९१ देशमा फ्रेञ्चाइज शोका रूपमा चलिरहेको छ । गत वर्ष भएको पहिलो सिजनको द भ्वाइस अफ नेपालमा सीडी विजय विजेता भएका थिए ।
असार १२ देखि लोकस्टार
नेपाली लोकगीतलाई व्यवसायिक बनाउने प्रयासअनुरूप नयाँ रियालिटी शो ‘नेपाल लोक स्टार’ को जन्म भएको छ । यो कार्यक्रमको लागत करिब १० करोड रुपैयाँ भएको बताइएको छ । यसको निर्माण चाहना मिडियाले गर्दैछ । लोकस्टारको प्रसारण असार १२ गतेदेखि प्रत्येक बिहीबार तथा शुक्रबार बेलुकी साढे ८ बजे एपी वान एचडीबाट हुनेछ ।
३६ श्रृंखलामा विभाजित यो रियालिटी शोको निर्णायक जयनन्द लामा, बीबी अनुरागी, रामजी खाँड तथा सुनिता दुलाल रहने छन् । लोकस्टारका विजेताले करसहित नगद ५० लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ । आयोजकहरूका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) तथा तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिनेछ ।
नेपाल लोक स्टारका लागि ७ वटै प्रदेशमा अडिसन लिइएको छ । ती अडिसनमा सहभागी हजारौं लोक तथा दोहारी गायक–गायिकामध्ये प्रत्येक प्रदेशबाट ५० प्रतिस्पर्धी छनोट गरिएको आयोजक संस्थाले जनाएको छ ।