साप्ताहिक संवाददाता
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गत सोमबारदेखि काठमाडौंमा साताव्यापी राष्ट्रिय नाटक महोत्सव–२०७६ सञ्चालनमा ल्याएको छ । गत सोमबार उद्घाटन गरिएको उक्त महोत्सव पर्सि आइतबारसम्म जारी रहनेछ । कालिकास्थानस्थित सर्वनाम थिएटरमा सञ्चालन भैरहेको नाट्य महोत्सवमा प्रत्येक साँझ ५ः३० बजे विभिन्न नाटक मञ्चन गरिन्छ ।
महोत्सवमा सोमबार कर्णाली थिएटर कलाकुञ्ज, मुगुको नाटक ‘पम्पा फूल’ मञ्चन गरियो । उक्त नाटकलाई हिरा बिजुलीले निर्देशन गरेका हुन् । महोत्सवको दोस्रो दिन मंगलबार प्रज्वल पराजुलीद्वारा निर्देशित नाटक ‘ईश्वरलाई चिठी’ मञ्चन गरियो । उक्त नाटक कलालय, इटहरीले मञ्चन गरेको हो । उक्त नाटकको आलेख सुगम दुलालले तयार पारेका हुन् । बुधबार मगर अध्ययन केन्द्र, ललितपुरको गीति नाटक ‘जीवैमामा’ प्रदर्शन गरियो । भीम मास्की रानाद्वारा निर्देशित उक्त नाटकलाई डा.मिन श्रीष मगरले संयोजन गरेका हुन् । यसैगरी हिजो बिहीबार क्षितिज नाट्य समुह, फिदिमको नाटक ‘घर भित्रको अर्को घर’ मञ्चन भयो । जीवन बरालद्वारा निर्देशित उक्त नाटकलाई भरत गुरागाईं ‘बर्बरीक’ ले लेखका हुन् ।
महोत्सव अन्तर्गत आज शुक्रबार तरंग सांस्कृति परिषद्, हेटौंडाको नाटक ‘अमर सिंहको खोजीमा’ मञ्चन हुँदैछ । तुलसी थापाद्वारा लिखित यो नाटकका निर्देशक उज्ज्वल शर्मा हुन् । महोत्सवमा भोलि शनिबार रंकला, गोरखाको नाटक ‘विकास भर्सेस निकास’ मञ्चन हुनेछन् । उक्त नाटकका लेखक तथा निर्देशक रामबाबु रेग्मी हुन् । महोत्सवको अन्तिम दिन अर्थात पर्सि आइतबार एम.आर्ट थिएटर, नेपालगञ्जको नाटक ‘कजरी’ मञ्चन हुँदैछ । उक्त नाटकका लेखक तथा निर्देशक विरेन्द्र हमाल हुन् ।
कस्ता छन् नाटक ?
पम्फा फूल
‘पम्पा फूल’ कर्णाली क्षेत्रमा प्राचीन समयदेखि स्थानीय बासिन्दाको जनजिब्रोमा झुन्डिएको प्रख्यात लोक कथा हो । माइती घरबाट दाइजोका रूपमा अथाह सम्पत्ति लिई फर्किरहेकी पम्पालाई उनकै दाजुले भ्रममा पारेर मार्छ र सारा सम्पत्ति फिर्ता लिन्छ । यो सबै घटनालाई आफ्नै आँखाले देखेको भाइ घरबार त्यागेर वनबास जान्छ । अन्ततः एकदिन सारा गाउँलेले पम्पाको मृत्युको रहस्य थाहा पाउँछन् र दाइलाई घृणाको दृष्टिले हेर्न थाल्छन् । सबैको घुणा सहन नसकेर एकदिन ऊ आफैं त्यही तलाउमा हाम फालेर आत्महत्या गर्छ ।
ईश्वरलाई चिठी
यो नाटकले एउटा गरिब किसान लामो समयको खडेरीपछि ईश्वरलाई चिठी लेख्नुपर्ने अवस्थासम्म पुगेको कथा भनेको छ । नाटकमा जीवन बस्नेत, हिमाल निरौला, अनुजा पौडेल, पूर्णिमा भट्टराई, प्रसुस ओझा, मनोज पुमा राई, विवेक थेबे, प्रजल दुलाल, सुमन शाह शंकर, अस्मित गौतम, विनय कोइराला, सुगम दुलाल, गरिमा पाठक, करण प्याकुरेल, विकास श्रेष्ठ, विमल बराल, माधवप्रसाद दाहाल आदि कलाकारले अभिनय गरेका छन् ।
जीवैमामा
वसन्त ऋतुको पूर्वसन्ध्यामा न्यानो बढ्दै जाने र खेतीपातीको कामबाट पनि फुर्सदिलो हुने हुँदा फूल तथा नवपालुवा सिर्जना गर्ने प्राकृतिक वातावरणले वैंशालु मनहरूलाई प्रेममय बनाइदिन्छ । त्यसैले माघ–फागुनलाई प्रणयोत्सवको समय वा विवाहको महिना मान्ने परम्परा रहिआएको छ । यिनै यथार्थता जीवैमामा लोकगीति–नाटकमा प्रतिविम्बित भएका छन् । यो गीतिनाटक प्राचीन समयदेखि प्रचलनमा आएको बताइन्छ । मामाचेली विवाहमा आधारित जीवैमामा लोकगीति–नाटकमा महिलाहरूको मात्र भूमिका देखिनुले प्राचीन मातृसत्तात्मक समाजको झझल्को दिन्छ ।
घरभित्रको अर्को घर
एउटा गाउँको कथा सहर पुगेर टुङ्गिन्छ । धनपति बूढाको ग्रामीण संसार सुन्दर नै हुन्छ । उनका छोराले आमाबुबालाई काठमाडौं लगेर पाल्ने निहुँमा वृद्धाश्रमसम्म पुर्याउँछ । गाउँको सम्पूर्ण सम्पत्ति बेचेर पैसा कुम्ल्याउँछ । कृष्ण सहरमा शिक्षक हुन्छ । सरु उसकी श्रीमती हुन्छे । सरुको विगतले कथालाई नयाँ मोड दिन्छ । सरोजसँगको उसको पुरानो सम्बन्धले सरुलाई बेचैन बनाउँछ । ऊ माइत जान्छे । सरोजले त्यहाँ पनि उसलाई पछ्याउँछ । सरु सबै कुरा श्रीमान्लाई सुनाउने गरी घर फर्कन्छे तर उसको श्रीमान् अर्कै केटीसँगको सम्बन्धमा हुन्छ । कृष्णको छोपिएको चरित्र उदाङ्गो हुन्छ । उनीहरूले एक–अर्कालाई आफ्नो लुकेको कथा सुनाउँछन् ।
अमरसिंहको खोजीमा
बालकृष्ण समले लेखेका थिए–‘अमरसिंहले डुबायो देशलाई ऋणमा देश भक्तिको ।’ नेपाली गौरवगाथाका अमर नायक अमरसिंह । तिनै इतिहास पुरुषको खोजी यो नाटकमा गरिएको छ । नाटकका सबै चरित्र अमरसिंहको खोजीमा छन् । प्रत्येक नागरिकले आफैभित्र अमरसिंह खोजिरहेका, राष्ट्रप्रेमको तेजलाई सदैव जीवित गरिरहेका छन् । यो नाटमा कलाकारहरूको भोगाइसमेत समेटिएको छ ।
विकास भर्सेस निकास
डाक्टर एसडी नेपालबाट छात्रवृत्ति पाएर डाक्टर भएपछि अमेरीका गएका हुन् । उनले अमेरीकामा हजारौ बिरामी जाँचेका थिए । नेपालमा भने उनलाई सेवा गर्ने अवसर प्राप्त भएको थिएन । डा. एसडी अमेरिकाको लामो बसाइ पश्चात नेपाल फर्किएका हुन् । उनी रिटायर लाइफ नेपालमै बिताउने उद्देश्यले फर्किएका छन् । उनलाई देशमा केही सेवा गर्न नसकेकोमा पश्चाताप छ । डा. एसडी आफूले कमाएको केही रकम लिएर नेपालमा विकास वा समाज सेवा गर्न चाहन्छन् । सेवा गर्न उनी विभिन्न ठाउँ खोज्न थाल्छन् । स्वास्थ्य शिक्षा, धर्म, जस्ता ठाउँमा भन्दा सबैका लागि काम लाग्ने सेवा खोज्दै जाँदा समाजका विभिन्न मानिस र समुदायसँग ठोक्किएपछि डा. एसडी एउटा निश्कर्षमा पुग्छन् ।नाटकको अन्त्य शौचालय को शिल्यान्याससँगै हुन्छ ।
कजरी
कजरी (कजली) साउन महिनामा बादलको कालोपनबाट लिएको छ, जुन गाजल जस्तै हुन्छ कालो बादल भनौं कालो काजल । अवधि लोक समाजमा अति प्रख्यात यो गीत साउन र भदौ महिनामा गाइन्छ । वर्षामा चुनरी ओढेर युवतीहरू बगैंचामा पिङ झूल्दै कजरी गाउँछन् । पति आफूलाई छोडेर धेरै समयदेखि विदेश गएका कारण प्रेमी वा पतिलाई सम्झिएर विरहको गीत गाइन्छ । त्यससँगै भाउजू र नन्दको हाँस–परिहास पनि जोडिन्छ । यो नाटकमा पति वा प्रेमी वर्षौंसम्म घर नआएको अनि प्रेमिकाले प्रेमीलाई सम्झी बिलौना गाउँदै एक्लो जीवन निर्वाह गरेको कथा प्रस्तुत गरिएको छ ।