‘परिवर्तन अपरिहार्य छ, यो सम्भव पनि छ । त्यो पनि हाम्रै जीवनकालमा ।’ पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले घोषणा गरेको पार्टि ‘नयाँ शक्ती नेपाल’ को घोषणा सभापछि कान्तिपुरसँग उनले भनिन्, ‘डा. भट्टराईको भिजन र सपना मलाई राम्रोसँग चित्त बुझ्यो, सोहि कारण नयाँ शक्तीमा आबद्ध भएँकी हुँ ।’ करिश्मालाई यति कुराले मात्रै राजनितीमा सक्रिय हुन कहाँ मन लागेको हो र ? कलाकारिताले मात्रै नेपालको मुहार फेर्न गाह्रो भो, उनले भनिन्, ‘यसका लागी उत्तम बाटो राजनिती हुन सक्छ, सोहि कारण राजनितीमा लागेकी हुँ ।’
बिहान देखि साँझसम्म निरन्तर नयाँ शक्तिको कार्यक्रम, पार्टी कार्यालय बबरमहल, पार्टीका विभिन्न छलफलमा व्यस्त हुने करिश्माको दैनिकी अहिले भने पुरै फेरिएको छ ।
विगतमा बिहान खाजा समेत नखाएर घरबाट निस्कने करिश्मा आजभोली आफ्नै इच्छा अनुसार घरबाट निस्कने गर्छिन् । उनका फोनमा पार्टी सचिवालयबाट कुनै फोन आउँदैन, म्यासेज आउँदैन । राती ८–९ बजे घर फर्किने करिश्मा अहिले रात नपर्दै घर फर्किसकेकी हुन्छिन् । विगतमा राजनितीको गन्ध आउने किसिमका स्ट्याटस आउँथे, अहिले आउँदैनन् । विभिन्न कार्यक्रम, सभा–समारोहका तस्विर फेसबुकमा आउँथे, अहिले विगतमा जस्तै हिरोइन लुक्समा दैनिकजसो तस्विर पोस्ट हुने गर्छन् ।
करिश्माका आजभोलिका क्रियाकलाप हेर्ने हो भने, उनमा राजनीतिमार्फत देशको मुहार फेर्ने सोच हटेर विगतमा जस्तै हिरोइन भएर चलचित्रमा देखिने मन छ कि जस्तो देखिन्छ । यी कुराका बलिया दर्शक बनेका छन्, उनका पछिल्ला स्ट्याटस । मिडियामा उनले दिएका अभिव्यक्ती ।
२०७२ साल । माघ महिना । नयाँ शक्ति पार्टी घोषणा पछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जति चर्चामा आए, उनी जस्तै चर्चामा थिइन्, करिश्मा । किनकी घोषणा कार्यक्रममा उनले कार्यक्रम चलाएकी थिइन्, त्यसअघिदेखि ज्यान दिएर पार्टि निर्माणमा सहयोग गरेकी थिइन् । नयाँ शक्तीको स्थापना कालदेखिनै चर्चामा रहेकी करिश्मा त्यसको ४ बर्षपछि खाली हात घर फर्किएकी छिन् ।
अभिनेत्रीको रूपमा प्रतिष्ठा कमाएकी करिश्मा नयाँ शक्तिको निर्वाचनमा भरपुर रुपमा काम गरिन् । चुनावी प्रचारमा नेपालका हरेकजसो जिल्लामा पुगिन् । दैनिक रुपमा मिडियामा आइन् । राजनीतिक विचारधाराको वकालत गरिन् । तर, नयाँ शक्तीले सोचेजस्तो मत प्राप्त गर्न सकेन । विगत केहि वर्षदेखिनै पार्टिबाट निराश बनेकी करिश्मा पछिल्लो समय डा. बाबुराम भट्टराईले नयाँ शक्तिलाई संघीय समाजवादी फोरमसँग गाभेपछि आधिकारिक रुपमा भट्टराईसँग सम्वन्ध बिच्छेद गरेको संकेत दिएकी छिन्, राजनीतिक समूहबाट टाढिएकी छिन् । हालसम्म उनी कुनै पनि पार्टिसँग नजिक भैसकेकी छैनन् । निकै दुःख र मिहेनतका साथ स्थापना गरेको पार्टिबाट निस्किएपछि करिश्मालाई कत्तिको मन दुख्या छ ? त्यो उनैलाई थाहा होला । तर, पछिल्लो समय उनले आफुले दुःख गरेर बनाएको पार्टीले आफ्नो अवमुल्यन गरेको महसुस हुन थालेको मिडियामा बताउन थालेकी छिन् । आधिकारीक कुरा के हो ? कान्तिपुरसँग कुराकानी गर्दै उनले भनिन्, ‘मैले यस बिषयमा दुईवटा कुरा मात्रै भन्न चाहन्छु, ‘केहि बोल्दिनँ’ ।’
करिश्माले आधिकारिक भनाईको रुपमा उक्त दुई शब्दको जवाफ दिएपनि उनी नयाँ शक्तीसँग निकै रुष्ट भएको भाव झल्कियो । बोलेर मात्रै केहि नहुँदोरहेछ, सोचेका सबै सपना पुरा नहुँदा रहेछन्, करिश्मा भन्छिन्, ‘म यस्ता कुरादेखि अहिले टाढा भएकाले केहि नसोधिदिनोस् है ।’
संघीय समाजवादी फोरमसँग एकताका बेला पार्टीले आफूलाई लायक नदेखेकोमा चित्त दुखेको बताइन्छ । पार्टिसँगको सम्वन्ध निकै पातलो गराइसकेकी करिश्मालाई समाजवादी पार्टि घोषणा गर्ने बेलामा पार्टिले पटक–पटक फोन सम्पर्क गरेको संघीय समाजवादीले जनाएको छ । तर, हरेक म्यासेज र फोनलाई इग्नोर गरेको पार्टिका एक सदस्यले बताए । करिश्मा पुनः पार्टिमा फर्कने सम्भावना छ कि छैन ? संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य तथा डा. बाबुराम भट्टराईका स्वकिय सचिव विश्वदिप पाण्डे भन्छन्, ‘उहाँले पार्टिबाट बाहिरिएको म्यासेज छोड्नुभएको छ, भेटघाट गरेर निर्णय लिएको भए फरक कुरा हो ।’ यद्यपी करिश्मालाई पुनः पार्टिमा फर्काउन पहल गर्ने उनले बताए । उहाँ राम्रो सोच राख्ने कार्यकर्ता हो, उनले भने, ‘यति धेरै वुझ्ने व्यक्तीले सानो कुरामा चित्त दुखाएर टाढा हुनु राम्रो होइन, पार्टि स्थापनादेखिको संघर्ष र उपलव्धीलाई हेरेर पनि उहाँ फर्किए राम्रो होला ।’
कहाँ बिग्रियो कुरा ?
चुनावको समयमा करिश्मा निकै खटेर लागिन्, तर रिजल्ट सोचेभन्दा उल्टो आयो । उनमा एकाएक निराशा उत्पन्न भयो । नयाँ शक्तीले ल्याएको भोट जोड्दा राष्ट्रिय पार्टि पनि बनेन । के गर्ने अब ? यहि बेला हो, करिश्माको मनले बाटो फेरेको । पार्टीका अधिकांश मिटिङमा आउनै छोडिन् । संघिय समाजवादीका एक नेता भन्छन्, ‘सायद त्यो बेला पार्टि छोड्न नसक्ने–खटेर काम गर्न पनि नसक्ने दोधारमा परेपछि उहाँले अध्ययन सुरुवात् गर्नुभएको हो, अध्ययन गर्नु त नराम्रो होइन तर अध्ययन बहाना गराउनुभयो ।’ चुनावपछि करिश्माले रोकिएको अध्ययन सुरुवात् गर्ने निर्णय गरिन् । ८ कक्षामा भर्ना भइन्, गत बर्ष ग्यालेक्सी स्कुलमा । अहिले उनले मैतीदेविमा रहेको त्रिवेणी स्कुलबाट एसईई परिक्षा दिइन् । त्यतिबेला देखि बिग्रिएको करिश्माको राजनितीक यात्रामा त्यसपछि विभिन्न तनाव उत्पन्न भए । कहिलेकाहि मात्रै पार्टिका कार्यक्रममा आउने तर पार्टिले मतलव राख्न छोड्यो । एकपटक डा. बाबुराम भट्टराईले त सबैसामु भने, ‘तपाईले समय दिन सक्नुहुन्छ भने नियमित पार्टिका हरेक गतिविधीमा चासो दिनुस्, मिटिङमा रेगुलर उपस्थित हुनुस् । हैन भने मैले केहि भन्दिनँ ।’ करिश्माले नयाँ शक्ती छोड्ने मनसाय पार्टि भित्रका धेरैले बुझिसकेका थिए । डा. भट्टराई देखि उनका स्वकिय सचिव विश्वदिप तथा अन्य कार्यकर्ताले समेत निरन्तर सम्झाएका थिए । डा. भट्टराईले त एकपटक नयाँ शक्तीको विशेष २५ सदस्यीय कमिटी बनाउन लागेको र नियमित समय दिन सक्नेहो भने उक्त कमिटीमा राख्छु समेत भनेका थिए । तर, कसैले केहि भनेर नलागेपछि उनले आधिकारिक रुपमा पार्टि छाडेकी हुन् ।
डा. भट्टराईपछिको पदमा बार्गेनिङ !
करिश्माले अप्रत्यक्ष रुपमा डा. भट्टराईपछि आफुलाई सोच्ने गरेको स्रोतको दाबि छ । उनले समेत निरन्तर डा. भट्टराईपछिको पदमा घुमाउरो पारामा बार्गेनिङ गरेको बताइन्छ । नाम नखुलाउने सर्तमा प्रदेश ५ का एक सदस्य भन्छन्, ‘हामी यतिका बर्ष सबै छोडेर लाग्दा त हातमा लाग्यो सुन्य भएका छौं, उहाँलाई अहिले भर्खरै उचाईमा पुग्नु छ, अचम्मै छ ।’ राजनीतिमा लामो समयको त्याग र संघर्षपछि मात्रै एउटा विन्दुमा पुगिने बताउँदै उनले थपे, ‘राजनितीमा टन्न कमाउन र तुरुन्तै विभिन्न किसिमका लाभ उठाउन आउने ठाउँ हैन ।’
भट्टराईको इन्द्रेणी राष्ट्रवाद र हिमाल पहाड तराईको नारामा आकर्षित भएर नयाँ शक्तिमा लागेकी करिश्मा बाबुरामलाई गाली गर्ने पक्षमा छैनन् । स्रोतका अनुसार यो पार्टि छोडेपनि करिश्मा राजनीति छाड्ने मुडमा नरहेको र उनी अर्को राजनीतिक दल प्रवेश गर्ने मुडमा छिन् ।
अहिले के गर्दैछिन् करिश्मा ?
राजनिती छोडेपछि करिश्मा मानन्धर पुर्सदमा छिन् । अहिले उनको हातमा न चलचित्र छ न राजनितीको कुनै काम । यो फुर्सदिलो जीवन करेशावारीमा सदुपयोग गरेकी छिन् । टन्न अर्गानिक तरकारी फलाएकी छिन् । फ्याट्टफुट्ट काठमाण्डौं निस्कने उनि नजिकका साथीभाइहरुसँग भेटघाट, घुमघाममा ब्यस्त छिन् । छोरी कवितालाई समेत अभिनय क्षेत्रमा ल्याउने कोसिस गरिरहेकी छिन् । उनी भन्छिन्, ‘अहिले खासै केहि छैन, केहि भयो भने पक्कै मिडियामा आउने छु ।’