साप्ताहिक संवाददाता
वरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साइनो’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘कुन मायाको साइनो’ बोलको गीतमा नीता ढुंगाना, मीरुना मगर र राज कुमारबिचको त्रिकोणात्मक प्रेम देखाइएको छ ।
एलिश कार्कीको संगीत, प्रताप दास र जीना रसाइलीको स्वरमा रहेको गीतको भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतमा राजेशकुमार श्रेष्ठको शब्द सृजना छ ।
साउन २४ गते सार्वजनिक चलचित्रमा नीता, मिरुना र राजसँगै नेपालकै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, बिशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बसुकला मैनालीलगायतका कलाकारको अभिनय छ ।
अभिमन्यु निरवी लिखित सिनेमाको कार्यकारी निर्माता शरण थापा हुन् । चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण भएको सिनेमामा रामेश्वर कार्कीको छायाँकन, बनिश शाहको सम्पादन छ ।
‘टिक-टक च्यालेन्ज’ आव्हान
रमेश थापा निर्देशित सिनेमाले यसै गीतको लागि ‘टिक-टक च्यालेन्ज’ पनि बाहिर ल्याएको छ । गीतको कुनै पनि अंशमा इच्छुकले टिक-टकबाट भिडियो बनाउन सक्नेछन् । यसरी बनाइएको टिक-टक भिडियोलाई सिनेमा ‘साइनो’को अफिसियल फेसबुक पेजमा सेन्ड गरेर च्यालेन्जमा सहभागिता जनाउन सकिनेछ ।
च्यालेन्जमा उत्कृष्ट हुने भिडियोलाई निर्माण टिमले आकर्षक पुरस्कार पनि तय गरेको छ । जस अनुरुप प्रथम हुने भिडियोलाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजारको दरले पुरस्कार छुट्टयाइएको छ ।
त्यस्तै पाँच जनालाई गिफ्ट ह्याम्पर र दुई जना भाग्यशालीलाई आस्था कला केन्द्रमा १ वर्षको लागि निशुल्क प्रशिक्षणको व्यवस्था गरिनेछ । विजेताहरु घोषणा चलचित्र रिलिज अगावै हुनेछ ।