साप्ताहिक संवाददाता
मानिसले संगीतको प्रयोग कसरी प्रारम्भ गर्यो ? भन्ने विषयमा अहिलेसम्म कुनै ठोस प्रमाणित इतिहास लेखिएको छैन । नृवंशशास्त्रका अध्येताहरूका अनुसार ३० हजार वर्षअघि पनि मानिसले संगीतको प्रयोग जानेको थियो । हरेक जाति, समाज, धर्म र क्षेत्रका संगीतसँग सम्बन्धित आ–आफ्नै मान्यता र इतिहास छन् ।
तीमध्ये सबैभन्दा गौरवमय परम्परा हिन्दूहरूसँग छ । हिन्दू मान्यताअनुसार परमपिता ब्रह्माले ब्रह्माण्डको सृष्टि गरेपछि ब्रह्माण्डमा देखिएको शून्यतालाई चलायमान बनाउन सबैभन्दा पहिले आवाजको सृष्टि गरे, जसलाई नाद भनिन्छ । त्यही नादलाई सर्वव्यापी बनाउन ब्रह्माले मृदंग (एक प्रकारको मादल) सृष्टि गरे । त्यही मृदंग नै संसारको पहिलो वाद्ययन्त्र मानिन्छ ।
ब्रह्माले मृदंगको सृष्टिपछि ब्रह्माण्डमा फैलिएको नादलाई सुरिलो बनाउन विणासहितकी देवी सरस्वतीको सृष्टि गरे । देवी सरस्वतीले जब पहिलोपटक विणा बजाइन् त्यसपछि ब्रह्माण्डमा फैलिएको नाद कर्णप्रिय हुन थाल्यो । देवी सरस्वतीले विणा बजाएपछि त्यसबाट जुन स्वर उत्पन्न भयो त्यसलाई नै संगीतको सप्तस्वर भनिन्छ । हामी यसलाई सा रे गा मा प ध नि का रुपमा बुझ्छौं । जसमा सा को अर्थ गणपति, रे को अर्थ अग्नि, गा को अर्थ रुद्र, मा को अर्थ विष्णु, प को अर्थ नारद, ध को अर्थ सदाशिव तथा नि को अर्थ सूर्य हुन्छ ।
देवी सरस्वतीले संगीतका सात स्वरको सृष्टि गरेपछि भगवान् शिवले रागको सृष्टि गरे । संगीतका मूल राग ६ थरीका हुन्छन् । तीमध्ये राग भैरव शिवको पाँचमध्ये पूर्वी मुखबाट, राग हिंडोल पश्चिम मुखबाट, राग मेघ उत्तर मुखबाट, राग दीपक दक्षिण मुखबाट तथा राग श्री आकाशतर्फ फर्किएको मुखबाट निस्किएका हुन् । शिवले यी पाँच रागको सृष्टि गरेपछि देवी पार्वतीले त्यसमा छैटौं रागका रुपमा राग कौशिक थपिदिइन् ।
रागको उत्पत्तिपछि रागिनीहरू पनि त्यही क्रममा उत्पत्ति भए । हरेक राग र रागिनीका आठ–आठवटा सन्तान थिए, जसलाई उपराग भनियो । अहिले प्रचलनमा रहेका ८४ थरीका रागका स्रोत शिवले सृष्टि गरेका मूल ६ वटा राग नै हुन् । शिवले यी राग सृष्टि गर्दा आफ्नो वाद्ययन्त्र डमरु प्रयोग गरेका थिए ।
भगवान् विष्णुले ब्रह्माको सृष्टिलाई सम्पूर्णता दिन समुद्रबाट शंख ग्रहण गरे । पाञ्चजन्य नाम दिइएको उक्त शंख बजेपछि नै पृथ्वीमा जीवनको प्रारम्भ भएको मानिन्छ । कथाअनुसार पहिले पृथ्वीमा भूत, प्रेत, पिसाचजस्ता अनिष्टकारी तत्त्वहरूको बास थियो । भगवान् विष्णुले शंख बजाएपछि ती अनिष्टकारी तत्त्वहरू निर्मूल भएपछि नै ब्रह्माले पृथ्वीमा जीवनको सृष्टि गरेको हिन्दू आख्यानहरू बताउँछन् ।
हिन्दू मान्यतामा जति पनि देवदेवीहरूको कल्पना गरिएको छ तीमध्ये धेरैजसोलाई कुनै न कुनै वाद्ययन्त्रसँग देखाइएको छ । उदाहरणका लागि कृष्ण र बाँसुरी, नारद र तानपुरा, रावण र विणालाई लिन सकिन्छ ।