भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्ने हेतुले मकाउमा एभरेष्ट हाईकिङ आयोजना गरियो । महाबाणिज्य दूतावास र एनआरएनए हङकङकोे सहकार्यमा एभरेष्ट हाईकिङ सफलतापूर्वक सम्पन्न भएपश्चात मकाउमा आयोजना गरिएको हो । हाइकिङमा सयौंको उपस्थिती थियो ।
‘नेपालको यात्रा, जीवनभरिको अनुभव’ स्लोगन सहित सगरमाथा दिवसको अवसर पारेर हङकङमा हाईकिङको आयोजना गरिएको थियो ।
मकाउमा सम्पन्न हाईकिङमा हङकङ–मकाउका महावाणिज्यदूत कमलप्रसाद भट्टराई, दूतावासका पदाधिकारीहरु, हङकङ एनआरएनए अध्यक्ष टिका गुरुङ लगायत विभिन्न संस्थाका प्रतिनिधीहरु हङकङबाट सहभागी थिए ।
एनआरएनए मकाउका अध्यक्ष शान्तिदेबी अधिकारीका अनुसार भिजिट नेपाल २०२० लाई टेवा पु–याउनकै लागि हाईकिङको आयोजना गरेको बताईन् । ब्यस्त समयकाबिच राष्ट्रिय झन्डा बोकेर जुन उत्साह र गौरवका साथ नेपालीहरुले साथ दिनुभयो, त्यो हाम्रो लागि महत्व र गौरवको विषय थियो, उनले भनिन् ।
हाईकिङमा मकाउका पूर्व अध्यक्ष एवंम चेम्बर अफ कर्मसका वर्तमान अध्यक्ष सुदर्शन थापा, नेपाली जनसम्पर्क मकाउका अध्यक्ष चण्डी योंग्गा, एनआरएनए मकाउका पूर्व महासचिव कृष्ण अधिकारी लगायत विभिन्न जातीय संघसस्थाका प्रतिनिधीहरु, ब्यापारीहरुको उल्लेखय उपस्थिती थियो ।
महावाणिज्यदूत कमलप्रसाद भट्टराई भन्छन्, ‘देश भन्दा माथि हामी कोहि पनि छैनौं, पहिले नेपाल अनि हामी नेपाली । संसारकै उत्कृष्ट प्राकृतिक भूमि नेपाल पर्यटनको लागि आकर्षक गन्तब्य मध्ये एक हो । यसलाई प्रवद्र्धनको खाचो छ ।’ हामीले विदेशी भूमिमा नेपाल र नेपालका प्राकृतिक सम्पदाहरुको परिचय दिदै सन् २०२० लाई पर्यटन बर्षको रुपमा विकास गर्नका लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिरहेका छौ, उनले थपे ।