गोपाल श्रेष्ठ ५६ वर्षका भए । सन् २००३ मा आफू एचआईभी संक्रमित भएको कुरा सार्वजनिक गरेका श्रेष्ठ पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन् । उनले हालै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । गत जेठ ८ गते बिहान ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेका श्रेष्ठ सगरमाथा आरोहण गर्ने पहिलो एचआईभी संक्रमित हुन् । सन् २००३ मै डाक्टरले उनलाई तीन महिनाभन्दा बढी बाँच्न नसक्ने बताएका थिए, तर उनी आत्तिएनन् । उनी अहिले मृत्युलाई जितेर अरुको प्रेरणाको श्रोत बनिरहेका छन् । विगत २६ वर्षदेखि एचआईभी संक्रमित श्रेष्ठले यसअघि वि.सं. २०७२ मा पनि सगरमाथा आरोहणको प्रयास गरेका थिए । त्यतिबेला भूकम्पका कारण आधार शिविरबाट फर्किएका श्रेष्ठले आफ्ना ५ जना सहयात्रीलाई गुमाए पनि उनी भने बाँचे । पूर्व फुटबल खेलाडी श्रेष्ठले आफ्नो समयमा फ्रेन्ड्स क्लबलाई ए डिभिजनमा पुर्याउन महत्वपुर्ण भूमिका खेलेका थिए । उनले रानी पोखरी कर्नर टिम (आरसिटी) तथा त्रिभुवन आर्मी क्लबबाट पनि खेलिसकेका छन् । हाल पोखरा महानगरपालिका वडा नम्बर–७ रत्नचोकमा बसोबास गर्ने श्रेष्ठ योग गुरु पनि हुन् । अहिले उनी व्यवसायिक रूपमै योग सिकाउँछन् । साप्ताहिकका लागि राजाराम पौडेलले पोखरामा भेटेर गरेको कुराकानी :
धेरै जनाको सपना हो सगरमाथा आरोहण गर्ने, पहिलो प्रयासमा सफल हुनुभएन, दोस्रो प्रयासमा सफल हुनुभएको छ, कस्तो लागिरहेको छ ?
एकदमै खुसी लागिरहेको छ, कुनै कुरा गर्छु भनेर संकल्प लिएर हिँडेर जब त्यो लक्ष्य प्राप्त गरिन्छ, त्यसपछिको आनन्द बयान गर्न सकिँदैन ।
तपाईंको साहस, इच्छाशक्तिलाई कम आँकलन गर्नेहरू पनि त थिए ?
हो, यसलाई अलि अर्कै तरिकाले सोच्नेहरू पनि थिए । यो अभियान सुरु गरेदेखि बीचको ७ वर्षको दौरानमा, यो एउटा एचआर्ईभी संक्रमित हो यसले सगरमाथा आरोहण गर्न सक्दैन, यसले बेकारमा आँट गर्न खोज्यो जस्ता विभिन्न किसिमका कुरा सुन्नमा आए । उहाँहरूलाई ‘एटलिष्ट’ मैले बुझाउन सके, यो कुराले मलाई बढी खुसी लाग्छ, किनभने सपोर्ट गर्नेले त सपोर्ट गरिरहनुभएकै थियो, यो अभियानलाई फरक तरिकाले लिने व्यक्तिहरू, गर्न सक्दैन, नौटंकी हो देखि लिएर विभिन्न किसिमका प्रतिक्रिया सुनेको थिएँ, एउटा गतिलो उदाहरणचाहिँ बनाएँ मैले, यसमा सन्तुष्ट छु ।
सगरमाथा आरोहण गर्छु भन्ने सोच कहिले, कसरी आएको थियो ?
सर्वसाधारणमा एचआईभी संक्रमितहरूप्रतिको सोच त्यति सकारात्मक छैन, तर मलाई अरूभन्दा बेटर पर्फमेन्स दिन सक्छु भन्ने लाग्थ्यो । यसलाई प्रमाणित गर्न कुनै न कुनै काम गर्नुपर्छ भन्ने लागिरहेको थियो । एचआइभी संक्रमितहरू मानसिक एवं शारीरिक रूपमा कमजोर हुँदैनन्, उनीहरूले नपाएको भनेको अवसर र सहभागिता हो भन्ने पार्न चाहन्थें । म खेल पृष्ठभूमिको मान्छे । सगरमाथाका बारेमा धेरै कुरा बुझेको थिएँ । मानिसहरू हत्तपत्त एभरेस्ट चढ्न चाहँदैनन्, गएका कति फर्कंदैनन् । बाँच्ने र मर्ने सम्भावना फिफ्टी–फिफ्टी हुन्छ । ८ हजार मिटरभन्दा माथि त एकदमै च्यालेजिङ छ भन्ने कुरा सुन्थें । यसले मलाई छोयो । यत्रा मानिस चढिरहेका छन् । हामीले चाहिँ किन सक्दैनौं, सक्छौं भन्ने कुरा मनमा आयो र सगरमाथा चढ्ने निधो गरे ।
तपाईं कसरी एचआईभी सक्रमित हुनुभएको थियो ?
म पहिल्यैदेखि अलग स्वभावको थिएँ । आफ्नो समुदाय र राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने सोच टिनएजदेखि नै थियो, त्यसैले विभिन्न सामाजिक कार्यमा खटिन्थें । सकियो भने राष्ट्रको नाम उज्ज्वल बनाउने सपना थियो । म ए डिभिजन राष्ट्रिय फुटबल खेलाडी पनि भएँ, तर दुर्भाग्यको कुरा मेरो जीवनमा लागूपदार्थ आयो । मैले त्यसलाई बुझ्न सकिनँ, जसका कारण म दुर्व्यसनको सिकार भएँ । दुर्व्यसनकै कारण मैले धेरै किसिमका समस्या भोग्नुपर्यो । समाजमा लागूपदार्थ प्रयोगकर्ताहरूलाई हेर्ने दृष्टिकोण तथा उनीहरूप्रति गरिने व्यवहार सकारात्मक छैन, यिनीहरू बिमारी हुन् नभनी यिनिहरू नैतिक पतन भएका व्यक्ति हुन्, आपराधिक स्वभावका हुन्छन्, पूर्वजन्मको पाप हो भन्ने जस्ता कुरा समाजमा विद्यमान थिए । पछि लागुपदार्थ प्रयोग गर्ने क्रममा म एचआईभी संक्रमित भए ।
एचआईभी संक्रमित भएको कति पछि थाहा पाउनुभयो ? त्यति बेला के भयो ?
जब मैले आफू संक्रमित भएको थाहा पाएँ, मलाई एकदम गाह्रो भयो । डाक्टरले तिमीलाई एचआईभी लागेछ, तिमी दुई–तीन महिनाभन्दा बढी बाँच्दैनौ भने । खास म एचआईभी टेस्टका लागि गएको थिइनँ । म अन्य कामका लागि डाक्टरलाई भेट्न गएको थिएँ । डाक्टरले दुर्व्यसनको ब्याकग्राउन्डका बारेमा सुन्नुभयो, त्यसपछि उहाँले मेरो ब्लड टेस्टका लागि पठाउनुभयो । उहाँले एचआईभी टेस्ट गर्न लागेको कुरा पनि भन्नुभएको थिएन । ‘ब्लड ड’्र गर्न भन्नुभयो, त्यसको रिपोर्ट आएपछि जब उहाँले त्यस्तो कुरा सुनाउनुभयो, म छाँगाबाट खसेजस्तो भए । चारैतिर अन्धकार छाएजस्तो फिल भयो । म ‘ब्ल्यांक आउट’ पनि भएँ त्यतिबेला । डाक्टरले मेरी मुमा तथा दिदीसँग उसलाई एचआईभी लागेछ, टेक केयर, अब यो धेरै पनि बाँच्दैन भन्ने कुरा गरे ।
संक्रमित भएको थाहा पाएपछि परिवारबाट कस्तो व्यवहार भयो ?
मलाई परिवारले कहिल्यै हेंला गरेन । मर्छ भनिसकेपछि मृत्यु त गाह्रो हुन्छ अनि यसलाई कसरी सहज बनाउने भनेर म लागुपदार्थतर्फ थप आकर्षित भए, मलाई घरबाटै लागूपदार्थ उपलब्ध गराइदिनुहुन्थ्यो, यो मर्दैछ, किन तड्पाउने भनेर ।
मर्दैछु भन्ने कुराले कतिको सताउँथ्यो ?
म नसाको गहिराइमा रहन्थें कि कहिल्यै होसमा आउन चाहन्नथें, होसमा आउनेबित्तिकै मलाई डर लाग्थ्यो, म मरिहाल्छु कि गाह्रो मृत्यु हुन्छ कि भन्ने थियो । म हाईमा गएपछि त सजिलै मृत्यु हुन्छ, ‘ट्रिप’ मै मर्न पाइन्छ भन्ने कुराले आकर्षित भए । धेरै समय बित्यो, मैले समय बितेको पत्तो पाइनँ, तर डाक्टरले भनेजसरी मेरो मृत्यु भएन ।
लागूपदार्थलाई आफ्नो जीवनबाट हटाउने निर्णय कसरी लिनुभयो ?
आठ–नौ वर्षपछि श्रीमतीले एउटा कुरा दिमागमा हालिदिइन्, उनीसँग पैसा माग्ने, पैसा नभए सामान बेचिदिने काम गर्न थालेपछि मलाई घरबाट निष्कासनसमेत गरियो । परिवारलाई मर्न पनि नमर्दो रहेछ भन्नेसमेत लाग्न थाल्यो । अनि मलाई कता–कता आफूले परिवारलाई ‘मेन्टली टर्चर’ दिइरहेको छु भन्ने आभास भयो । छोरालाई सम्झिएँ, मेरो व्यवहारले छोरालाई कस्तो असर पर्ला भन्ने कुरा मनभित्रैबाट आयो । मैले लागूपदार्थलाई बुझ्न सकें । यसले परिवार र समाजमा पारेको नकारात्मक प्रभाव महसुस भयो अनि परिवर्तित हुने अठोट गरें ।
एचआईभी संक्रमित भएको कुरा सार्वजनिक गर्नुको कारण के थियो ?
मैले यो कुरा सन् २००३ मा सार्वजनिक गरें । अरूलाई पनि चेतना होला भनेर नै हो । यो बिरामी हो, मानसिक एवं शारीरिक रूपमा कमजोर छ भनेर केही गर्न नदिने, गर्न सक्दैनस् भन्नेहरू प्रशस्तै थिए । मलाई चाहिँ यसरी सार्वजनिक गरेपछि ग्रामीण भेगमा रहेका मजस्ता थुप्रै व्यक्तिलाई सपोर्ट होला, हौसला आउला भन्ने थियो ।
सार्वजनिक गरेपछि तपाईंले सोचेजस्तै भयो त ?
सार्वजनिक त गरें तर समाजले अझै पनि एचआईभी संक्रमितहरूलाई स्वीकार गरिसकेको थिएन, कतिपयलाई त्यसका बारेमा ज्ञान नै थिएन, जसले गर्दा पूर्वाग्रही भएर वा कलंक लगाएर, मानिसलाई विभिन्न अनैतिक कुरासँग जोडेर हेर्ने चलन थियो । कसैलाई पनि म एचआईभी संक्रमित हुँ भन्ने हुँदैन, त्यसैले म आफूलाई करेक्सन गर्न पुनःस्थापना केन्द्र गएँ, त्यहाँ पनि वातावरण सहज थिएन । उपचार पनि सजिलो थिएन, आफू त परिवर्तन भइन्थ्यो, तर आफ्नो परिवार र समाजले सोच्ने कुरामा कुनै परिवर्तन आइरहेको थिएन । सहयोग गर्न नखोज्ने, अवसरबाट वञ्चित गर्न खोज्ने । त्यसैले सोचे जस्तो त थिएन ।
सगरमाथा चढ्ने सोच बनेपछि त्यसलाई साकार रूप दिन कसरी अघि बढ्नुभयो ?
सगरमाथा चढ्ने सोच सन् २००९ मा आएको थियो । मैले सुरुमा मेरै संस्थाको फ्लोरमा यसलाई बहसको विषय बनाएँ । जान रेडी छु, सहयोग गरौं भनें तर खासै सहयोग पाइनँ । समय बित्दै गयो । फिजिकल्ली म कत्तिको फिट छु भनेर तालिम लिएको थिइनँ । सबैभन्दा पहिले थोरङ पास गरें सन् २०१३ को अक्टोबरमा, ५ हजार ४ सय १७ मिटर त्यसको हाइट थियो । त्यसले मेरो कन्फिडेन्ट बढायो । त्यतिबेला म एउटा मञ्चमा टिम लिडरका रूपमा काम गर्थे । मैले सन् २००९ देखि त्यतिबेलासम्म ५–६ लाख जम्मा गरेको थिए । चढ्ने भन्ने कुरा त गरें तर त्यो आर्थिक रूपमा पनि सहज थिएन । सुजन गुरुङले प्रपोजल बनाउन सहयोग गरे । उनीसँगै धेरै ठाउँमा लविङ गर्न थालें । कम्तीमा ६ हजार मिटरको एउटा पिक चढेको हुनुपर्छ भन्ने कुरा आयो । तत्काल २०१४ फेब्रुअरीमा आइसल्यान्ड चढ्ने मौका पाए । त्यसमा १४ जनामध्ये ४ जना सफल भए जसमा म पनि थिएँ । त्यसबाट म उत्साहित भएँ । हामीले स्टेप अप क्याम्पियन भनेर समिति गठन गर्यौं । २८ लाख जम्मा भयो । त्यतिबेला ‘गेटिङ टु जिरो’ भन्ने थिम आएको थियो । संक्रमण, विवेदपूर्ण व्यवहार र एड्ससँग रिलेटेड मृत्युलाई शून्यमा झार्ने टार्गेट गरिएको थियो ।
सन् २०१५ मा हामी सगरमाथा आरोहणका लागि गयौँ, तर २०७२ को महाभूकम्पका कारण म पनि हिउँपहिरोमा परे । त्यतिबेला मैले ५ जना साथी गुमाएँ । सौभाग्यको कुरा म बाँच्न सफल भएँ । सायद यो अभियानलाई पूर्णता दिनु थियो । हेलिकोप्टरबाट रेस्क्यु गरेर मलाई काठमाडौं ल्याइयो भने केही समय रिकभर हुन पनि लाग्यो ।
त्यत्रो ठूलो घटना घटिसकेपछि भो नचढौं भन्ने भएन ?
अझ चढ्नुपर्छ भन्ने भयो, सन् २०१६ मा दोलखा जिल्लाको भर्जिन पिक चढ्ने अवसर मिल्यो । कोही पनि नचढेको पिक चढें । पछि पुन सगरमाथा चढ्ने कुरा लिएर विभिन्न ठाउँमा पुगे, त्यतिबेला रवीन्द्र अधिकारीको आश्वासनले केही ऊर्जा थप्यो, रकम जुटाइदिने आश्वासन पनि पाएको थिएँ, तर उहाँको निधन भएपछि त्यो पनि सम्भव भएन । अहिले हामी झन्डै १५ लाख ऋणमा छौँ ।
दोस्रो पटक सगरमाथा चढ्ने कुरामा परिवारको सपोर्ट थियो ?
पहिले त दाइ तथा श्रीमतीले नचढ भने, फेरि जाँदा त्यस्तै घटना घट्यो भने भन्थे । मेरो सोच जानैपर्छ भन्ने थियो, किनभने समाजको सोच परिवर्तन गर्नुथियो, कसैले–कसैले त गर्नुपर्यो, मैले आह्वान गरे अरूलाई पनि, अरू कोही अघि सर्नु भएन, कारण उहाँहरूलाई नै थाहा होला, सबैका आ–आफ्नै परिस्थिति र बाध्यता होलान्, तर मलाई लाग्यो, एक न एक दिन त मर्नैपर्छ भने कुनै काम, आफूले चाहेको काम गर्दागर्दै मरिन्छ भने त्यो एक किसिम राम्रै हुन्छ । यसमा परिवार पनि कन्भिन्स भयो ।
सरकारी स्तरबाट तपाईंको अभियानलाई सहयोग भएन ?
सरकारले सहयोग गरेन । क्याबिनेटमा पत्र गएको थियो । रवीन्द्र अधिकारीले एउटा भेटमा के भन्नुभएको थियो भने— मैले तपाइको प्रस्ताव क्याबिनेटमा लगेको, सबैले हाँसोमा उडाए, यस्ता एचआईभी संक्रमितलाई सुसाइड गर्न पठाउने हो र ? यस्तो वाइयात ‘टपिक्स’ लिएर आउने भनेर क्याबिनेटका साथीहरूले भन्नुभयो रे, उहाँले मसँग सेयर गर्नुभएको । यद्यपि आज आएर सरकारलाई दर्हो जवाफ दिन सकेका छौं । सरकारी निकायबाट सहयोग पाएनौ बरु विदेशमा बस्ने नेपालीहरूले सहयोग गरे । धेरै व्यक्तिका कारण यो अभियान सफल भयो ।
कत्तिको खुसी अनि सन्तुष्टि मिलेको छ अहिले ?
खुसी लाग्छ, मैले जे सोचेको थिएँ त्यो पूरा गर्न सके । हो, धेरै किसिमका चुनौती आए । मानिसहरूले त्यत्तिकै भनेका रहेनछन्, मानिसहरू त्यत्तिकै जान खोज्दा रहेनछन् एभरेस्ट । चुनौती हुँदा–हुँदा पनि सबैको माया, सद्भाव अनि सबैको पोजेटिभ सोचका कारण म कहिल्यै डराइनँ । यति गरेपछि हाम्रो समुदायलाई हेर्ने दृष्टिकोण, गरिने व्यवहारमा परिवर्तन आउँछ, राष्ट्रलाई पनि विश्वसामु चिनाउने दायित्व पूरा हुने, कति एचआईभी संक्रमित लुकेर बसिरहेका छन्, हिनताबोध गरेर बसरिहेका छन् । हामी केही गर्न सक्दैनौ भनेर बसिरहेका छन् । उनीहरूलाई खुलेर अगाडि ल्याउन मद्दत मिल्छ । हरमानिस जन्मिएपछि समाजप्रति, राष्ट्रप्रति जिम्मेवार हुन्छ, उसले त्यसलाई पनि फुलफिल गरोस् भन्ने हुन्छ । अहिले म त्यही गर्न पाएकोमा खुसी र सन्तुष्ट दुवै छु ।
सगरमाथाको चुचुरोमा पाइला राख्दाको अनुभव ?
एकदमै उत्साहित थिएँ, ५० प्रतिशत मैले कम्प्लिट गरेको थियो, चुचुरोमा पुग्नुनै ठुलो कुरा थियो तर त्यो ५० प्रतिशत मात्र थियो, त्यो ५० प्रतिशतको आनन्द मैले मजाले लुटें । किनभने म टपमा पुग्दा करिब पौने ६ बजेको थियो । हामी रातको ८ बजे हिडेका थियौं । निरन्तर कहीं नरोकिई हामी ‘सब समिट’ पुगेका थियौं । ‘सब समिट’ पुग्दा भर्खर क्षितिजपारि उज्यालो किसिमको लाइट इफेक्टहरू चेञ्ज इफेक्टहरू, महसुस भैरहेको थियो, सुन्दर थियो दृश्य ।
त्यतिबेला सबैभन्दा पहिले कसलाई सम्झनुभयो ?
सबैभन्दा पहिले श्रीमतीलाई सम्झिएँ, परिवारलाई सम्झिएँ, सबै सहयोगीहरूलाई सम्झिएँ ।
सगरमाथाको चुचुरोबाट हेर्दाको अनुभव कस्तो थियो ?
मैले त्यहाँबाट हेरें, एस्, यही नै रहेछ टप भन्ने भयो, त्यहाँबाट देख्दा सबै कुरा आफूभन्दा तल पाएँ, एउटा छुट्टै किसिमको आनन्द आयो । म पक्कै स्वर्गमै आइपुगेछु कि भन्ने महसुस भयो । किनभने त्यसका लागि हामीले अथक मेहनत गरेका थियौं ।
सगरमाथा चढ्दा समस्या भएन, ट्राफिक जामको कुरा पनि सुनिएको थियो ?
ट्राफिक जामले गर्दा केही समस्या भयो । हिँड्ने बाटो एउटा छ र त्यो सार्है साँघुरो छ, त्यही दिन करिब २ सय ९४ मानिस माथि पुगेका थिए । त्यहाँ ट्राफिक जाम भयो, सब समिटबाट टप समिट जान १५ मिनेट लाग्ने बाटो दुई घण्टा लाग्यो ।
तपाईंको आँखामा समस्या आएर आकस्मिक उद्धार गर्नुपर्ने भयो कसरी भयो त्यस्तो ?
अलिकति मेरो प्राविधिक गल्तीले गर्दा हो, मैले अक्सिजन माक्स लगाएको थिए, त्यो माथिबाट टाइट नगरी लुज गरेको रहेछु,, जुन कार्बनडाइअक्साइड मैले फाल्छु, त्यो फाल्ने फिल्टरमा हिउँ जमेको रहेछ । हिउँ जमेका कारणले फालेको वाफ मेरो माथिबाट निस्कने, अनि गभमा लाग्ने, त्यो वाफ आएर लाग्ने बित्तिकै तुरुन्तै आइस हुने, जसले गर्दा मैले चस्मा लगाएर टोटली केही नदेख्ने, चस्मा खोल्नुपर्ने । धेरै पटक चस्मा खोलेपछि शेर्पा भाइले भनेका थिए— दाइ नखोल्नुहोस् है नखोल्नुहोस्, समस्या आउँछ, ‘स्नो ब्लाइन्ड’ हुन्छ, भनेर गाली पनि गरे । जाम छ म रेगुलर हिड्न सक्दिनँ, चस्मा नखोली बाटो पनि देख्दिनँ, समस्या भएपछि खोलिरहनुपर्यो । पछि घाम लाग्दै गयो, हिउँमा त्यस्तो खालको शक्ति हुँदो रहेछ, टप समिटमा पुग्दा म ब्लाइन्ड हुन थालिसकेको थिएँ, अनि मैले फटाफट शेर्पा भाइलाई इन्फरमेसन दिइहालें, भाइ स्नो ब्लाइन्ड हुन सुरु भयो, मैले अँधेरो–अँधेरो देख्न थालें, लगेको व्यानर जति छिटो–छिटो डिस्प्ले गरौं भने, महत्वपूर्ण ब्यानरमा पोखरा महानगरपालिकाको ब्यानर पनि थियो । ब्यानर डिस्प्ले गरेपछि शेर्पा भाइले अक्सिजन पनि लिमिट छ, तपाईंलाई यस्तो भयो अब समस्या आउने भयो भने । भाइलाई मैले भने मलाई जसरी भएपनि क्याम्प–४ मा पुर्याउनु, म टोटली ब्लाइन्ड हुन लागिसके, नदेखेपछि कसरी जाने भने, दाकिपा शेर्पाले योसँगै नौ पटक आरोहण गर्नु भएको रहेछ, उहाँको सहयोग र निर्देशनमा म फर्कन सफल भए ।
आँखामा समस्या भएर फर्कन समस्या हुन थालेपछि मनमा कस्तो सोच आएको थियो ?
माथि पुगेपछि मेरो एउटा सोच के थियो भने म माथि त आएँ, अब तल झरेर सगरमाथा चढेको कुरा अरूलाई सुनाउनुपर्छ, यदि मलाई केही भयो भने यो मात्र ‘अनकम्प्लिट’ हुन्छ, जुन उद्देश्य बोकेर अभियान चलाएका थियौं, त्यो पूरा नहोला भनेर एकदमै चिन्तित थिएँ, तर म एकदमै धन्यवाद दिन चाहन्छु डिमर्स डेस्टिनेसनका प्रोपाइटर फुर्वा तेन्जिङ शेर्पालाई, उहाँको प्लान एभरेस्ट चढेर ल्होत्से पनि चढ्ने थियो रेकर्डका लागि, उहाँ सबैभन्दा कम उमेरमा धेरैचोटी आरोहण गर्ने व्यक्ति । दाकिपा शेर्पा भाइले ओकेटोकेमा गोपाल दाइलाई त स्नो ब्लाइन्ड भयो भनेपछि उहाँ आफ्नो प्लान क्यान्सिल गरेर बस्नुभयो । म उहाँलाई सम्मान गर्छु । क्याम्प–२ बाट मलाई हेली रेस्क्यु गरियो, मेरो इन्स्युरेन्स गरेको पैसाले हेलिकोप्टरको भाडा पुग्दैन भनिए पनि टान पोखराका साथीहरूको सहयोगमा मेरो रेस्क्यु भयो ।
हिमाल आरोहणमा शेर्पाको महत्व र आवश्यकता कस्तो हुँदो रहेछ ?
हिमाल आरोहणका लागि शेर्पा भगवान जस्ता रहेछन्, मेरा लागि पनि त्यही सिद्ध भयो, होइन भने म सँगै गएकी उडिसाकी कल्पना दासको फर्कंदा मृत्यु भयो । राम्रो शेर्पा नपाएको भए सायद मेरो पनि त्यस्तै हालत हुने थियो । म पनि फर्केर आउने थिइनँ होला । त्यसैले पनि शेर्पाहरू प्रति मेरो छुट्टै सम्मान छ ।
आरोहणका क्रममा देखेको सगरमाथाको स्थिति कस्तो थियो ?
क्याम्प–४ मा धेरै फोहर थियो, हुन त त्यहाँको अवस्था पनि त्यस्तै छ, त्यसका लागि स्पेसल क्लिन अपरेशन चलाउनुपर्छ सरकारले । सरकारले एउटा सिजन अरुनै हिमाललाई महत्व दिएर, एभरेस्टलाई रोकेर व्यवसायिक शेर्पा दाजुभाइलाई मोभिलाइज गरी सफा गर्न सके राम्रो हुन्छ । बाटोमा हिँड्ने क्रममा हामीले बेवारिसे लास पनि देख्यौं । शेर्पा नलिएका कारण उनीहरूको मृत्यु भएको बताइन्छ । जे भए पनि यस्ता मृत शरिरलाई तल ल्याउने व्यवस्था गर्नुपर्छ ।
यहाँको व्यवस्थापन कस्तो थियो, सन्तुष्ट हुनुहुन्छ ?
माउन्ट एभरेष्ट भनेको विश्वको सबैभन्दा अग्लो चुचुरो, धेरै व्यक्ति त्यहाँ पुग्न चाहन्छन्, त्यसमा अलिकति व्यवस्थापन सरकारले हेरिदिनुपर्छ । मैले सुनेअनुसार तिब्बतबाट जाने बाटोमा बेसक्याम्पसम्म गाडी चल्छ, तर मलाई बेस क्याम्प पुग्न १३ दिन लाग्यो, त्यहाँ सबै कुरा बजारीकरण छ, जहाँ पनि लुटपाट, त्यहाँको इन्टरनेट लिनुपर्यो भने यति महँगो छ कि एउटा कार्डको ५ हजार अथवा ७ हजार ५ सय पर्छ । एकपटक आफ्नो फोटो अपलोड गरेर दुई–तीन जनासँग कुरा गर्यो भने त्यो पैसा सकिन्छ, यस्ता कुरा मलाई ठीक लागेनन् ।
नेपाली आरोही कतिको ग्राह्यतामा पर्छन् ?
नेपालीलाई विशेष ग्राहयतामा राख्नुपर्यो, किनभने नेपालीले सगरमाथा चढ्छु भन्दा उसलार्ई दोस्रो दर्जाको व्यवहार गरिन्छ । लुक्लामाथि चढेपछि जे कुरा पनि डलरमा हुन्छ । हामी नेपाली हौ, हामी आफ्नै देशको हिमाललाई एक्सप्लोर गरौं, विश्वसामु चिनाउ भनेर लाग्छौ, तर सरकार मौन छ सरकारबाट कुनै सहयोग छैन ।
आपत्कालीन उद्धारको व्यवस्था कस्तो रहेछ ?
म इन्स्युरेन्स गरेर गएको छु, तर उद्धारका लागि त्यो इन्सुरेन्सको रकमले पुग्दैन भनिन्छ, यो कस्तो कुरा हो, रोयल्टी तिरेर गएका छौं, समस्या पर्दा उद्धार गर्न इन्स्युरेन्सको रकम पुग्दैन, सरकारले यो कुरालाई सम्बोधन गर्नुपर्छ । तत्काल उद्धार गर्न इन्स्युरेन्सले भ्याउँदैन भनियो । म त साथीहरूका कारण जिउँदै फर्कन सकें, अरू नसक्नेहरू त्यही मर्ने त ?
एचआइभी संक्रमितका रूपमा पहिलो पटक सगरमाथा चढेको दाबी गर्नुभएको छ, यसलाई औपचारिकता दिन के गर्दै हुनुहुन्छ ?
यो हाम्रो अभियान हो । रेर्कड दर्ता गर्छौं, कहाँ–कहाँ सम्भव हुन्छ त्यहाँ दाबी गर्ने हो । यो एचआईभी संक्रमितको कुरा मात्र होइन, अन्य रोग लागेर निराश भएका, हीनताबोध गरेर बसेका मानिसहरूलाई पनि ऊर्जा दिन्छ यो घटनाले । यस्तो व्यक्तिले यसरी आफ्नो लक्ष्य प्राप्त गर्यो भनेपछि अरूमा ऊर्जा थपिन्छ ।
सगरमाथा आरोहणपश्चात् सरकारबाट केही प्रतिक्रिया–सपोर्ट पाउनुभो ?
खोइ किन हो, सरकार मौन छ । देश–विदेशमा भएका साथीहरूको सहयोग उठाएर मैले यो आरोहण पूरा गरेको हुँ । नेपाललाई चिनाउने मौका पाएँ, तर सरकारले सम्बोधन गरेन । हामी पर्यटन बोर्डमा जाँदा कसैलाई पैसा दिँदैनौ भनियो, तर मैले त्यहाँ २५ लाख लिएर गएका मानिस प्रशस्तै भेटें । हामीले दातृ निकायबाट पनि खासै सहयोग पाउन सकेनौं ।
तपाईंको अबको योजना ?
हाम्रो उद्देश्य एचआइभी संक्रमित तथा प्रभावित बालबालिकाको शिक्षा तथा उनीहरूको जीवनस्तरलाई माथि उकास्न काम गर्ने हो । एचआइभी संक्रमित ग्रामीण बालबालिकाका लागि पालनपोषण तथा शिक्षामा सपोर्ट गरेर असल नागरिक बनाउने उद्देश्य छ । एउटा अनुसन्धानले के पनि देखाएको छ भने एन्टिरेक्टर भाइरल युज गरेका बालबालिकाको बौद्धिक स्तर तुलनात्मक रूपमा राम्रो छ ।
तपाईंको दैनिकी ?
बिहान ४ बजे उठ्छु, योग गर्छु, म ३० जना साथीलाई आफैं योग गराउँछु, केदारेश्वर योग केन्द्रमा । एन्टिरेक्टर भाइरल नियमित खाइरहेको छु, मेरा लागि यो जरुरी छ । यसका लागि खानपानमा पनि विशेष ध्यान दिनुपर्छ भने आफ्नो बानी–व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्ने हुन्छ ।