साप्ताहिक संवाददाता
मौलिकता बिर्संदै जानु नै नेपाली संगीतको सबैभन्दा ठूलो समस्या हो । नेपाली मौलिक बाजाहरूको प्रयोग घट्दै जानाले पनि नेपाली संगीतलाई ठूलो असर परिरहेको छ । अटो टियुनको माध्यमबाट जो कोही पनि गायक–गायिका हुँदा वर्षौं काम गरे पनि मेहनतअनुसारको फल नपाउनु दुःखको कुरा हो ।
लक्ष्मी बर्देवा, अभिनेत्री
यो विषयमा म जवाफ दिन सक्दिनँ, म आफैं कन्फ्युजमा छु ।
ऋचा शर्मा अभिनेत्री
अध्ययनको कमी र संगीतमा सेन्सर नहुनाले पनि अहिलेको संगीतमा समस्या आएको हो कि जस्तो लाग्छ ।
टेकेन्द्र शाह, भिडियो निर्देशक
सबैभन्दा ठूलो समस्या कस्ता गीत जनतासामु पुर्याउनुपर्छ भन्ने सेन्सर बोर्ड नहुनु । अर्को आफैं गीतकार, संगीतकार, गायक, मोडल, निर्देशक हुनु अनि आफ्नै युट्युब च्यानल पनि । सबैभन्दा ठूलो समस्या नै यही हो ।
दिनेश काफ्ले, हास्यकलाकार
कुनै मापदण्ड नहुनु र पूर्ण व्यवसायिक नहुनु नै अहिलेको मूल समस्या हो ।
बद्री पंगेनी, गायक
गीतको कपी, पेस्ट गर्ने चलन नै समस्याका रूपमा छ ।
धीरज राई, गायक
स्तरीय गीत–संगीतको अभाव एवं स्रष्टाले मिडियामा मनग्य स्थान नपाउनु । गीत–संगीतलाई साधनाका रूपमा नहेरिनु, बजारको हिसाबले मात्र हेरिनु । भोलिका दिनमा नेपाली गीत–संगीतको स्तर र भविष्य कता पुग्ला ? सोचनीय स्थिति छ । गीत–संगीत कलाका लागि हुनुपर्छ भने यसले दर्शक तथा श्रोताको सोच बदल्न सक्नुपर्छ ।
आनन्द राई, संगीतकार
अनिश्चित प्रतिफल खोज्ने अनि अव्यवस्थित प्रविधि र फितलो व्यवस्थापन जसका कारण गीत–संगीत समस्यामा पर्छन् ।
नवराज पन्त, गीतकार
प्रविधिले गर्दा सबैको संगीतमा सहज पहुँच छ जसले गर्दा संगीतमा दिगोपनको समस्या आएको हो कि ?
हेमन्त शर्मा, गायक
क्वालिटी नहुनु, गीत–संगीत र गायकीमा ढुक्क भएर लगानी गर्न नसक्नु तथा पैसाको भरमा गीत गाउने तथा शब्द लेख्ने प्रचलन हाबी हुनु ।
रामचन्द्र काफ्ले, गायक
संगीतमा माफियाको सिन्डिकेट हुनु र स्रष्टाहरूको अधिकारका नाममा दलालहरू हाबी हुनु ।
लक्ष्मण शेष, संगीतकार
यो प्रश्नको जवाफ दिन गाह्रो छ, त्यसैले उत्तर दिन नसक्ने भए ।
कुलेन्द्र विश्वकर्मा, गायक
मैले देखेको समस्याचाहिँ डिजिटलाइजेसन हो, लाखौं लगानी छ, गीत हिट पनि हुन्छ तर लगानी फिर्ता हुँदैन ।
टंक तिमिल्सिना, गायक
हप्ता–हप्तामा नयाँ–नयाँ गीत आउँछन् तर सबैले बुझ्ने गीत आउँदैनन् । सबैले अरूको देखासिकी नगरी मौलिकतालाई ध्यान दिनुपर्यो ।
मरिचमान श्रेष्ठ, हास्यकलाकार
सिर्जनशीलताको अभाव र मौलिकता नहुनु नै अहिलेको संगीतको प्रमुख समस्या हो । यी दुई समस्या निराकरण भयो भनेमात्र नेपाली संगीत उभो लाग्न सक्छ ।
मिना निरौला, गायिका
अहिले नेपाली संगीतको सबैभन्दा ठूलो समस्या ट्रेन्ड फलो गर्नु हो । बजारमा एउटा कुनै गीत सफल भयो भने त्यस्तै शैलीका सयौं गीत आउँछन् जसले दर्शक–श्रोताहरूलाई वाक्क लगाउँछ । त्यस्तै, युट्युब भ्युजलाई मात्र प्राथमिकता दिँदा गुणस्तर खस्कँदै गैरहेको छ ।
महेश काफ्ले, गायक
ट्रेन्डिङको पछि लागेर राम्रा गीत पनि मरे ।
अञ्जु पन्त, गायिका
म संख्याभन्दा गुणस्तरमा विश्वास गर्छु । गीतको संख्या बढेसँगै गुणस्तरमा ध्यान कम हुँदै गएको छ । यो नै अहिलेको नेपाली संगीतको प्रमुख समस्या हो ।
निराजन कँडेल, गायक