साप्ताहिक संवाददाता
हिसिला महर्जन कुनै बेलाकी लोकप्रिय अभिनेत्री हुन् । नेपाल भाषाको चलचित्र राजामतीमा अभिनय गरेपछि चर्चामा आएकी हिसिलाले त्यसपछि विभिन्न चलचित्र, टेलिश्रृंखला तथा म्युजिक भिडियोहरूमा अभिनय गरेकी छिन् । कीर्तिपुरमा जन्मिएर त्यतै हुर्किएकी हिसिलाले बाल्यकालदेखि नै ऐतिहासिक महिला कीर्तिलक्ष्मीका बारेमा सुनेकी थिइन् ।
राजामतीमा अभिनय गरेपछि उनलाई कसैले कीर्तिलक्ष्मीको भूमिकामा प्रस्तुत गरे पनि हुन्थ्यो भन्ने लाग्थ्यो । काठमाडौंमा यसै साता आयोजित एउटा समारोहमा हिसिला भन्दै थिइन्—‘निर्देशक प्रदीप खड्गीले मेरो सपना पुरा गरिदिनु भएको छ ।’
हिसिलाका अनुसार प्रदर्शनको तयारीमा रहेको चलचित्र कीर्तिपुरमा उनले कीर्तिलक्ष्मीको भूमिका निर्वाह गर्ने मौका पाएकी छिन् । ‘ऐतिहासिक चलचित्रमा मुख्य भूमिका निर्वाह गर्न पाउँदा उत्साहित पनि भएँ, हिसिला भन्छिन्—‘एउटी योद्धाको भूमिका सशक्त रूपमा निर्वाह गर्न सफल भएकोमा खुसी छु ।’