साप्ताहिक संवाददाता
कलाकार रागिनी उपाध्याय बबरमहलमा आयोजित नेपाली क्यारिकेचर प्रदर्शनीमा आफ्नो क्यारिकेचर देखेर भन्दै थिइन्– मेरो नाक यत्तिको ठूलो त छैन नि ? नीति श्रेष्ठले कोरेको रागिनीको उक्त क्यारिकेचरले प्रतियोगितामा दोस्रो स्थान हात पारेको थियो ।
नेपाली कार्टुनिस्ट क्लबले आयोजना गरेको क्यारिकेचर प्रदर्शनीमा सञ्चालित प्रतियोगितामा बिरोचमान् मल्लले बनाएको गायक राजेश पायल राईको क्यारिकेचरले पहिलो स्थान हात पारेको थियो भने महेश बास्ताकोटीले कोरेको निर शाहको क्यारिकेचरले तेस्रो स्थान हासिल गरेको थियो ।
नेपालका चर्चित कार्टुनिस्टहरूले तयार पारेको विभिन्न क्षेत्रका सेलिब्रेटीहरूका क्यारिकेचर हाँस उठ्ने किसिमका थिए ।
दीपक गौतमले सीताराम कट्टेलको धुर्मुस क्यारेक्टरलाई क्यारिकेचर गरेका थिए भने अर्का चित्रकार कृष्णगोपाल श्रेष्ठले धुर्मुस–सुन्तली पानी लिन गएको क्षणलाई आफ्नो क्यारिकेचरमा उतारेका थिए । यस्तै योगेश खपाङ्गीले वरिष्ठ पत्रकार किशोर नेपालको हेराइलाई आफ्नो बिषय बनाएका थिए । ४० जना कार्टुनिस्टले सहभागिता जनाएको उक्त प्रदर्शनीमा शताब्दी पुरुष सत्यमोहन जोशी तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेका क्यारिकेचर पनि आकर्षणमा रहे ।
तस्बिरहरू : नवराज वाग्ले/श्रुति श्रेष्ठ