साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीले हालसम्म कुनैपनि अभिनेत्रीसँग दोहोर्याएर काम गरेका छैनन् । ठीक त्यसैगरी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि हालसम्म कुनै पनि अभिनेतासँग दोहोर्याएर काम नगरेको कीर्तिमान कायम गरेकी छिन् ।
अनमोलसंगै चलचित्र ड्रिम्समार्फत रजतपटमा उदाएकी साम्राज्ञीले चलचित्र ‘मारुनी’ सम्म आइपुग्दा हरेक चलचित्रमा नयाँ अभिनेतासँग अन स्क्रिन रोमान्स गरेकी छिन् । साम्राज्ञीले ए मेरो हजुर–२ मा सलिनमान बनियाँसँग अभिनय गरेकी थिइन् भने इन्टु मिन्टु लण्डनमाका लागि धीरज मगरसँग उनको जोडी बाँधिएको थियो ।
चलचित्र तिमीसँगमा उनले आकाश श्रेष्ठसंग अनस्क्रिन रोमान्स गरेकी थिइन् भने चलचित्र ‘कायरा’ मा उनलाई आर्यन सिग्देलको साथ मिल्यो । चलचित्र ‘मारुनी’ मा उनलाई अभिनेता पुष्प खड्काको जोडीको रुपमा देख्न पाइनेछ । हाल छायांकनमा रहेको चलचित्र ‘रातो टीका निधारमा’ मा उनी नयाँ अनुहार अंकित शर्मासँग रोमान्स गर्दै छिन् ।