साप्ताहिक संवाददाता
वर्षायाममा नेपाल–भारतका तराई क्षेत्रमा महामारीकै रूपमा फैलने डेंगु प्रदूषित पानीका कारण लाग्ने रोग हो । यो रोग एडेस एजिप्टि नामक पोथी लामखुट्टेमार्फत फैलन्छ । यो लामखुट्टेले प्रायः दिउँसो मानिसलाई टोक्छ ।
सामान्य ज्वरो र डेंगुका कारणले आउने ज्वरोलाई त्यतिकै छुट्याउन सकिंदैन । डेंगु एक प्रकारको सरुवा रोग हो र यो रोग कुनै पनि उमेर समूहका मानिसमा देखा पर्न सक्छ । सामान्यतया यो रोगको लक्षण लामखुट्टेले टोकेको ४ देखि ७ दिनमा देखा पर्छ ।
डेंगुका लक्षण
कडा ज्वरो डेंगुको सबैभन्दा मुख्य लक्षण हो । डेंगुले च्यापेको मानिसलाई १ सय २ देखि १ सय ३ फरेनहाइटसम्म ज्वरो आउँछ ।
डेंगुले च्यापेपछि हातखुट्टाको जोर्नी, मांसपेशी तथा हाडमा तीव्र पीडा हुन्छ ।
डेंगुमा मन उद्वेलित हुन्छ र मानिसले घबराहट अनुभव गर्छ ।
डेंगुले च्यापेपछि शरीरमा स–साना राता दाग देखा पर्छन् । त्यस्तो दाग कहिले–काहीँ चिलाउन पनि सक्छ ।
धेरैजसो डेंगु पीडितले आँखाको पछाडिको भाग दुखेको अनुभव गर्छन् ।
डेंगुले च्यापेपछि मानिसले अत्यधिक थकान अनुभव गर्छ ।
डेंगुको संकेत
पेटमा तीव्र पीडा
नाक र गिजामा रक्तस्राव
छाला चिलाउने गतिमा वृद्धि
चक्कर आउनु
धमिलो देख्नु ।
डेंगुको उपचार
डेंगुको उपचार त्यसको लक्षण र गम्भीरतामा निर्भर गर्छ ।
डेंगुले आक्रमण गरेपछि सबैभन्दा पहिले रगतको जाँच गरिन्छ, जसमा रगतमा प्लेटलेटको मात्रा गणना गरिन्छ ।
प्लेटलेटको मात्राअनुसार बिरामीको उपचार अस्पताल वा घरमै पनि गर्न सकिन्छ ।
डेंगुबाट पीडित धेरैजसो मानिस घरमै सही तरिकाले गरिएको आराम, बढीभन्दा बढी पानीको सेवन र चिकित्सकद्वारा तोकिएको औषधीको सही प्रयोगले चाँडोभन्दा चाँडो निको हुन्छन् ।
त्यसो त डेंगु आफैं ठीक हुने रोग हो र यो ७ देखि १० दिनमा पूर्ण रूपमा हराउँछ ।
के गर्ने ?
डेंगुका कारण आएको ज्वरो कम भएपछि वा हराएपछिका ४८ घण्टासम्म धेरैभन्दा धेरै पानी पिउने ।
चिकित्सकद्वारा सिफारिस गरिएको औषधी सही समय र मात्राअनुसार सेवन गर्ने ।
डेंगुबाट पीडित रोगीले पिसाब कति गर्छन् त्यसको रेकर्ड राख्नुपर्छ । बढीभन्दा बढी पिसाब भए शरीरमा पानीको मात्रा ठीक छ भन्ने बुझ्नुपर्छ र पानी पिउन कम गर्नु हुँदैन ।
पिसाबको रंग र मात्रामा पनि ध्यान दिनुपर्छ ।
डेंगुका बारेमा फैलिएका भ्रमहरूबाट जोगिनुपर्छ । अहिलेसम्म डेंगु निर्मूल गर्ने कुनै चमत्कारिक औषधी निर्माण हुन् सकिएको छैन । त्यसैले अरूको कुरा सुन्नुभन्दा आफ्नो चिकित्सकमा विश्वास गर्नुपर्छ ।
रोगीको स्याहारमा खटिएका मानिसले कुनै पनि किसिमको लापरबाही गर्नुहुँदैन । सम्भव भएसम्म चिकित्सकको सल्लाहअनुसार रोगीको रेखदेख गर्नुपर्छ ।