साप्ताहिक संवाददाता
अब नेपाली चलचित्र ‘सानो मन’ २७ असारमा रिलीज हुने भएको छ । यो चलचित्रलाई यसअघि २० असारमा रिलीज गर्ने भनिएको थियो ।
चलचित्रलाई अझ राम्रो बनाएर दर्शकमाझ ल्याउन एक साता पछि रिलिज डेट सारिएको निर्माता राजेन्द्र मानन्धरले बताएका छन् । ‘प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको हो ।’ निर्माता मानन्धरले भने, ‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो ल्याउन लागेका हौं ।
चलचित्र सानो मनमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्र हो ।
सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका छन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको सानो मनलाई संयुक्त ब्यानरमा निर्माण गरेको हो ।