साप्ताहिक संवाददाता
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन हुन अब केहि घण्टा मात्रै बाँकी छ । राष्ट्रिय परीक्षा बोर्डको मिटिङ बसिरहेको छ, मिटिङ सकिनासाथ एसईईको नतिजा सार्वजनिक हुनेछ । सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरे लगत्तै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।
अभिनेत्री करिश्मा मानन्धरले पनि एसईईको परिक्षा दिएकी थिइन् । मैतीदेवीमा रहेको त्रिवेणी माध्यमिक विद्यालयबाट १० कक्षा अध्ययन गरेकी उनको परिक्षा केन्द्र विजय स्मारक मा.वि. डिल्लीबजार परेको थियो ।
नेपाली चलचित्रकी सदावहार अभिनेत्री मानन्धरले कुन ग्रेडिङसहित पास हुन्छिन् त ? त्यसका लागि केही समय कुर्नुपर्ला । तर, फ्यानहरुमा भने कौतुहलता निकै बढेको छ ।
यसै सन्दर्भमा हामीले उनी अध्ययनरत स्कुल त्रिवेणी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक वाङ्ग्देन लामा सरसँग छोटो कुराकानी गरेका छौं, प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।
सर, नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री तथा तपाईको विद्यार्थी करिश्मा मानन्धरको पनि रिजल्ट आउँदैछ, कस्तो लाग्दैछ ?
पहिलो कुरा त हामी सबै विद्यार्थीको रिजल्ट हेर्न आतुर छौं । अर्को कुरा, धेरैको आइडल करिश्मा मानन्धर हाम्रै विद्यार्थी भएका हिसाबले उत्तिकै आतुर छौं ।
कुन ग्रेडिङमा पास हुने सम्भावना छ ?
ठ्याक्कै यहि ग्रेडिङ त भन्न नसकिएला । किनकी परिक्षामा एकदमै ट्यालेन्ट मान्छेले पनि सोचेजस्तो अंक नल्याएको र सामान्य विद्यार्थीले राम्रो अंक ल्याएका रेकर्ड हेर्दा उहाँको नतिजाबारे अनुमान लगाउन गाह्रै पर्ला ।
कक्षामा कस्तो खालको विद्यार्थी हुनुहुन्छ करिश्मा ?
अनुशासित विद्यार्थीको हिसाबले हामीले चिन्छौं । समयमै स्कुल आउने र आफुभन्दा साना भाईबहिनीहरुसँग मिलेर अध्ययन गर्ने स्वभाव थियो । पुरै विषय अध्ययन गरेर मात्र घर फर्कने र साथीभाईहरुसँग मिल्ने उहाँको राम्रो स्वभाव धेरैका लागि प्रेरणाको श्रोत हुन सक्छ ।
करिश्माजी कुन विषयमा ट्यालेन्ट हुनुहुन्छ ?
सुरु–सुरुमा खासै ट्यालेन्ट नभएपनि उहाँले विस्तारै आफ्नो अध्ययन सुधार्नुभएको थियो । अन्तिममा उहाँ राम्रो अध्ययन गर्ने विद्यार्थी बन्नुभयो । उहाँलाई म्याथ विषय तुलनात्मक रुपमा राम्रो लाग्ने मैले बुझेको छु ।