साप्ताहिक संवाददाता
दोस्रो संस्करणको योङ माइन्ड्स इन्टरटेन्मेन्ट एवार्ड–२०७६ मा गायक प्रमोद खरेल तथा गायिका मल्लिका कार्की सर्वोत्कृष्ट घोषित भएका छन् । उनीहरूले क्रमशः यो कुरा गोप्य तथा लाखौं छन्..गीतबाट सर्वोत्कृष्ट आधुनिक गायक तथा गायिकाको एवार्ड जितेका हुन् । योङ माइन्ड्स इन्टरटेन्मेन्टद्वारा आइतबार काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा विभिन्न ५० विधामा संगीतकर्मीलाई पुरस्कृत गरिएको थियो ।
समारोहमा गायक हिमाल सागरले ‘बाजा’ गीतबाट सर्वोत्कृष्ट पप गायकको एवार्ड जिते भने गायिका सोना अमात्यले ‘म त खुला छु’ गीतबाट पप गायिकाको एवार्ड हात पारिन् । यसैगरी गायिका सिर्जना खत्रीले ‘नौटंकी माया’ बाट पप विधाको जुरी एवार्ड जितिन् ।
डा.डिआर उपाध्यायले ‘स्वार्थी रहेछ’ गीतबाट पप/आधुनिक विधाको सर्वोत्कृष्ट गीतकारको एवार्ड जिते भने दीपकराज पाठकले ‘मैले भन्दा’ गीतबाट यही विधाको जुरी एवार्ड प्राप्त गरे । गायक दीपक बज्राचार्य ‘मन मगन...’ बाट सर्वोत्कृष्ट पप संगीतकारको एवार्ड जित्न सफल भए भने सन्तोष श्रेष्ठले ‘स्वार्थी रहेछ..’ गीतबाट तथा नागेन्द्र श्रेष्ठले ‘तिमी बिना...’ गीतबाट सर्वोत्कृष्ट आधुनिक संगीतकारको एवार्ड प्राप्त गरे । आशिष अविरलले ‘यो कुरा गोप्य’ बाट सर्वोत्कृष्ट संगीत संयोजकको एवार्ड आफ्नो पक्षमा पारे ।
आधुनिक/पप विधामा गायक आशिष सचिनले ‘पिरिम नलाउने’ गीतबाट सर्वोत्कृष्ट नव–गायकको एवार्ड जिते भने भावना आचार्यले सर्वोत्कृष्ट गायिकाको एवार्ड जितिन् । दीपेन्द्र खड्काले यही विधाको नव–गीतकारको एवार्ड प्राप्त गर्दा दीपक विश्वकर्माले नव–संगीतकारको एवार्ड आफ्नो पक्षमा पारे ।
चलचित्र विधातर्फ दीपक शर्माले ‘पहिलो नम्बरमा’ गीतका लागि सर्वोत्कृष्ट चलचित्र संगीतकारको एवार्ड हात पारे भने अर्जुन पोखरेलले ‘रहर छ सँगै’ बाट जुरी एवार्ड जिते । गणेश शाह चलचित्र प्रसादका लागि सर्वोत्कृष्ट चलचित्र गीतकारबाट पुरस्कृत भए । यसैगरी रुपक डोटेलले ‘वनकी चरी’ गीतबाट सर्वोत्कृष्ट पार्श्व गायकको एवार्ड प्राप्त गरे भने प्रविशा अधिकारीले ‘फूल हैन’ गीतबाट पार्श्व गायिकाको एवार्ड जितिन् ।
आशिष सचिन र मेलिना राई ‘पिरिम नलाउने...’ गीतबाट सर्वोत्कृष्ट युगल गीतको एवार्डबाट सम्मानित गरिए भने पुष्पा खनालले ‘आमा’ बाट राष्ट्रिय गीतको एवार्ड पाइन् । गीतकार डा.धर्मराज उपाध्याय ‘सहेली’ बाट सर्वोत्कृष्ट एल्बमको एवार्ड जित्न सफल भए ।
अभिनेता विनोद न्यौपाने तथा अभिनेत्री शिल्पा पोखरेलले पप/आधुनिक विधातर्फको सर्वोत्कृष्ट मोडलको एवार्ड जिते भने बुद्ध थापाले यही विधामा सर्वोत्कृष्ट छायांकारको एवार्ड प्राप्त गरे । विकास दाहालले सर्वोत्कृष्ट सम्पादकको एवार्ड जितेको यो विधामा प्रकाश धितालले ‘गुडी जाने रेल’ का लागि सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको एवार्ड हात पारेका थिए ।
गायक तथा संगीतकार अराज केशवले भुन्टी गीतबाट सर्वोत्कृष्ट र्यापरको एवार्ड आफ्नो पक्षमा पारे ।
गीत, संगीत तथा हास्य प्रस्तुति सहितको उक्त समारोहमा गणेश अधिकारीले नव–दोहोरी गायकको एवार्ड जिते भने सीता श्रेष्ठले नव–दोहोरी गायिकाको एवार्ड प्राप्त गरिन् । गायिका रिना केसीले यही विधाको प्रोत्साहन पुरस्कार पाइन् । लोक दोहोरीतर्फ नव–संगीतकारको एवार्ड अमित बाबु रोकायाले पाए भने नव–गीतकारको एवार्ड सामना शाहले पाइन् । प्रिया शेर्पा भने यही विधाको इन्करेज्मेन्ट एवार्डबाट पुरस्कृत भइन् ।
कस्तुप पन्तले ‘डाली सुकेर’ गीतका लागि सर्वोत्कृष्ट दोहोरी गीतकारको एवार्ड जिते भने शिव हमालले ‘लाउँछु माया’ का लागि दोहोरी संगीतकारको एवार्ड हात पारे । यसैगरी केशव सापकोटाले दोहोरी संगीतकारको जुरी एवार्ड जिते ।
समारोहमा सुरेश रमण अधिकारी तथा सम्झना भण्डारी सर्वोत्कष्ट दोहोरी गायक–गायिकाको एवार्ड सम्मानित भएका थिए । सर्वोत्कृष्ट दोहोरी मोडलको एवार्ड सारिका केसी र आशिर प्रताप जंगले जितेको उक्त समारोहमा दिपाशा बिसीले यही विधाको जुरी एवार्ड प्राप्त गरिन् । करण चैसिरीले दोहोरी छायांकारको एवार्ड जिते भने प्रवीण भट्टले दोहोरी सम्पादकको एवार्ड आफ्नो पक्षमा पारे । यसैगरी स्मृति तिमिल्सिनाले सर्वोत्कृष्ट दोहोरी भिडियो निर्देशकको एवार्ड जितिन् भने मौसम हिमाली नव–निर्देशकको एवार्डबाट पुरस्कृत भए ।
राष्ट्रिय गीतका रचनाकार ब्याकुल माइलालाई श्रष्टा सम्मान गरिएको उक्त समारोहमा सञ्चारकर्मी कृष्ण भट्टराई, शान्तिप्रिय तथा लक्ष्मण सुवेदीलाई रंग पत्रकारिता सम्मान अर्पण गरिएको थियो । उक्त अवसरमा कलाकार जयनन्द चन्द ठकुरीलाई लाइफ टाइम एचिभ्मेन्ट एवार्ड प्रदान गरिएको थियो ।