साप्ताहिक संवाददाता
जानुका पौडेल ‘प्याकुली’ तथा नीरु खड्का ‘ठ्याँस कुमारी’ अहिलेका व्यस्त महिला हास्य कलाकार हुन् । उनीहरूले दर्जनौं टेलिश्रृंखला तथा स्टेज कार्यक्रममार्फत दर्शकहरूलाई हँसाइरहेका छन् । केही समययतादेखि उनीहरू जोडीकै रूपमा सांस्कृतिक कार्यक्रममा प्रस्तुत भैरहेका छन् ।
सकारात्मक पक्ष
काममा एकदमै मेहनत गर्ने, दत्तचित्त भएर लाग्ने । सबैजनासँग मिल्ने, जस्तो मान्छेसँग पनि मिल्न सक्ने ।
कसैलाई सहयोग गर्नुपरे सधैं अघि बढ्छिन् । गरिब–दुःखीहरूलाई सहयोग गर्ने स्वभावकी छिन् ।
समाज र जीवनलाई हेर्ने निरुको दृष्टिकोण सकारात्मक छ । अरूको नकारात्मक कुरा गरेको थाहा छैन ।
अध्ययनशील छिन् । सातामा एउटा पुस्तक पढेर सक्छिन् । अलिकति फुर्सद भयो कि पुस्तक पल्टाएर बस्छिन् ।
बहुप्रतिभाशाली छिन् । उनी कुशल कलाकार त हुन् नै, दक्ष निर्देशक तथा नृत्यांगना पनि हुन् ।
नकारात्मक पक्ष
जो कोहीलाई छिट्टै विश्वास गर्ने बानी सुधार्नुपर्ने देख्छु ।
समयको ख्यान नगर्ने बानी छ । पुग्नुपर्ने ठाउँमा कहिल्यै समयमा पुग्दिनन् । म आफैले पनि धेरै पटक आधा घण्टाभन्दा बढी कुरेकी छु ।
कसैले केही कुरा भने एकदमै गहिराइमा लिने र पीर गर्ने बानी छ । भन्ने मान्छे कहाँ पुगिसक्छ, उनी चाहिँ त्यही कुरामा अल्झेर बस्छिन् ।
टिट फर ट्याट अर्थात् जस्तालाई त्यस्तै गर्न जान्दिनन् ।
कहिलेकाहीँं आफ्ना नितान्त व्यक्तिगत कुराहरू पनि अरूलाई सुनाउँछिन् ।