साप्ताहिक संवाददाता
गाउँलेहरूले एउटा बाटो खनेका छन् । त्यसलाई छिमेकीले अपग्रेड गरिदिएको छ । पहिरो गैरहेका छन् । सँगसँगै मोटर र मोटरसाइकिलहरू पनि दगुरिरहेका छन् । नेताहरूले बाटोलाई कुनै एउटा दिवंगत नेताको नामले सजाएका छन् । नेताहरूमा त एउटा बाटो बनाउन सक्ने क्षमता पनि देख्न पाएन मनले ।
मनहरूको कथा पनि अचम्मकै छ । एउटा होइन, दुइटा होइन, तीनवटा होइन । असंख्य मनहरूको कथा । अशान्त भएपछि मनहरू वहकिन थाल्छन् । एलेन गिन्सवर्गको कविताजस्तो– ए मेरो विक्षिप्त मन, आफ्नै मानव शरीरलाई जोतेका थिएनौ तिमीले, के गर्ने हो तिमीलाई थाहा पनि छैन, पूर्वजन्ममा जे गरेका थियौ तिमीले, भोग गर्दैछौ, ऊ तीन लोकको स्वामी हो, उसको स्मृतिमा पछिल्ला तीन जन्मको सम्झना जीवित छ, किन सम्झिने प्रयत्न गर्दैनौ मन, असी हजार चक्र पूरा गरेपछि तिमीले पाउने त्यही तीन विक्ता जमिन त हो ।
गिन्सवर्ग त्रिस्चियन थिए । केही समय हिन्दू भएपछि उनी धर्मविहीन भए । उनको कविताचाहिं न हिन्दू भयो न क्रिस्चियन । वक्सर केसियस क्लेले मुस्लिम धर्म धारण गरेर आफूलाई मोहम्मद अली बनाए । उनको बक्सिङ हान्ने ताकतमा त्यसले केही परिवर्तन ल्याएन । मुक्का त जे भए पनि मुक्कै हो । हिन्दूको, क्रिस्चियनको र मुस्लिमको, जसको भए पनि मुक्का धर्मनिरपेक्ष हुन्छ । धन–पैसाजस्तै । सुन–चाँदीजस्तै ।
केही दिनदेखि मन तरल छ । आवारा भएको छ । त्यत्तिकै बरालिएको छ । कहिले वर्षातको भेलजस्तो । कहिले सङ्लो पानीको छहरेजस्तो । बेलाबेलामा छटपटाइरहन्छ मन । कहाँ जाऊँ र के गरौं ? कहिले एउटा रूखको टुप्पोमा टप्किन्छ, कहिले अर्को रूखको हाँगोमा झुन्डिन्छ । विधाताले निर्माण गरेको सृष्टिमा... ओहो ! ऊ त विधातालाई मान्दै–मान्दैन । मार्क्स, लेनिन र माओका संकलित रचनाहरूको पुस्तकलाई साक्षी राखेर द्वन्द्वात्मक भौतिकवादमा दीक्षित भएको थियो मन ।
यतिवेला कसरी आयो उसको मनलाई गिन्सवर्गको सम्झना ? कहिले पढेको थियो उसले यो कविता ? कसरी आयो उसलाई विधाता शब्दको यो विध्वंसक चेत ? विधाताका नाममा चिनिएका अनेकन् अवतारहरूको पतन भैसकेको छ । कति विधाताहरू अनुहारमा कालो पोतिएर चिन्नै नसकिने प्रस्तर भैसकेका छन् । तैपनि विधाताहरू कतै रोममा, कतै जेद्दामा, कतै काठमाडौंमा त कतै काशीमा अस्तित्वशील छन् । भर्खरै भ्याटिकनले नयाँ विधाताको चयन गरेको छ । पुराना विधातालाई थकाइ लाग्यो रे । उनी थकाइ मार्न आफ्नो कोठातिर पसेका छन् । संसारभर धर्मनिरपेक्षताको पैरवी गर्ने अमेरिकाको नम्बर एक छापाले पहिलो पृष्ठमा छापेको छ– फ्रान्सिसको आगमन, संकेत परिवर्तनको । यो धर्मको कुरै होइन । व्यापार हो यो । धर्मप्रति निरपेक्ष हुन नसकेका लाखौं जनताले यो खबर किन्छन्, पढछन् र खुसी हुन्छन् ।
मन यहीं बिन्दूमा आएर पट्यार मान्छ र थाक्छ । मन अहिले भुर्र उडेर काठमाडौं दक्षिणको सीमान्त गाउँ छैमलेको नासपाती बारीमा पुगेको छ । नासपातीका बोटहरूमा लटरम्म फुलेका फूलहरू नै भोलि नासपाती बन्नेछन् र डोकामा भरिनेछन् । दक्षिणकालीको मन्दिर नाघेपछि सुरु हुने छैमलेमा भर्खरै टुंगिएको सहरको अलिकति पनि संकेत पाइँदैन । कति चाँडै बदलिन्छन् बोली र पहिरनहरू । सिस्नेरी र छैमलेको सिमानामा सिमेन्टका ठूला–ठूला घ्याम्पाहरूमा आकाशे पानीको संकलन हुन्छ । छैमलेको यो भेगमा पानीको दुःख भए पनि नासपाती बजारसम्म ओसार्न अहिले कुनै दुःख छैन ।
गाउँलेहरूले एउटा बाटो खनेका छन् । त्यसलाई छिमेकीले अपग्रेड गरिदिएको छ । पहिरो गैरहेका छन् । सँगसँगै मोटर र मोटरसाइकिलहरू पनि दगुरिरहेका छन् । नेताहरूले बाटोलाई कुनै एउटा दिवंगत नेताको नामले सजाएका छन् । नेताहरूमा त एउटा बाटो बनाउन सक्ने क्षमता पनि देख्न पाएन मनले । जनताले बनाएको बाटोको नाम राख्न र धेरै बोल्न मात्र जानेका छन् उनीहरूले । नाच्न–गाउन त ठ्याम्मै जानेका छैनन् । उन्मुक्त हाँसेको अनुहार कुनै पनि नेताले ओढ्न सकेका छैनन । आफ्नै अविवेकको, आफ्नै गल्तीहरूको, आफ्नै कुण्ठाहरूको प्रतिरक्षा गर्दागर्दै उनीहरूको आँखामा हजारौं सूर्य अस्ताइसकेका छन् । बिहान सूर्य उदाएको पत्तै हुँदैन उनीहरूलाई ।
मानवजातिका लागि एक्काइसौं शताब्दी महत्वपूर्ण सावित हुनुपर्छ । मनलाई पनि यस्तै लागेको छ । बीसौं शताब्दी मानिसका लासहरूले पुरिएर डुङडुङ्ती गन्हाइरहेको छ । सय वर्षको त्यो अवधिमा १ सय ८७ मिलियन मानिसको हत्या, सय वर्षको त्यो अवधिमा ३० वर्षसम्म त निरन्तरको तातो युद्ध मात्र । सय वर्षको त्यो अवधिमा ४० वर्ष लामो चिसो युद्ध । त्यो चिसो युद्धलाई शीतयुद्ध भनिए पनि यथार्थ अलग थियो । त्यो शीतयुद्धकालको बीसौं शताब्दीले प्रत्येक मानिसलाई तातो रगतको कतारो सावित गरिदियो । चे ग्वेवारादेखि ह्युगो चावेजसम्म । चारु मजुमदारदेखि चियाङ चिङसम्म ।
कतारो जसमा भादगाउँका ग्वालाहरू दही जमाउँथे– जुजु धौ । राजादही । दहीको राजा । त्यो परम्परा ज्यूँदै छ । फरक यति मात्र हो – माटोको कतारो अवतार फेरेर प्लास्टिकको आरी बनेको छ । सबै दही एउटै ब्रान्डका, जुजु धौ भएका छन् । अब दहीमा स्वाद छैन । त्यसमा पाउडरको गन्ध आउँछ । भक्तपुरमा बनेको स्वादिलो जुजु धौ यहाँ पाइन्छ– दही विज्ञापनमा परिणत भएको छ र पनि रोहितको साम्राज्य कायम छ भक्तपुरमा ।
बहकिएको मन आफैं आफूसँग भुतभुताउँछ । समय बदलिएको छ । मानिस फेसबुकको टेम्पलेटमा बदलिएको छ । मानिस आफैंसँग कुरा गर्छ । मरेको मानिस बोकेर मसानमा पुगेको मन त्यहाँ बिलौना गर्न सक्दैन । रुन सक्दैन । त्यहाँ त ऊ मोबाइल सेटबाट दाह–संस्कारको भिडियो खिच्छ र फेसबुकमा अपलोड गर्छ । घण्टा–घण्टामा ‘लाइक’ हरू चेक गर्छ । के थाहा, कुनै दिन यो भिडियो पनि मूल्यवान् बनोस ।
किन अशान्त भएको होला मन ? विचरो मानिस । उसको परिचय नै छैन । उसको पहिचान नै छैन । उसको सम्मान नै छैन । हिजो एउटा खाता खोल्न गएको थियो बैंकमा । सहस्र रात जुवाघरमा काम गरेर कमाएको पैसा आफ्नो सम्भावित विवाहका लागि जोगाएर राख्न चाहन्थ्यो ऊ । जतिबेला उसको बूढो बाबुले उसलाई विवाह गर्न भनेको थियो त्यतिबेला उसलाई विवाह गर्न मन थिएन । अहिले पनि मन छैन । के थाहा, मन त हो, कतिबेला बहकिन्छ । बहकिएपछि थाम्नै सकिँदैन । चुत्थो भैदिन्छ मन बेलाबेलामा ।
ओहो पहिचान । साँच्चै के होला हाम्रो राष्ट्रिय पहिचान ? पुराना सालिकसँग लठारिएर नेपालीले राष्ट्रिय पहिचान बनाउन सक्लान् ? खण्ड–खण्डमा बाँडिएर सद्धे र साबुत रहला नेपाली पहिचान ? भन्छन्, यो देश कहिल्यै कसैसँग हारेन । अहिले आफैंसँग हार्दैछ । द्वन्द्वसँग हार्दैछ । छिमेकीहरूसँग हार्दैछ । आफ्नै जीवन पद्धतिसँग हार्दैछ । नेपालीको प्रत्येक विजय समयान्तरमा पराजय बनेको देखिएको छ । मन यत्तिले भाँडिएको पक्कै होइन । अरू केही छिद्र छन् । केही प्वाल । राज्यको वैधानिकतामाथि कविगिन्सवर्गले चार दशकअघि आवाज उठाएका थिए काठमाडौंको झोंछे गल्लीमा । त्योभन्दा अघि अर्नेष्ट हेमिंग्वेले आफ्नै कन्पारो ताकेर बन्दुक चलाएका थिए । उनीसँग शक्तिशाली बन्दुक थियो । त्यस्तो बन्दुक जसले आफैंलाई ताकेर हिर्काउने मनको बोली सुन्छ । कसैसँग छ त्यस्तो बन्दुक ?