साप्ताहिक संवाददाता
गायक रविन महर्जन अहिले पनि पप संगीत–सिर्जनामा तल्लिन छन् । यसै सातमात्र उनले जीतेन लोप्चनको शब्द तथा संगीतमा ब्यान्ड बाजा...शीर्षकको पप गीत रेकर्ड गराए भने आगामी साता उदेश श्रेष्ठको संगीतमा उदेशसँगै पैसा–पैसा शीर्षकको युगल गीत रेकर्ड गराउँदैछन् ।
तेस्रो गीत कान्छी..का लागि भने उनले गायक सञ्जय श्रेष्ठसँग सहकार्य गरेका छन् । यसबीच महर्जनले ललितपुरको हरिसिद्धीमा एउटा लोभलाग्दो काम गरेका छन् । आफ्ना भिनाजु शंकर श्रेष्ठसँगको सहकार्यमा उनले झन्डै १५ रोपनी जग्गा लिजमा लिएर अर्ग्यानिक कृषि फार्म सञ्चालनमा ल्याएका छन्, जहाँ झन्डै छ प्रजातिका गोलभेंडा उत्पादन भैरहेको छ ।
गोलभेंडाबाहेक विभिन्न सिजनल तरकारीसमेत हुर्काइरहेका यी गायकले अघिल्लो सातादेखि कृषि फार्मकै परिसरमा लोकल कुखराको पोल्ट्री फार्मसमेत सञ्चालनमा ल्याएका छन् भने केही महिनापछि उनी लोकल खसी समेत उत्पादन गर्न थाल्नेछन् । गायक महर्जन भन्दैथिए–‘आफूले जानेको शिप व्यवहारमा लागू गरौं भनेर कृषितर्फ आकर्षित भएको हुँ ।’